असार क्लोजिङ नजिक शेयर बजार बढ्यो, प्रभाव सकिएको हो ? अब कता जान्छ बजार ? यसो भन्छन् जानकार

Jul 10, 2024 11:09 AM merolagani



सुवास निरौला

चलु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी छ। जब क्लोजिङ नजिकिन्छ, तब शेयर बजारमा बिक्री चाप बढ्छ भन्ने मान्यता स्थापित छ। जसले शेयर सूचकलाई समेत दबावमा पार्ने गर्छ।

तर यस पटक उक्त मान्यता विपरीत मङ्गलवार शेयर बजार मापक सूचक दोहोरो अंकले बढ्यो। १५.७९ अंकको वृद्धि सँगै सूचक २१५२.१४ अंकमा उक्लियो। जबकि मङ्गलवार बिक्री भएको शेयरको पैसा असार मसान्त अघि नै हात पर्छ। अझै बुधवार र बिहीबार बेचेको पैसा समेत लगानीकर्ताले मसान्त अघि नै पाउन सक्छन् । यस हिसाबले मंगलबार बजार घट्ने अनुमान लगानीकर्ताले गरिरहेका थिए। तर जसरी मङ्गलवार शेयर सूचक बढ्यो, त्यसलाई भने जानकारहरूले क्लोजिङको प्रभाव सकिएको भनेका छन्। “विगतको अनुभवको आधारमा भन्दा मङ्गलवार सूचकमा कल्लोजिङको अन्तिम प्रेसर पर्छ भन्ने अनुमान थियो। तर बजारमा ठिक उल्टो देखियो। सूचक बढ्यो। यसले बजारमा क्लोजिङको प्रभाव सकिएको भन्न सकिन्छ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले मेरो लगानीसँग भने।

रानाभाटका अनुसार धेरै जसोले ब्याजको जोहो गरिसकेका छन्। किनकि अन्तिम दिन नै कुरेर कोही पनि बस्दैन। फेरि पछिल्लो समय बजार बढ्दो लयमा गयो। जसले ब्याजदर जोहो गर्न समेत लगानीकर्तालाई सहज भयो । व्यक्तिगत लगानीकर्ताले पछिल्लो समय बढेकै बेला ब्याज जोहो गरे। अर्को तर्फ संघ संस्थाले आफ्नो वासलात ठिक गर्न पनि के कति शेयर बेच्ने निर्णय गरेका हुन्छन्। उनीहरूले अन्तिम दिन पर्खँदैनन्। उनीहरूले पनि लगभग शेयर बिक्री गरिसकेको अवस्था छ। जसले गर्दा नै मङ्गलवार शेयर बजारले बढ्दो रूप देखाएको हो।

शेयर बजारमा असारको क्लोजिङको प्रभाव सकिएको भन्दै गर्दा अब शेयर बजारको बाटो कता भन्ने मूल प्रश्न खडा हुन्छ। हुन त शेयर बजार कता जाने भन्ने कुरा शेयर बजार आफैले निर्धारण गर्ने विषय हो। तर शेयर बजारमा अनुमानको आधारमा लगानी हुने भएकोले पछिल्लो समयको राजनीतिक घटनाक्रम र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले शेयर बजारको आगामी बाटो निर्धारण हुने अनुमान लगानीकर्ताले गरिरहेका छन्। “अहिले शेयर बजारले पोजेटिभ नै सङ्केत दिइरहेको छ। यस आधारमा आउने दिन शेयर बजारले कुन बाटाे पहिल्याउँछ त्यो भने अहिलेको बदलिएको राजनीतिक घटनाक्रम र आउने मौद्रिक नीतिले निर्धारण गर्ने लगानीकर्ताहरूले अनुमान गरिरहेका छन्,” रानाभाटले भने।

शुक्रवार प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन्। अहिलेसम्मको राजनीतिक समीकरणले अहिलेका प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना निक्कै कम छ। त्यसो हुँदा नयाँ सरकार बन्ने तर्फ राजनीति अघि बढ्ने छ। शेयर बजारमा नयाँ सरकार बन्दै गर्दा बजार बढ्ने गरेको पछिल्ला दिनहरूले प्रमाणित गर्छन्। त्यसले शेयर बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ। अर्को तर्फ यस पटक नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति केही खुकुलो ल्याउने गरी काम गरिरहेको गभर्नरले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। अहिले लक्ष्य अनुसार कर्जा जान सकेको छैन। त्यसले गर्दा पनि कर्जामा केन्द्रीय बैंकले नीति खुकुलो पार्नै पर्ने बाध्यता पनि छ। जसले अप्रत्यक्ष रुपमा शेयर बजारलाई सघाउने छ। त्यसका अतिरिक्त केही खुकुलो नीति आउने हो भने शेयर बजारले आउने महिना बढ्दो गति नै समाउने अनुमान लगानीकर्ताहरूले गरिरहेका छन्।

तर दोस्रो बजार अहिले २२ सयको मनोवैज्ञानिक अंक नजिक पुगेको छ। जसलाई गएको तीन वर्षदेखि तोड्न सकिरहेको छैन। त्यसलाई समेत तोड्ने गरी बजारले अघि बढ्नु पर्ने देखिन्छ। राजनीतिक परिवर्तन, नयाँ सरकार र नयाँ अर्थमन्त्रीको नियुक्तिको सकारात्मक झट्का बजारमा लाग्यो भने त्यसैले २२ सयको मनोविज्ञानलाई समेत तोड्ने अनुमान जानकारहरूले लगाएका छन्। अर्को तर्फ अहिले नियमित जसो पाँच अर्ब रुपैयाँको कारोबार हुँदै आएकोले पनि त्यसले २२ सयको मनोविज्ञानलाई तोड्न सहयोग गर्ने जानकारहरू बताउँछन्।   




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?