केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त फैसलाले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने दावी गरेका छन् । साथै यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो आफूहरुलाई स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
स्मरणरहाेस सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ ।
देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने भन्दै डा.केसीले कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आए न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका छन् । र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प नरहेको केसीको भनाइ छ ।
साथै उनले संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा स्वीकार्य नहुने तर ऐन अनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्याएर गरिने कुनै पनि काममा आफूहरुलाई कुनै आपत्ति नहुने बताएका छन् ।