११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM MeroLagani

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।

पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनीले हकप्रद शेयर निष्काशन गरेर तोकिएको चुक्ता पूँजी पुर्याउने घोषणा गरेका छन् । त्यसमध्ये ४ वटा कम्पनीले धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिइसकेका छन् भने ७ वटा कम्पनीले हकप्रद घोषणा गरे पनि बोर्डमा आवेदन गरेका छैनन । जीवनबीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोर्डमा हकप्रद निष्काशन गर्न आवेदन दिएका छन् भने निर्जीवन बीमाफर्त एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि आवेदन दिएका छन्।

जीवन बीमातर्फ एसियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराए पनि बोर्डमा आवेदन दिएका छैनन् । निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र युनाइटेड अजोड इस्योरेन्सले हकप्रद निष्काशन गरेर पुँजी वृद्धि गर्ने घोषणा गरेको हो । प्रभु इन्स्योरेन्सले भने हकप्रद वा अन्य कुनै माध्यमबाट पूँजी वृद्धि गर्ने भनेर साधारण सभाबाट प्रस्ताव पारित गराइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सले साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गरेपनि बोर्डमा निवेदन दिएको छैन ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब तथा पुनर्बीमा कम्पनीलाई २० अर्ब पूँजी पुर्याउन निर्देशन दिएको थियो । युनाइटेड अजोड इन्स्योरेन्सले चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ । हाल २ अर्ब १० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

मर्जर र बोनस शेयर घोषणाले पनि नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी नपुगेपछि बीमा कम्पनीहरु धमाधम हकप्रद शेयर घोषणामा लागेका छन्। मर्जरमा गएका बीमा कम्पनीहरुलाई पूँजी पुयाउन केही हदसम्म सजिलो भए पनि मर्जरमा नगएका कम्पनीहरुलाई भने अझै पनि पूँजी पुर्याउन हम्मे हम्मे नै परेको छ।

बीमा प्राधिकरणको चाहना अनुसार धेरै बीमा कम्पनीहरु मर्जरमा गए पनि केही कम्पनीहरुले भने हकप्रदलाई नै पूँजी वृद्धि गर्ने विकल्प बनाए। मर्जरमा नगएका बीमा कम्पनीलाई ३० प्रतिशतभन्दा बढी हकप्रद निष्काशन गर्न नदिने अडानमा रहेको प्राधिकरण विस्तारै लचिलो बन्दै गएको देखिएको छ।

हुन त बीमा कम्पनीहरुले कम्पनी मर्जर बाहेक रणनीतिक साझेदार ल्याउने, बीमा कम्पनीको सम्पत्ति बिक्री गरेर पूँजी पुर्याउने र अन्तिम विकल्पको रुपमा हकप्रद शेयर निष्काशन गर्ने गरी पूँजी वृद्धि योजना प्राधिकरणमा पेश गरेका थिए। अधिकांश बीमा कम्पनीहरु मर्जरको विकल्पमा गए पनि रणनीतिक साझेदार ल्याउने र जग्गा बिक्री गर्ने मामिलामा भने फेल नै भए। अधिकांश बीमा कम्पनीले मर्जर र बोनस शेयर दिएर पूँजी पुर्याउन खोजे पनि अन्तिम विकल्पको रुपमा भने हकप्रद निष्काशनलाई नै अघि सारेका छन्। 

अहिलेसम्म जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, हिमालयन लाइफ र सुर्यज्योति लाइफले मात्रै प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याएका छन्। यसैगरी, निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले चुक्ता पूँजी पुर्याइसकेका छन्।

जीवन बीमातर्फ नेपाल लाइफ र नेशनल लाइफले बोनस शेयर दिएर नै प्राधिकरणले तोकेको पूँजी पुर्याएका थिए भने हिमालयन लाइफमा भने प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स मर्ज गरेर चुक्ता पूँजी पुर्याएका थिए। सूर्यज्योति लाइफमा सूर्या लाइफ र ज्योति लाइफ मर्जर गरेर १० प्रतिशत हाराहारीमा बोनस शेयर जारी गरेर तोकेको चुक्ता पुँजी पुर्याएको हो यद्यपि सूर्याज्योतिले पछिल्लो समय साधारण सभाबाट पारित गरेको बोनस शेयर अझै शेयरधनीको खातामा आएको छैन ।

