फेरि शेयर बजारले २२ सयको दौड सुरु गर्‍यो, यस पटक बजारले २२ सयको खड्गो पार गर्ला ? लगानीकर्ता यसो भन्छन्

Jun 11, 2024 06:13 PM merolagani

सुवास निरौला

मङ्गलवार शेयर कारोबार मापक सूचक ३३.१५ अंकले बढेर २११५.२४ अंकमा उक्लियो। कारोबारमा आएका २०३ कम्पनीको शेयर मूल्य बढे भने ४१ कम्पनीको शेयर मूल्य घट्दा दुई कम्पनीको शेयरमा कुनै हेरफेर भएन।

मङ्गलवार जसरी शेयर बजार बढ्यो त्यसलाई लगानीकर्ताहरूले २२ सयको दौड सुरु भएको भनेका छन्। करिब ७ कारोबार दिन स्थिर जस्तै देखिएको शेयर बजारमा मङ्गलवार दोहोरो अंकको वृद्धि देखिएको छ। कारोबार रकममा समेत बढोत्तरी देखिएको छ। सात कारोबार दिनसम्म स्थिर जस्तै बसेर बजारले मङ्गलवार दोहोरो अंकको वृद्धि कायम गरेपछि लगानीकर्ता अलि बढी नै कन्फिडेन्स देखिएका छन्। “बजेटपछि करिब १५ दिन सूचक स्थिर जस्तै बसेको थियो। तर मङ्गलवार बजारले दोहोरो अंकको वृद्धि कायम गरेको छ। आजबाट शेयर बजारले २२ सय अंकको दौड सुरु गर्‍यो” दोस्रो बजारका लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

जब जब शेयर बजार बढ्ने गर्छ तब तब लगानीकर्ताहरूले शेयर बजारले २२ सयको दौड सुरु गरेको बताउने गरेका छन्। शेयर बजारमा २२ सय अंकको निक्कै ठूलो मनोवैज्ञानिक छाप लगानीकर्तामा छ। किनकि शेयर बजारले निक्कै लामो समयदेखि २२ सय अंक काट्न सकेको छैन। शेयर बजारको विगतको ग्राफ हेर्ने हो भने त्यस्तै देखिन्छ। २०७८ भदौ १ गते शेयर बजारले अहिलेसम्म कै सर्वाधिक अंकको रेकर्ड कायम गरेको थियो। त्यस बेला सूचक ३१९८ अंकसम्म उक्लिएको थियो। त्यसपछि घटेको बजार २०७९ असार ९ गते सूचक १८ सय ४८ अंकमा झरेको थियो। त्यसपछि उकासिएको सूचक २१९६ अंकसम्म उक्लियो। तर सूचक टिक्न सकेन फेरि सूचक १८१५ अंकसम्म ओर्लियो। ९ असोज २०७९ मा १८ सय १५ अंकमा ओर्लिएको बजार २५ पुस २०७९ मा पुनः २२११ अंकमा उक्लियो। तर त्यस बेला पनि बजार २२ सय भन्दा माथि टिक्न सकेन,सूचक पुनः १८१८ अंकमा ओर्लियो। ७ साउन २०८० मा सूचकले फेरि एक पटक २२ सय अंकको दौड लगायो। त्यस दिन सूचक २२२७ अंकसम्म उक्लियो। तर यसपटक पनि सूचक फेरि १८ सयकै लाइनमा ओर्लियो। लगातार तीन वर्षको अवधिमा हरेक ६ महिनामा सूचकले एक पटक २२ सयको दौड लगाउने र पुनः १८ सयको लाइनमा ओर्लने गर्न थालेपछि लगानीकर्ताले २२ सय अंकलाई ठूलै खड्गोको रूपमा लिन थालेका छन्। पछिल्लो समय लगानीकर्ता २२ सयको बिन्दुदेखि यति डराउन थालेका छन् कि त्यो बिन्दुसम्म पुग्नु भन्दा अघि नै शेयर बिक्री गरेर निस्कने क्रम स्थापित नै भइसकेको छ। सोही कारण गत माघमा शेयर बजारले २२ सयको बिन्दु छुनु भन्दा अघि नै घट्दो लय समायो। तर यस पटक भने सूचक १८ सयको लाइनमा झरेन। १९५० कै बिन्दुबाट शेयर बजार उठ्यो। अहिले सूचक २१ सय अंक भन्दा माथि छ। यस पटक बजारले पुनः २२ सय अंकको दौड सुरु गरेको छ।

यस पटक भने बजारले २२ सय अंकको खड्गो पार गर्ने अनुमान लगाउन थालेका छन्। किनकि पछिल्लो पटक बजार १८ सयको लाइनमा नझरेको कारण बजार मजबुत अवस्थामा रहेको विश्लेषण गर्न थालेका छन्। जसले गर्दा यस पटक सूचकले २२ सयको खड्गो पार गर्ने अनुमान गरेका हुन्। “गएको तीन वर्षको बजारको घट्दो र बढ्दो लयलाई अध्ययन गर्दा यसपटक बजार अलि बढी नै मजबुत देखिएको छ। अघिल्ला वर्ष जस्तो बजार यसपटक १८ सयको लाइनमा झरेन भने पछिल्लो समय कारोबार रकम पनि मजबुत देखिन्छ। यस अघि १८ सयको लाइनमा बजार झर्दा कारोबार रकम करोडमा समेत खुम्चिने गरेकोमा यस पटक त्यस्तो देखिएको छैन। बजार निक्कै तल आउँदा समेत अढाइ अर्ब रुपैयाँ भन्दा कमको शेयर कारोबार भएको छैन। अहिले त पाँच अर्ब भन्दा बढीको कारोबार भइरहेको छ। यो भनेको  २२ सयको खड्गो पार गर्ने सङ्केत हो,” भट्टराईले भने।    

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।