बजार १९ प्रतिशतले बढ्दा यी हुन 'खरायाे र कछुवा' गतिमा हिड्ने स्टक, सूचीसहित

Jul 18, 2024 06:38 PM Merolagani



नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति गरेसँगै नेपालको शेयर बजार दिनहुँ बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा सँगै बढ्न थालेको शेयर बजार पौडेलले सपथ लिएसँगै झनै द्रुर्त गतिमा बढ्न थालेको छ ।

एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमतिसँगै शेयर बजार मापक नेप्से परिसूचक १९ प्रतिशतले बढेको छ । विगत २ वर्षदेखि १८ सयदेखि २२ सयसम्मको साइडवेजमा हिंडिरहेको बजारले माथिल्लो सीमा ब्रेक आउट गरेपछि हरेक दिन नयाँ कारोबार रकम सहित बजार बढेर बिहीबार २४ सय २४ को विन्दुमा पुगेको छ ।

बजार गत असार १७ गतेदेखि द्रुत्त गतिमा बढेको छ । साउन ३ गतेसम्मको १४ कारोबार दिनमा नेप्से परिसूचक २ दिन मात्रै सामान्य अंकले घटेको छ । असार १६ गते बजार बन्द भएदेखि साउन ३ गते बजार बन्द भएको बेलासम्मको निरन्तर बढाई हेर्दा नेप्से परिसूचक १९ प्रतिशतले बढेको छ । यो विन्दुसम्म आइपुग्दा लगानीकर्ताले बेवास्ता गरेको बैकिङ सेक्टर सबैभन्दा बढी २७ दशमबल ६७ प्रतिशतले बढेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बिहीबार १५ अर्ब ५४ करोड रुपैयाँको कारोबार हुँदा सधै झैं हाइड्रोपावर समूहका कम्पनीको सबैभन्दा धेरै ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भयो भने त्यसपछि दोस्रो स्थानमा धेरै दिनपछि वाणिज्य बैंक समूहको २ अर्ब २६ करोड रुपैयाँको कारोबार भयो । बिहीबार विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहको कारोबार १ अर्ब रुपैयाँभन्दा माथि कारोबार भयो ।

बिहीबार वाणिज्य बैंकलाई पछ्याउँदै विकास बैंक समूह २२ दशमलब ७६ प्रतिशत बढेको छ । ट्रेडिङ समूह १९ दशमलब ६९ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स, होटल, इन्भेष्टमेन्ट समूहका शेयरहरु १७ प्रतिशतको हाराहारीमा बढेको छ । हाइड्रोपावर १६ दशमलब ८ प्रतिशतले बढ्दा केही समय अगाडिबाट उकालो यात्रा गरिरहेको माइक्रोफाइनान्स समूह १५ दशमलब ५८ प्रतिशत र फाइनान्स समूह १३ दशमलब ६२ प्रतिशतले बढेको छ । नन लाइफ इन्स्योरेन्स १४ दशमलब ७५ प्रतिशत, अन्य क्षेत्र १३ प्रतिशतले बढ्दा उत्पादनमूलक समूह भने १२ प्रतिशतले मात्रै बढेको छ भने सबैभन्दा कम बढेको समूहमा म्युचुएल फन्ड परेको छ ।

असार १ देखि साउन ३ गतेसम्मको बजार बढ्दा सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरको शेयर मूल्य बढेको छ । असार १६ गते ६ सय ९० रुपैयाँमा बन्द भएको सिक्ले हाइड्रोपावरको शेयर मूल्य साउन ३ गते बजार बन्द हुँदा सम्म ९ सय ७२ रुपैयाँमा अन्तिम कारोबार भयो । सिक्लेसका लगानीकर्ताले १८ दिनमा ४० प्रतिशतभन्दा बढी नाफा गरेका छन् । त्यसपछि धेरै नाफा गर्ने लगानीकर्तामा आँखु्खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । १८ दिनकै दौरानमा आँखुखोला हाइड्रोपावरका लगानीकर्ताले ३८ दशमलब ८६ प्रतिशत नाफा गरेका छन् । कम्पनीले १ बराबर १.५ को अनुपातमा हकप्रद निष्काशनको लागि बुक क्लोज गरिसकेको हुँदा बुक क्लोज पछि तेजी रुपमा शेयर मूल्य बढ्दा मुनाफा प्रतिशत बढ्न गएको हो । जुन ३० अर्थात असार १६ मा टेबुलमा राखिएको मूल्य हकप्रद शेयर समायोजन गरिसकेपछिको मूल्य हो ।

