अर्थतन्त्रमा आएको मन्दीसँगै बीमाको व्यवसाय संकुचित

Mar 22, 2024 08:19 PM MeroLagani

पछिल्लो समय बीमा कम्पनीको व्यवसाय पनि विस्तारै खुम्चँदै गएको छ । जीवन बीमा लेख संख्यामा आएको गिरावट र निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलनमा आएको गिरावटले बीमा कम्पनीको व्यवसाय समेत खुम्चिएको संकेत गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपालको बाह्य अवस्था सन्तोषजनक छ। चालु आवको शुरुवातदेखि नै शोधनान्तर अवस्था सकारात्मक रहेको छ भने चालु खाता समेत नाफामा रहन थालेको छ। राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिले १ वर्षभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्न पर्याप्त रहेको देखिएको छ। बाह्य क्षेत्र सकारात्मक भए पनि आन्तरिक अवस्था भने भने सकारात्मक बन्न नसकेको राष्ट्र बैंकले मासिक प्रतिवेदनहरुले इंगित गरेको छ। बैकिङ प्रणालीमा कर्जाको माग एकदमै न्यून छ भने निक्षेपको वृद्धि दर बढ्दा बैंकहरुमा पैसा थुप्रिएको छ। हरेक महिना निक्षेपको व्याज दर घटाउँदै लग्दा पनि बैंकको निक्षेप बढ्ने क्रम रोकिएको छैन भने राष्ट्र बैंकले रिभर्स रिपो र अन्य उपकरण प्रयोग गरेर बढ्दो तरलता तानिरहेको छ। बैकिङ प्रणालीमा तरलता बढे पनि उद्योगी व्ययवसायी भने आफूसँग भएको शेयर र घरजग्गा बेचेर आफ्नो वित्तीय आवश्यकता पुर्ति गरिरहेका छन्। घरजग्गामा न्यून कारोबार हुन थालेपछि धेरैले संस्थापक शेयर बेचेर नै आफ्नो गर्जो टार्ने काम गरिरहेका छन्। अहिले सबैलाई नगद व्यवस्थापनमै समस्या देखिएको छ। ऋण लिन सक्ने व्यवसायी पहिल्यैको ऋणको भारले थिचिएका छन् भने नयाँ पनि बजारमा माग नहुँदा ऋण लिएर नयाँ आयोजना सञ्चालन गरिरहेका छैनन। बजारमा छाएको मन्दीकै असर स्वरुप बीमा व्यवसायमा पनि परेको एक बीमा कम्पनीका अधिकारीले मेरो लगानीलाई बताए। क्रय शक्ति बलियो हुँदा तीन चार वटा बीमा कम्पनीको बीमा पोलिसी खरिद गरेको व्यक्तिले पनि अहिले बिस्तारै सरेन्डर गरेर एउटामा मात्रै सीमित गरेको छ। त्यसैको असर स्वरुप अहिले जीवन बीमा कम्पनीको बीमा लेख बिक्रीमै कमी आएको उनले बताए।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवको माघ मसान्तसम्म १ करोड ४२ लाख ६९ हजार १ सय ३९ वटा जीवन बीमा लेख बिक्री भएकोमा चालु आवको माघ मसान्तमा यो ३ दशमलब २७ प्रतिशतले घटेर १ करोड ३७ लाख ९४ हजार १ सय ३७ मा सीमित भएको छ। प्राधिकरणको तथ्यांक अनुसार जीवन म्यादी, लघु म्यादी र र वैदेशिक रोजगार जीवन बीमा लेख बाहेकको जीवन बीमा लेख संंख्यामा ३ दशमलब ९१ प्रतिशतले घटेको थियो भने म्यादी र लघु म्यादी जीवन बीमा लेख संख्यामा भने ११ दशमलब ८३ प्रतिशतले कमी आएको थियो। नेपालमा अवसर नदेखिएर वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा वृद्धि भएसँगै चालु आवमा बैदेशिक रोजगारमा बीमालेख संख्याको बिक्रीमा भने ४४ दशमलब ५० प्रतिशतले वृद्धि भएको छ। जीवन बीमाको सवालमा कुल जीवन बीमा शुल्क संकलनमा ४ दशमलब २४ प्रतिशतले वृद्धि देखिएको छ। चालु आवको माघससम्म जीवन बीमा शुल्कबापत् ८६ करोड ९२ लाख ३२ हजार रुपैयारुँ संकलन भएको छ।

निर्जीवन बीमाको सवालमा भने बीमालेख संख्यामा ४ दशमलब शून्य ८ प्रतिशतले वृद्धि भएको देखिएको छ। प्राधिकरणका अनुसार गत आवको माघमा १६ लाख ३६ हजार २ सय ८४ बीमा लेख बिक्री भएकोमा चालु आवको माघसम्म १७ लाख २ हजार ९ सय ८७ वटा बीमा लेख बिक्री भएको छ। निर्जीवन बीमा लेख संख्या बिक्रीमा वृद्धि देखिए पनि निर्जीवन बिमा शुल्क संकलनमा भने २ दशमलब ६० प्रतिशतले गिरावट आएको छ। प्राधिकरणका अनुसार गत आवको माघ मसान्तसम्म २३ करोड ६ लाख २९ हजार रुपैयाँ निर्जीवन बीमा शुल्क संकलन गरेकोमा चालु आवको माघ मसान्तसम्ममा २ दशमलब ६० प्रतिशतले गिरावट आई २२ करोड ४६ लाख २८ हजार रुपैयाँ पुगेको छ। बीमा लेखको बिक्रीमा आएको कमीसँगै बीमाको दायरामा आएको जनसंख्याको प्रतिशतमा समेत कमी आएको छ। गत आवको माघ मसान्तसम्म ४४ दशलमब ७० प्रतिशत रहेको बीमा दायरा चालु आवको माघ मसान्तसम्म केही घटेर ४३ दशमलब १४ प्रतिशत पुगेको छ।

