झन झन मजबुत बन्दै बाह्य अर्थतन्त्र, साढे १२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

Jun 10, 2024 05:41 PM MeroLagani



चालु आर्थिक वर्षको १० महिना बित्दा देशको शोधनान्तर झन्डै ४ खर्बले सकारात्मक हुन पुगेको छ । आन्तरिक अर्थतन्त्रमा माग सिर्जना नभएपनि बाह्य अर्थतन्त्र भने झन झन मजबुत बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांक अनुसार देशबाट बाहिरिने भन्दा देशमा भित्रिने रकम विस्तारै बढ्नै जान थालेको छ । राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा देशको वैदेशिक सम्पत्ति रेमिट्यान्सको वृद्धि र पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिले भएको बताएका थिए । १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर बचत ३ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ ।

आन्तरिक मागमा सुधार नहुँदा देशको आयात, निर्यात र समग्र व्यापार घाटामै गिरावट आएको छ । तथ्यांक अनुसार १० महिनामा नेपालको आयात २ दशमलब ४ प्रतिशतले निर्यात ३ दशमलब ६ प्रतिशतले र समग्र वस्तु व्यापार घाटा भने २ दशमलब ३ प्रतिशतले घटेको छ ।

कोरोना महामारी पछि देशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा धेरै भन्दा धेरै युवा वैदेशिक रोजगारीमा निस्किए । त्यस्तै गरी अर्को युवा समूह विदेश पढ्ने बहानामा विदेशिए । युवा उमेर समूहका धेरै जनसंख्या बाहिरिँदा देशको अर्थतन्त्रमा माग नै सिर्जना हुन नसक्दा अर्थतन्त्रले मन्दीको सामना गर्नुपरेको हो । आन्तरिक अर्थतन्त्र सुदृढ नभएपनि अहिले वैदेशिक रोजगारमा जाने कामदारले पठाएको रेमिट्यान्सका कारण नेपालको बाह्य अर्थतन्त्रमा भने समस्या छैन ।

चालु आवको १० महिनामा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स नेपाल भित्रिइसकेको छ । यसले गर्दा नेपालको विदेशी मुद्रा सञ्चिति बढेर १९ खर्ब ४२ करोड ४० करोड रुपैयाँ पुगेको छ जुन अमेरिकी अमेरिकी डलरमा १४ अर्ब ५४ करोड हुन आउँछ । यो रकमले १२ दशमलब ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको बुझाई छ । राष्ट्र बैंकले ६ महिनाको वस्तु तथा सेवा आयात धान्न मिल्ने वैदेशिक मुद्रा सञ्चिति उद्देश्य राखेको थियो । अहिले राष्ट्र बैंकको उद्देश्य भन्दा धेरै वैदेशिक मुद्रा सञ्चित भइरहेको छ । अर्थविद्हरुका अनसार चाहिने भन्दा बढी सञ्चिति पनि अर्थतन्त्रको लागि हानिकारक नै हुन आउँछ । पैसा भनेको धेरै भन्दा धेरै चलायमान बनाउनुपर्छ । देशलाई चाहिने रकम चलायमान नबनाई ढुकुटीमा सञ्चिति गरेर राख्दा यसले आन्तरिक अर्थतन्त्र गतिशील नभएको तिनीहरुको तर्क छ ।

देशमा बढ्दो रेमिट्यान्स बढ्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा पनि निक्षेप संकलन बढेको छ । राष्ट्र बैंकको अनुसार १० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.८ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिका बाबजुद पनि बैंकहरुले कर्जा वृद्धि गर्न सकेको छैन । १० महिनामा बैंकहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ४.७ प्रतिशतले मात्रै बढेको छ । कर्जाको माग बढ्न नसक्दा अहिले बैंक तथा वित्तीय संस्थालाई पनि टाउको दुखाई त बनेको छ नै राष्ट्र बैंकलाई समेत यसले पिरोल्न थालेको छ । राष्ट्र बैंकले रिभर्स रिपोको माध्यमबाट अत्यधिक तरलता बजारबाट तानिरहेको छ । बैंकहरुले ४–५ प्रतिशतमा संकलन गरेको निक्षेप अहिले ३ प्रतिशतमा राष्ट्र बैंकमा पार्क गरिरहेका छन् ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।