बैंकिङ प्रणालीमा तरलता अभाव भएको भन्दै बैंक वित्तीय संस्थाले गत असोजसम्म निरन्तररुपमा मुद्दती निक्षेपको ब्याजदर बढाएका थिए। बीमा कम्पनीहरूले बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेर उच्च नाफा आर्जन गर्न सफल भएका छन्। अर्थतन्त्र संकुचित भएर अधिकांश क्षेत्रको नाफा घटेको समयमा पनि बीमा कम्पनीहरुको नाफामा भने अत्यधिक वृद्धि देखिएको छ ।
बीमा कम्पनीहरूले प्रिमयमबाट प्राप्त लगानी बढी ब्याजदर भएका बैंकहरूको मुद्दतीमा लगानी गरी उच्चरुपमा ब्याज आम्दानी गरेका छन्। ब्याजदर बढेका कारण बैंकहरूको खुद ब्याज आम्दानी घटेपनि बीमा कम्पनीको आम्दानी बढेको छ। दुई वर्ष अगाडि बीमाहरूले मुद्दती निक्षेपमा गरेको लगानीको प्रतिफलका साथै बीमा कम्पनीहरूबीच भएको मर्जर एक्विजिसन, पुँजी वृद्धिका लागि जग्गा तथा सेयर बिक्री लगायतका कारणले बीमा कम्पनीहरुको नाफा वृद्धि देखिएको एक विज्ञले मेरो लगानीलाई बताए ।
पछिल्लो समय बीमा कम्पनीहरुले आक्रामक रुपमा विभिन्न क्षेत्रहरुमा दीर्घकालीन लगानी समेत गर्न थालेका छन । पछिल्लो समय एसियन लाइफ इन्स्योरेन्सले शेयर बजार र अन्य क्षेत्रमा समेत आक्रामक लगानी गरेका छन् । एसियन लाइफ इन्स्योरेन्सले अन्य बीमा कम्पनीले बिक्री गरेको नेपाल रिइन्स्योरेन्सको ठूलो कित्ता शेयर किनेका छन् भने यति एयरलाइन्सको ४९ प्रतिशत शेयर किनेका छन् । दीर्घकालीन रुपमा गरेको लगानीको प्रतिफल समेत कतिपय बीमा कम्पनीले पाउन थालेकाले पनि अर्थतन्त्र मन्दीमा रहेर बीमा प्रिमियम घट्दा पनि बीमा कम्पनीको नाफा बढ्न थालेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यस कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो।
एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा यस इन्स्योरेन्स कम्पनीले १३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो।
यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि गत वर्षको तेस्रो त्रैमासको तुलनामा आफ्नो नाफा बढाएको छ। यस्तै हिमालयन रिइन्स्योरेन्स कम्पनीको पनि गत वर्षको तुलनामा खुद नाफा बढेको छ।
गत वर्षको यसै अवधिमा ३० करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको शिखर इन्स्योरेन्स कम्पनीले ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको तेस्रो त्रैमासमा १६ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २० करोड रुपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिमा २३ करोड खुद नाफा गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३० करोड खुद नाफा गरेको नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ।
१९ करोड ४७ लाख रुपैयाँ गत वर्षको चैत मसान्तसम्म खुद नाफा गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ११ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।
नेको इन्स्योरेन्सको भने गत वर्ष यसै अवधिको तुलनामा खुद नाफा घटेको छ। गत वर्ष चैत मसान्तसम्ममा ३८ करोड ३९ लाख खुद नाफा गरेको नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको यस अवधिमा ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।