पूँजी बजारको समस्या तत्काल समाधान गर्न ७ दिनमै योजना पेश गर्न भनेका अर्थमन्त्रीले कार्य योजना पाएपछि कानमा तेल हाले

Apr 21, 2024 04:55 PM merolagani



सुवास निरौला

गत फागुनको अन्तिमतिर अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड(सेवोन),नेपाल स्टक एक्सचेन्ज( नेप्से) र केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)लाई पत्र लेख्यो। पत्र छुट्टाछुट्टै लेखेको भए पनि पत्रमा लेखिएका शब्द एकै थिए।

‘पूँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नु पर्ने कामहरूका सम्बन्धमा सम्बन्धित सरोकारवालाको राय समेत लिई ७ दिनभित्र कार्य योजना पेश गर्नुहुन माननीय मन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ,’तीनै निकायलाई अर्थ मन्त्रालयद्वारा पठाइएको पत्रमा भनिएको छ।

खासमा यो पत्र पछिल्लोपटक मुलुकले नयाँ अर्थमन्त्री पाए लगत्तै पठाइएको थियो। अर्थमन्त्रीमा वर्षमान पुन आसीन भएपछि उक्त पत्र काटिएको थियो। पूँजी बजार सुधारका लागि केही गर्छु भन्ने सन्देश दिनको लागि मन्त्री पुनले सो स्टन्ट गरेका थिए। जुन स्टन्टका कारण केही दिन बजार सुधारियो पनि। तर त्यसले निरन्तरता भने पाउन सकेन। बजार घट्दो लयमै फर्कियो।

उता पत्र आएपछि सरोकारवाला तीनवटै निकाय अलमलमा परे। सबैले छुट्टाछुट्टै कार्य योजना दिने वा सामूहिक भन्नेमा छलफल भयो। तर तीनै निकायले सामूहिक रूपमै कार्य योजना दिने निर्णय गरे। जसको लागि ती निकायको धितोपत्र बोर्डमा बैठक बस्यो। सो बैठककै निर्णय अनुसार नेप्से र सिडिएससिको समेत सुझावसँगै राखेर धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा सुधार योजना पेश गर्‍यो।

पूँजी बजारमा तत्काल सुधार गर्नु पर्ने विषय समेटेर एक साता भित्र कार्य योजना पेश गर्न जसरी हतारमा भनियो,त्यसले कार्य योजना आउने बित्तिकै अर्थमन्त्रीले तत्कालै सुधारका कदम चाल्छन् भन्ने भ्रम लगानीकर्ता र तीनवटै निकायलाई परेको थियो। तर कार्य योजना पेश गरेको महिना दिन बित्नै लाग्दा समेत अर्थ मन्त्रालयले न त त्यो कार्य योजनालाई पल्टाएर हेर्न भ्याएको छ। न त अर्थमन्त्रीले नै चासो दिएका छन्।

हरेक पटक नयाँ अर्थ मन्त्री आउने बित्तिकै पूँजी बजारलाई सुधार गरेरै छाड्ने अभिव्यक्ति दिने तर समय बित्तै गएपछि सोही पूँजी बजारका कारण अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको अपजस लगाउने परम्पराले निरन्तरता पाउँदै आएको छ। यस अघिका अर्थमन्त्री प्रकाशशरण महतले सुरुका दिनमा पूँजी बजारका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सार्वजनिक मञ्चनबाटै आह्वान गरेका थिए। तर केही महिना पछि तीनै महतले शेयर बजार र घर जग्गाको कारण अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको पटक पटक दोहोर्‍याए।

अर्थ मन्त्रालय छिर्नु अघि पूँजी बजारप्रतिको धारणा र अर्थ मन्त्रालयको पानी पिएसँगै बदलिने पूँजी बजार प्रतिको धारणा अचम्म लाग्दो देखिन्छ। अर्थ मन्त्रालय छिरेपछि कसले पूँजी बजार प्रति  मन्त्रीकाे धारणा नकारात्मक बनाउन सघाउँछ। त्यो अझैसम्म रहस्यमय नै छ।

अहिलेको अवस्थामा सोही क्रम दोहोरिन लागेको अनुभूति लगानीकर्ताले गर्न थालेका छन्। नत्र सुरुवाती दिनमा के के न गर्छु भनेर हतारमा कार्य योजना माग्ने अनि कार्य योजना पाएपछि अर्थमन्त्रीले कानमा तेल हाल्नुलाई सोही अवस्था दोहोरिएको बाहेक अरू केही हुन नसक्ने लगानीकर्ताहरू बताउँछन्।

अर्थमन्त्रीले वास्तवमै पूँजी बजार सुधार गर्न खोजेको भए तत्कालै यस विषयमा केही बोल्नु वा गर्नु पर्ने हुन्छ। अन्यथा अरू मन्त्रीले गरे जस्तै ठहरिने छ। आम सर्वसाधारणमा पनि यसले राम्रो सन्देश दिँदैन। लगानीकर्ताले त यसै पनि अर्थमन्त्रीको कुरालाई पत्याउन छाडिसकेका छन्। पछिल्लो समय घटेको कारोबार मापक सूचक र घटेको कारोबार रकमले त्यही पुष्टि गर्छ। त्यसकारण अर्थमन्त्रीले आम सर्वसाधारणबीच आफ्नो बोलीको मान राख्नै भए पनि केही ठोस कदम चाल्नु पर्ने सरोकारवालाहरू बताउँछन्। नत्र पुन पनि पूँजी बजारका लागि ‘उही ड्याङका मुला‘ ठहरिने छन्।  




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?