चुक्ता पूँजी पुगेका बीमा कम्पनीको रोजाईमा नगद लाभांश, किन दिन छोडे बोनस शेयर?

Jun 04, 2024 06:19 AM MeroLagani

बाबुकृष्ण महर्जन

नियामकले तोकेको चुक्ता पूँजी पुगेपछि धमाधम नगद लाभांशतिर बीमा कम्पनीहरु मोडिएका छन् । नियामकले अनिवार्य गरेको हदसम्म मात्रै चुक्ता पुँजी वृद्धि गरेर कम्पनीहरुले सकेसम्म बढी नगद लाभांश नै बाँड्न तँछाडमछाड गर्न थालेका छन् ।

चालु आर्थिक वर्ष सकिंँदै गर्दा अझै पनि केही बीमा कम्पनीहरुले साधारण सभा आयोजना गर्न सकेका छैनन् । अझै पनि लाभांश घोषणा गर्ने क्रम जारी छ । लाभांश घोषणा गर्दा पछिल्लो समय धेरै कम्पनीले बाेनस भन्दा नगद लाभांशलाई प्राथमिकतामा राख्न थालेका छन् ।

एक बीमा कम्पनीमा ठूलो प्रमोटर होल्डिङ भएका एक लगानीकर्ताले मेरो लगानीलाई भने ‘नियामकले तोकेको हदसम्म मात्रै कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्छन् । मन्दीका कारण धेरैलाई नगद अभाव छ । राष्ट्र बैंकको नीतिका कारण बैंकबाट ऋणसमेत वृद्धि गर्न सकिएको छैन । त्यसकारण कम्पनीबाट सकेसम्म नगद लाभांश दिन नै जोड दिने गरेको छ,’ उनले भने, ‘कतिपय नयाँ जीवन बीमा कम्पनीले प्रिमियममा आइपीओ निकाल्दा सो रकमबाट बोनस शेयर दिएर पूँजी वृद्धि गर्न खोजेका थिए । प्रिमियम रकमबाट पूँजी वृद्धि गर्न अर्थ समितिले रोकेपछि एक कम्पनीले हकप्रदबाट चुक्ता पूँजी वृद्धि गर्ने योजना ल्याएकाे थियाे । पछि प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले पूँजी वृद्धि प्रयोजनको लागि प्रिमियम रकम प्रयोग गर्न सकिने गरी खुला गरिदिए । अहिले हकप्रद घोषणा गरिसकेको कम्पनी समेत सो हकप्रदलाई रद्द गर्ने तरखरमा लागेकाे छ’।

नेपाल लाइफ इन्स्योरेन्सले आइतबार गत आवको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो । कुनै बेला ७० प्रतिशतसम्म बोनस शेयर घोषणा गर्ने हैसियत राख्ने नेपाल लाइफले पछिल्लो समय भने बोनस शेयर घोषणालाई पुरै बाइकट गरेर नगद लाभांशमा सरेको छ । नेपाल लाइफको पुरानो लाभांश इतिहास कोट्याउँदा अधिकतम ५६ प्रतिशतसम्म नगद लाभांश र ७० प्रतिशतसम्म बोनस गरेर एकै वर्षमा १ सय २५ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुगिसकेको नेपाल लाइफले पछिल्लो समय बोनस दिने कार्यलाई ठ्याक्कै ब्रेक लगाएको छ । आव २०६८/६९ देखि लगातार बोनस शेयर दिएर चुक्ता पूँजी वृद्धि गरेको कम्पनीले २०७६/७७ सम्म यो क्रमलाई निरन्तरता दियो । यो ९ वर्षको दौरानमा कम्पनीले १४ देखि ७० प्रतिशतसम्म बोनस शेयर दिएर चुक्ता पूँजी वृद्धि गरेको थियो । आव २०७७/७८ को नाफाबाट भने कम्पनीले १५.७८ प्रतिशत नगद नै दिएको थियो भने २०७८/७९ मा कम्पनीले कुनै लाभांश दिएको थिएन भने २०७९/८० मा पुनः नगद लाभांशलाई नै निरन्तरता दिएको हो ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । पछिल्लो समय नियामकले तोकेको हदसम्म मात्रै चुक्ता पूँजी वृद्धि गर्ने गरेका छन् ।

केही समय सूर्यज्योति लाइफ इन्स्योरेन्सले १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत करप्रयोजनको लागि समेत नगद लाभांश गरेर कुल ३५ प्रतिशत लाभांश घोषणा गरेका थियाे । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई नियामकले तोकेको चुक्ता पूँजी पुर्याउन ४६ करोड रुपैयाँ जति पूँजी अभाव थियो । कम्पनीको सञ्चालक समितिले नियामकले तोकेको बराबर मात्रै बोनस शेयर जारी गरेर बाँकी सबै नगद लाभाँंश दियाे ।

प्रिमियममा आइपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सलाई नियामकले तोकेको पूँजी पुर्याउन १ अर्ब रुपैयाँ मात्रै नपुग थियो । कम्पनीले प्रिमियम रकमबाट २५ प्रतिशत बोनस शेयर जारी गरेर चुक्ता पूँजी वृद्धि गर्ने उपाय अपनाए ।

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश दियाे । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगिसकेको छ जुन नियामकले तोकेको भन्दा बढी हो ।

अर्को मर्जरबाटै नियामकले तोकेको चुक्ता पूँजी पुर्याएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले पनि गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश नै घोषणा गरेकाे छ । दुई कम्पनी मर्जर हुँदा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि हिमालयन र एभरेष्ट मर्जर भएर गठन भएको कम्पनी हो । कम्पनीले ८.६३ प्रतिशत बोनस र ६.३७ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले मर्जर गरेर पनि नियामकले तोकेको पूँजी पुर्याउन नपुगेको झन्डै २० करोड रुपैयाँ बराबरको लागि मात्रै बोनस शेयर जारी गरेका थिए । बाँकी रकम भने नगद लाभांशको रुपमा लगानीकर्ताले प्राप्त गरेका हुन ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।