यसैबीच नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ। स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा कैफियत देखिएको, बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा गुनासो प्राप्त भएको भन्दै प्राधिकरणले गत चैत ६ गते कम्पनीहरूलाई १८ बुँदे निर्देशन दिएको थियो। बीमाका शाखाहरूको विकास गर्ने, न्यूनतम अधिकृतस्तरका कर्मचारी राख्नैपर्ने, कर्मचारीको दक्षता अभिवृद्धिका लागि २ प्रतिशत रकम खर्च गर्नु पर्ने लगायतका निर्देशन प्राधिकरणले दिएको छ।
नेपाल बीमा प्राधिकरणहरुका निर्देशनहरू

१. बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पुर्वाधार (कर्मचारीहरुका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापन) विकास गर्ने (दुई महिनाभित्र)।

२. बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा तोकेको मापदण्डबमोजिम जनशक्त्ति परिचालन गर्ने (तत्कालको लागि अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २ जना कर्मचारी अनिवार्य रहनुपर्ने)।

३. बीमकका शाखा कार्यालयहरुमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्ने।

४. बीमकलाई तोकेको जिल्लामा शाखा-उपशाखा कार्यालय अनिवार्य स्थापना गरी बुदाँ नम्बर १, २ र ३ बमोजिम सञ्चालन गर्ने।

५. कर्मचारीको दक्षता अभिवृद्धिका लागि कर्मचारी खर्चको कम्तिमा २ प्रतिशत रकम कर्मचारी तालिम तथा वृत्ति विकासमा खर्च गर्ने यस्तो तालिम बीमकले प्रदेश तथा शाखास्तरमा समेत सञ्चालन गरी सोको प्रतिवेदन प्राधिकरणमा पेस गर्ने।

६. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ ले तोकेको क्षेत्र÷उपक्षेत्रमा समानुपातिक रूपमा हुनेगरी कार्यक्रम सञ्चालन गर्ने।

७. उधारो बीमालाई पूर्ण रुपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने, चेकमार्फत बीमाशुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने।

८. मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानीलगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्ने यस्तो अधिकार प्रत्यायोजनको लिखित जानकारी प्राधिकरणलाई गराउने।

९. कृषि तथा पशुपन्छी बीमामा ५० हजारसम्म एवं मोटर र सम्पत्ति बीमामा २ लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश एवं शाखा कार्यालयबाट समेत फर्छ्यौट गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने साथै अधिकार प्रत्यायोजनको जानकारी प्राधिकरणलाई गराउने।

१०. आंशिक तथा परिपक्व जीवन बीमालेख बापतको रकम बीमितको बैंक खातामा नै दाखिला हुने गरी तुरुन्त भुक्तानी हुने व्यवस्था गर्ने,

११. ग्राहक पहिचान अद्यावधिक गरी जोखियुक्त बीमितको बृहत् ग्राहक पहिचान गर्ने।

१२. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका, २०७५ बमोजिम बीमकको जोखिम मूल्यांकन प्रतिवेदन अद्यावधिक गर्ने।

१३. जोखिमांकन गर्दा बीमितको आय यकिन हुने कागजात, स्वास्थ्य परीक्षण प्रतिवेदन; पूर्ण रुपमा भरिएको प्रस्ताव फाराम, अभिकर्ताको नैतिक जोखिम प्रतिवेदनलगायतका अन्य कागजात अनिवार्य रुपमा संलग्न गर्ने।

१४. स्थानीय तहमा घट्ने घटनाको सर्ने कार्यमा सम्बन्धित स्थानीय क्षेत्रभित्रका सर्भेयरहरुद्वारा गराउने व्यवस्था गरी सर्भे कार्य छिटोछरितो सम्पन्न गराउने।

१५. सर्भेयरको अन्तिम प्रतिवेदन समयमा पेस नगर्नेलाई आवश्यक कारबाहीका लागि प्राधिकरणसमक्ष लेखी पठाउने।

१६. मातहतका कार्यालयहरुको नियमित अनुगमन गरी आन्तरिक सुशासन एवं नियन्त्रण प्रणालीको सबलीकरण गर्ने।

१७. स्वीकृत बीमा दररेट कडाइसाथ कार्यान्वयनमा ल्याउने र मातहतका कार्यालयबाट समेत कार्यान्वयनको सुनिश्चितता गर्ने।

१८. प्राधिकरणको सम्बन्धित प्रदेश कार्यालयले बीमकको कार्यालयहरुको स्थलगत निरीक्षणका क्रममा माग गरेका कागजात तथा विवरणहरु निर्धारित समयभित्र अनिवार्य रुपमा उपलब्ध गराउने।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।