वर्ष दिनमा सरकारको शेयर बजारबाट हुने आम्दानी ८५ प्रतिशत बढ्यो, ५ अर्ब ५० करोड उठ्याे लाभकर

Jul 21, 2024 06:33 PM merolagani



सुवास निरौला

दोस्रो बजारमा शेयर कारोबार गर्नेले जति नाफा कमाउँछन् त्यति नै सरकारको आम्दानी पनि बढ्छ। किनकि दोस्रो बजारमा नाफा गर्नेले सरकारलाई पूँजीगत लाभकर तिर्नु पर्छ।

एक वर्षको अवधि भन्दा कम अवधिमै नाफा गरे लगानीकर्ताले अल्पकालीन लाभकर स्वरूप साढे ७ प्रतिशत लाभकर तिर्नु पर्छ। जस्तै शेयर बजारमा एक सय रुपैयाँ नाफा भए त्यसमा साढे ७ रुपैयाँ लाभकर तिर्नु पर्छ। यति एक वर्ष भन्दा बढी शेयर होल्ड गरेर नाफा गरेको भए दीर्घकालीन लाभकर स्वरूप ५ प्रतिशत कर तिरे पुग्छ। त्यसैगरी संस्थागत लगानीकर्ताले १० प्रतिशत कर तिर्नु पर्छ। तर संस्थागत लगानीकर्ताले तिर्ने लाभकर अग्रिम हो। उनीहरूले वर्षको अन्तिममा हिसाब मिलान गर्न पाउँछन्। वर्षभरिमा नाफा वा घाटा के भएको छ, त्यसैको आधारमा कर तिर्नु पर्छ।

यसरी सरकारले हरेक दिन हुने शेयर कारोबारमा लाभकर उठाउँदै आएको छ। गत आर्थिक वर्षमा भने सरकारले राम्रै लाभकर सङ्कलन गर्‍यो। अघिल्लो वर्षको भन्दा उसको उठ्थी गत वर्ष ८५ प्रतिशत भन्दा बढीले बढेको छ। अघिल्लो वर्ष सरकारले वर्षभरिमा कुल २ अर्ब ९७ करोड रुपैयाँ लाभकर सङ्कलन गरेको थियो। तर गत आर्थिक वर्ष उक्त उठ्थी बढेर ५ अर्ब ५० करोडमा उक्लियो। जुन अघिल्लो वर्ष भन्दा ८५.४० प्रतिशत बढी हो।

हुन त अघिल्लो आर्थिक वर्ष भन्दा ८५.४० प्रतिशतले बढी लाभकर उठे पनि यो नै सर्वाधिक लाभकर उठ्तिको रेकर्ड भने होइन। आर्थिक वर्ष २०७७/७८ मा शेयर बजारबाट मात्रै १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो। उक्त आर्थिक वर्ष नेप्से सूचक १५२२ अंकले सुधार हुँदा नेपाल सरकारले प्राप्त गर्ने पूँजीगत लाभकर १४ सय गुणाले बढेको थियो। जबकि त्यसभन्दा अघिको आर्थिक वर्ष २०७६/७७ मा सरकारले शेयर बजारबाट ९७ करोड रुपैयाँ मात्रै पूँजीगत लाभकर प्राप्त गरेको थियो। सिडिएससीका अनुसार त्यस वर्ष नेपाल सरकारले अहिलेसम्मकै सर्वाधिक धेरै पूँजीगत लाभकर संकलन गरेको थियो।

शेयर बजारबाट उठ्ने लाभकर सङ्कलन गत आर्थिक वर्ष उल्लेख्य बढ्यो। चालु आर्थिक वर्ष पनि त्यसै गरी बढ्ने सम्भावनालाई नकार्न सकिँदैन। किनकि चालु आर्थिक वर्ष लाग्नु भन्दा अघि देखिनै नै शेयर बजार बढ्दो क्रममा देखिएको छ। साउन लागे यता शेयर बजारले बुलिस ट्रेन्ड समातेको छ। शेयर बजारले बुलिस ट्रेन्ड समाती सकेको अवस्था छ भने अर्को तर्फ कारोबार रकम समेत दैनिक बढ्दो अवस्थामा छ। अहिले दैनिक कारोबार रकम नै १० अर्ब रुपैयाँ भन्दा बढी हुन थाली सकेको छ।

दोस्रो बजार जति जति धेरै माथि उक्लिँदै जान्छ। त्यति नै लगानीकर्ताको फाइदा बढ्दै जान्छ। फाइदा बढ्दै जाँदा सरकारले प्राप्त गर्ने लाभकर समेत बढ्दै जान्छ। जति धेरै रकमको शेयर कारोबार हुन्छ। त्यति नै धेरै लाभकर उठ्ने गर्छ। जुन अहिलेको अवस्थामा देखिएको छ। आउने दिनमा शेयर बजारले बुलिस ट्रेन्डलाई निरन्तरता दिए सरकारले प्राप्त गर्ने लाभकर अहिलेको भन्दा बढी उठ्न सक्ने सम्भावना छ। किनकि यस अघि सर्वाधिक लाभकर सङ्कलन भएको वर्ष पनि शेयर बजार बुलिस ट्रेन्डमा रहेको थियो। शेयर बजार बुलिस ट्रेन्डमा जाँदा शेयर बजारबाट उठ्ने लाभकर समेत बढ्ने गर्छ।

राजस्वको प्रमुख स्रोत शेयर बजार पनि हुन सक्छ। तर सरकारले यो क्षेत्रलाई राजस्व उठ्ने प्रमुख स्रोतको रुपमा लिने गरेको छैन। किनकि शेयर बजारबाट उठ्ने लाभकरमा निक्कै धेरै उतार चढाव छ। जसले गर्दा सरकारले यसलाई राजस्वको प्रमुख स्रोतको रुपमा नमानेको हो। 

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।