निर्जीवन बीमातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर गरेर नै चुक्ता पूँजी पुर्याएका छन् । शिखर इन्स्योरेन्सले मात्रै बोनस शेयरकै बलमा नियामकले तोकेको चुक्ता पूँजी पुर्याएको हो।

भारतीय लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले चुक्ता पूँजीको ८८ दशमलब ४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। बीमा प्राधिकरणले मर्जरमा नगएका कम्पनीहरुलाई ३० प्रतिशतभन्दा बढी हकप्रद शेयर निष्काशन गर्न नदिने नीति लिए पछि विदेशी लगानी रहेको लाइफ इन्स्योरेन्सको सवालमा भने प्राधिकरण लचिलो भएको थियो। प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर माग गर्दै सेबोनमा आवेदन दिएको छ। प्रभु लाइफ र महालक्ष्मी लाइफमध्ये महालक्ष्मी लाइफले अहिलेसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन।

 एशियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीलाई ८ दशमलब १५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरपछि कायम रहेको चुक्ता पूँजीमा कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ।

त्यस्तै, हालै मात्रै प्रिमियममा आइपीओ जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले २३ दशलब ८ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयर जारी गरेपछि कायम रहेको चुक्ता पूँजीमा २७ प्रतिशत हकप्रद दिने प्रस्ताव सञ्चालक समिति बैठकले पारित गरेको छ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा स्थापित एनएलजी इन्स्योरेन्सले १० बराबर ६.६ को अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। स्थापित कम्पनीको सहायक कम्पनी भएको नाताले एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको प्राधिकरणका अधिकारीले बताउँदै आएका छन्।

त्यस्तै अर्को निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले समेत बोर्डमा चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको अहिले २ अर्ब १ करोड चुक्ता पुँजी रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी नियामकले तोके बमोजिम २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

मर्जर प्रक्रिया सहभागी नबनेको नेपाल इन्स्योरेन्सले सम्पत्ति बिक्री र अन्य कम्पनीमा रहेको संस्थापक शेयर बिक्री गरेर पुँजी पुर्याउन खोजेको थियो। कम्पनीले नेपाल रि इन्स्योरेन्समा रहेको संस्थापक शेयर बिक्री गरे पनि अन्ततः ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रक्रियामा लागेको छ। कम्पनीले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरे पनि नियामकले तोकेको पुँजी नपुग्ने भएपछि हकप्रदको सहारा लिन परेको हो। १० प्रतिशत बोनस शेयर सूचीकृत भएपछि १ अर्ब ६४ करोड रुपैयाँ पुगेको नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदपछि पनि चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा मात्रै पुग्नेछ। नियामकले तोकेको चुक्ता पूँजी पुर्याउन चालु आर्थिक वर्षको नाफाबाट फेरि पनि २० करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गर्नुपर्ने हुन्छ।

मर्जरमा नगएको अर्को निर्जीवन बीमा कम्पनी प्रभु इन्स्योरेन्सले पनि हालैको साधारण सभाले घुमाउरो भाषामा हकप्रदबाटै पूँजी वृद्धि गर्ने बाटो समाएको देखिन्छ। हालै सम्पन्न साधारण सभाले ४.७५ प्रतिशत बोनस शेयर जारी गरेको प्रभुले साधारण सभाबाट हकप्रद वा अन्य कुनै विकल्पबाट पूँजी पुर्याउने जनाएको छ। अन्य विकल्प अन्य कम्पनीमा रहेको लगानी विनिवेश गर्ने वा हकप्रद निष्काशन गर्ने बाहेक अरु विकल्प नहुने कम्पनीले स्रोतले जानकारी दिएको छ।

त्यसैगरी, हालै मात्र सानिमा जीआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। 

पुनर्बीमा कम्पनीलाई पनि चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन बीमा प्राधिकरणले निर्देशन दिएको थियो। निर्देशन अनुसार सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको कुनै तयारी नदेखिए पनि निजी क्षेत्रको लगानी रहेको हिमालयन रिइन्स्योरेन्सले भने ८० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरिसकेको छ। हालै मात्रै प्रिमियममा आइपीओ जारी गरेको कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर दिएको थियो।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।