प्राधिकरणले मंगलबार रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काट्यो। यस अघि प्राधिकरणले असार ९ मा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भन्दै ६१ उद्योगलाई पत्र काटेको थियो ।
मंगलबार नै उद्योगीहरूले पत्रकार सम्मेलन गर्दै नेपाल बिद्युत् प्राधिकरणले उद्योगी माथि दादागिरी गरेको आरोप लगाए। अझै उनीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेको आरोप लगाए।
यता प्राधिकरणले न्यायिक आयोगको सिफारिसअनुसार नै काम गरिरहेको र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै पत्र लेखेको जनाएको छ। एकातर्फ व्यवसायीहरूले न्यायिक आयोगको सिफारिसअनुसार काम गर्न माग गरिरहेका छन् भने उता प्राधिकरण त्यही अनुसार नै आफूले काम अघि बढाएको बताउँछ। यस बीचमा विवाद लम्बिँदै जान थालेको छ। अनाहकमा बिद्युत् प्राधिकरणले व्यवसायीहरूलाई दुख दिने काम गरेको सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेले बताए।
नेपाल बिद्युत् प्राधिकरणका अनुसार उद्योगीहरूले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। विद्युतकाे बिल तिर्ने ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको छ । जस अनुसार बिजुली काटिएका तीन कम्पनीलाई थप दस्तुरसहित अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख र घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ बक्यौता तिर्न प्राधिकरणले भनेको छ ।
बिजुलीको बक्यौताको विवाद आए यता उत्पादनमूलक कम्पनीको शेयरमा दबाब देखिन थालेको छ। एक साता यता उत्पादनमूलक कम्पनीको शेयरमा दबाब पर्न थालेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार दुई दिन अघि सम्म ६ हजार ५४६.४४ अंकमा रहेको उत्पादनमूलक समूहको सूचक घटेर ६ हजार ५ सयको सेरोफेरोमा झरेको छ। जबकि दुई दिन देखि समग्र सूचकमा भने वृद्धि देखिएको छ।
दुई दिन देखि शेयर बजार बढ्दै गर्दा उत्पादनमूलक कम्पनीहरूको सूचकमा भने खासै अन्तर देखिन सकेको छैन। यही विवादको कारण उत्पादनमूलक कम्पनीको शेयर बढ्न नसकेको बताइएको छ। तर यही मेसोमा भने चलाख लगानीकर्ताहरूले दोस्रो बजारबाट उत्पादनमूलक कम्पनीको शेयर एक्युमुलेट गरिरहेको बताइएको छ। “अहिले फेरि बिजुलीको विवाद ब्युँतिएको छ। जसले गर्दा उत्पादनमूलक कम्पनीको शेयरमा तीव्र बिक्री चाप देखिन्छ। समग्र सूचक बढ्दा उत्पादनमूलक कम्पनीको शेयर पनि बढ्नु पर्ने थियो। तर यही विवादले शेयर मूल्य बढ्न सकेको छैन। तर यही मेसोमा भने चलाख लगानीकर्ताले शेयर किनिरहेका छन्। अहिले उत्पादनमूलक कम्पनीको शेयर बेस्सरी एक्युमुलेट भइरहेको बुझिएको छ,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।
कुनै समय हट केकका रुपमा रहने उत्पादनमूलक कम्पनीमा यति बेला खासै लगानीकर्ताले चासो दिएका छैनन्। सबैजसो लगानीकर्ता बढ्दो क्रममा रहेका समूहमा आकर्षित हुँदा उत्पादनमूलक कम्पनीको शेयर छाँयामा परेको हो। तर जसरी अहिले उत्पादनमूलक कम्पनीको शेयर छाँयामा परिरहेको छ। त्यो धेरै दिन छाँयामा नपर्ने ब्रोकर कम्पनीहरूको अनुमान छ। “दोस्रो बजारको लागि रियल सेक्टर अति महत्त्वपूर्ण हुन्छ। अहिले उनीहरूको शेयर छाँयामा परेको भए पनि त्यो धेरै दिन छाँयामा पर्न सक्दैनन्। किनकि धेरैले शेयर किनेर होल्डिङ बढाउँदै लगेको अवस्था छ। जसले आउने दिनमा आपूर्ति कम गर्दै लैजाने छ। त्यसले गर्दा डिमाण्ड बढ्न सुरु गरे सँगै उत्पादनमूलक समूहले आफ्नो लय समात्ने छ,” ती ब्रोकरले भने।
शेयर बजारमा अहिले कतिपय समूहका शेयर मूल्य निक्कै माथि उक्लिएका छन्। केही समूहका शेयर त पछिल्लो समयको उच्चतम मूल्यमा समेत उक्ली सकेका छन्। तिनीहरूको आधारमा उत्पादनमूलक कम्पनीको शेयर मूल्य बढ्न सकेका छैनन्। जसले गर्दा पनि उत्पादनमूलक कम्पनीको शेयर माथि उक्लने सम्भावनालाई भने नकार्न नसकिने ती ब्रोकर बताउँछन्।