गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा दिएका थिए। गत जेठसम्ममा यी कर्जा बढेर ५१ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। जुन ५.२ प्रतिशतको बृद्धि हो। यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा दिएका छन्। राष्ट्र बैंकले साढे ११ प्रतिशतको कर्जा बृद्धिको लक्ष्य राखे पनि बैंकहरुको कर्जाको बृद्धिदर निकै कम छ।
शेयर बजारको कर्जा हेर्दा अन्य क्षेत्रको तुलनामा धेरै बढेको देखिन्छ। समग्र बैंकको कर्जाभन्दा यस क्षेत्रको कर्जा धेरै बढेको छ। अघिल्लाे आर्थिक वर्षको असार मशान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ रहेको शेयर धितो कर्जा गत जेठसम्म्मा बढेर ८७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। जुन १० अर्ब रुपैयाँको बृद्धि हो।
यस्तै रियल स्टेट क्षेत्रको कर्जा हेर्दा पछिल्लो वर्षदेखि नै बढ्दो क्रममा छ। गत वर्ष समग्र रियल स्टेट क्षेत्रको कर्जा १० अर्ब ७३ करोड अर्थात ४.३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्ममा २ खर्ब ४९ करोड रुपैयाँ रहेको यस्तो कर्जा बढेर २ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।
रियल स्टेट क्षेत्रमा पनि जग्गा खरिद र प्लटिङको लागि जाने कर्जाको बृद्धिदर सबैभन्दा धेरै देखिन्छ। अघिल्लो वर्षको असारसम्ममा जग्गा खरिद र प्लटिङको लागि ४५ अर्ब ३३ करोड रुपैयाँ कर्जा दिएका बैंकहरुले गत जेठसम्ममा ५० अर्ब ३ करोड कर्जा दिएका छन्। गत ११ महिनामा बैंकहरुले ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा दिएका छन्।

- मौद्रिक नीतिको लचिलो व्यवस्थाले थप बढ्ने
नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा लिएका कर्जासम्बन्धि नीतिले आगामी दिनमा समेत उक्त क्षेत्रमा कर्जा लगानी थप बढ्ने देखिन्छ। किनभने राष्ट्र बैंकले गत वर्षदेखि नै घरजग्गा र शेयर बजारमा जाने कर्जामा लिँदै आएको लचिलो नीतिलाइ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि निरन्तरता दिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रिय बैंकले शेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप पूर्ण रुपमा हटाउने निर्णय गरेको छ। यसले गर्दा अब संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जा लिन क्याप लाग्ने छैन्।
तीन वर्ष अघि शेयर धितो कर्जामा ४ र १२ करोडको क्याप लगाएर यस्तो कर्जा घटाउने रणनीति रहेको राष्ट्र बैंकले अहिले ती क्यापहरु हटाएर पुनः कर्जा बढाउने बाटोमा देखिएको छ।
गत वर्ष नै केन्द्रिय बैंकले व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म कर्जा लिन पाउने गरी सिमा फराकिलो बनाएको थियो। त्यसपछि शेयर धितो कर्जा निरन्तर बढ्दै गएको छ।
अहिले संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको क्याप हटाएर राष्ट्र बैंकले शेयर बजारमा बैंकको थप कर्जा आउने बाटो खोलिदिएको छ। यसले राष्ट्र बैंक पनि शेयर बजारमा समेत बैंकको कर्जा बढोस भन्ने मनस्थितिमा पुगेको देखिन्छ।
अर्कोतर्फ रियल स्टेट कर्जामा पनि राष्ट्र बैंकले गत वर्ष देखि नै लचिलो व्यवस्था गर्दै आएको छ। अहिले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत राष्ट्र बैंकले जोखिम भार पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएको छ। यसले राष्ट्र बैंकले रियलस्टेट क्षेत्रमा जाने कर्जा अझै प्रोत्साहन गरिरहेको देखाउँछ।
राष्ट्र बैंकले गरेका यी लचक व्यवस्थाले शेयर बजार र घरजग्गामा कर्जा लगानी बढाउन राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको देखिन्छ।
- कर्जा बढ्दा शेयर र घरजग्गाको भाउ बढ्ने
बैंकको कर्जा लगानी बढ्दा त्यसले शेयर र घरजग्गाको भाउ समेत बढाउने देखिएको छ। बैंकको कर्जा बढ्दै जाँदा शेयर बजार पछिल्लो समय निरन्तर बढ्दो क्रममा छ।
लगानीकर्ताले बैंकबाट कर्जा लिएर शेयर बजारमा लगानी गर्दा शेयर बजारमा माग बढ्ने छ जसले गर्दा शेयर बजार पनि विस्तारै उकालो लागिरहेको छ। राष्ट्र बैंकले कर्जा लगानीमा गरेको थप प्रोत्साहनले बजारमा माग बढ्दै गएको र शेयर बजार थप बढ्नसक्ने देखिएको छ।
अर्कोतर्फ राष्ट्र बैंकले घरजग्गा कर्जामा लचक नीति लिँदा कर्जा लिएर जग्गामा लगानी गर्ने समेत बढेका छन्। यसले गर्दा पछिल्लो महिनाहरुमा घरजग्गाको कारोबार पनि बढ्दै गएको छ। बैंकको कर्जा लगानी बढ्दा जग्गाको भाउसमेत बढ्दै जाने जानकारहरु बताउँछन्।