नेप्सेको बढाईसँगै अत्यधिक मूल्य बढ्ने पाँच कम्पनी

पछिल्लो केही दिनदेखि वाणिज्य बैंक समूहको शेयर मूल्यमा पनि तेजी आएको छ । असार १६ देखि साउन ३ सम्मको अवधिमा प्रभु बैंक र सिटिजन्स बैंक इन्टरनेसनलको शेयर मूल्य ३५ प्रतिशतभन्दा बढीले बढेको देखिएको छ । असार १६ गते १ सय ३८ रुपैयाँमा रहेको प्रभु बैंकको शेयर मूल्य साउन ३ मा बजार बन्द हुँदा १ सय ९० रुपैयाँ पुगेको छ भने १ सय ६१ रुपैयाँ ९० पैसा रहेको सिटिजन्स बैंकको शेयर मूल्य समेत बिहीबार २ सय २१ रुपैयाँमा अन्तिम कारोबार भयो । त्यसैगरी धेरै मूल्य बढ्ने पाँचौ कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंक अगाडि आएको छ । बैंकको समीक्षामा अवाधिमा ३५.१६ प्रतिशतले मूल्य बढेको छ । असार १६ गतेको बजार बन्द हुँदा ३ सय ७८ रुपैयाँ रहेको एक्सेल डेभलपमेन्ट बैंको शेयर मूल्य साउन ३ गते बजार बन्द हुँदा ५ सय १२ रुपैयाँ पुग्यो ।

नेप्सेको बढाईसँगै बढ्न नसकेको पाँच कम्पनी

नेप्से परिसूचक १९ प्रतिशतले वृद्धि हुँदा पनि केही कम्पनीहरु भने साइडवेजमै वा कुनैको वृद्धिदर भने नकारात्मक देखिएको छ । मैलुङखोला जलविद्युत कम्पनी असार १६ गते ६ सय ९८ रुपैयाँमा अन्तिम कारोबार भएकोमा झन्डै १८ दिनको नेप्सेको बढाई उल्टो १५ दशमलब ९७ प्रतिशतले घटेर साउन ३ गते ५ सय ८६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भयो । कम्पनीको संस्थापक शेयरको ३ वर्षीय लकिङ पिरियड निकट भविष्यमै खुल्न लागेको हुँदा शेयर मूल्यमा गिरावट आएको हो । कम्पनीले नेप्सेमा पठाएको सूचना अनुसार साउन २६ गते कम्पनीको लकिङ पिरियड सकिनेछ । त्यसपछि संम्पूर्ण संस्थापक शेयरलाई पनि सर्वसाधारण सरह नै कारोबार गर्न सकिने प्रावधानले सप्लाई बढ्न जाने आँकलनमा मूल्य घट्न गएको हो ।

उच्च अंकले नेप्सेमा वृद्धि जारी रहँदा पनि बढ्न नसकेको अर्को कम्पनी मनकामना स्मार्ट लघुवित्त हो । गत असार १६ गते १२ सय १९ रुपैयाँमा कारोबार भएको कम्पनी बिहीबार बजार बन्द हुँदा ४ दशमलब १७ प्रतिशतले घटेर ११ सय ६९ रुपैयाँमा अन्तिम कारोबार भयो । त्यसैगरी युनाइटेड इडी मार्दी आरबी हाइड्रोपावर पनि नेप्सेको लयसँगै लय मिलाएर अगाडि बढ्न नसकेको शेयर हो । हिमालयन लघुवित्त र उन्नति सहकार्य लघुवित्त भने बजार १९ प्रतिशतले बढ्दा समेत झिनो अंकले मात्रै शेयर मूल्य बढेको कम्पनीमा पर्दछ ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।