कुनै देशको शेयर बजार परिसुचक उच्च छ, कारोबार उच्च छ, शेयर बजारले लगानीकर्ताहरुको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सबल, गतिशिल एवं तथ्याकीय हिसाबले पनि सही ठाउँमा छ भनेर हेरिन्छ। यदि शेयर बजारको नुर गिरेको छ,कारोबार उत्साहप्रद छैन, इन्डेक्सहरु घटिरहेका छन् भने त्यस देशको अर्थतन्त्र पनि ओरालो लागेको मन्दीले घेरेको बुझाउँछ।
त्यसकारण शेयर बजार र अर्थतन्त्रको सम्बन्ध अधिक छ। अझ शेयर बढ्छ कि बढ्दैन? शेयर बजारको विधमान उत्साह कायम रहन्छ कि रहँदैन? भनेर आम जिज्ञाशा हुन्छ। त्यसको उत्तर सरकारको हातमा छ। अर्थतन्त्रको विद्यमान अवस्था र भविष्यको पुर्वाभासमा भर पर्छ। कुनै सरकारले विकास निर्माणलाई तेजस्वी बनाउन सक्छ भन्ने आम पब्लिकमा आशा भयो भनेपनि शेयर बजारमा उत्साह देखिन्छ। तर सरकारप्रति, उसका नीति प्रति र प्राथमिकता प्रति जनतालाई अथवा लगानीकर्तालाई भरोसा भएन भनेपनि शेयर बजार नकारात्मक दिशा समात्छ।
अर्थतन्त्र र शेयर बजार
शेयर बजार अर्थतन्त्रको मुख्य पिल्लर भएकैले पनि यसले व्यवसायको समुन्नति,औद्योगिक विकास मात्र होइन पुरै अर्थतन्त्रको स्वास्थ्यमा महत्वपुर्ण प्रभाव पार्दछ। संसारभरकै अर्थतन्त्रमा शेयर बजारले पार्ने प्रभाव करिब उस्तै र उही हो। त्यसकारण शेयर बजारको बारेमा नेताहरुले, त्यसमा पनि जनतामा प्रभाव रहेका नेताहरुले (वर्गीय समाजमा सबै नेताहरुको आफना–आफना प्रभाव हुन्छन् नै) बेला कुबेला शेयर बजार प्रति नकारात्मक धारणा राख्नु सर्वदा गलत हो। त्यसकारण पनि जनताको अथाह लगानी रहेको शेयर बजार प्रति बोल्दा कुनै पनि देशका गर्भनर,सरकारका आर्थिक सल्लाहकार, बजारसँग सम्बन्धित संस्थाका अधिकारीहरुले संवेदनशीलता माथि आघात पुर्याउँदैनन्।
फेरि शेयर बजार यस्तो प्लेटफर्म हो, जहाँ कम्पनीहरुले पूँजी उठाउँछन् र लगानीकर्ताहरुले आफनो सम्पत्ति बढाउँछन्। यी दुबै गतिविधिले शेयर बजारलाई पनि र समग्र अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ। पछिल्लो समय त धेरैजसो ठूला व्यवसायिक संघ संगठन, उत्पादनमुलक कम्पनीहरु समेत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रमशः सूचीकृत हुन थालेपछि शेयर बजारमा हुने व्यापारले आम पब्लिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न थालेको छ। हरेक उत्पादन,रोजगारी र हामीले बनाउने योजनाहरुमा पनि त्यसले असर गर्दछ। त्यसकारण शेयर बजार र अर्थतन्त्र एक अर्कामा अन्योन्याश्रित छन्। दुबैलाई अलग्गै राखेर हेर्न नसकिने अवस्था छ। त्यसैले शासकहरुले शेयर बजारलाई ‘इग्नोर’ गरेर अगाडी बढ्न सक्दैनन्।
त्यसकारण पनि शेयर बजारको ट्रेन्ड बुझ्न समग्र अर्थतन्त्रको हालत केलाउन जरुरी छ। बाठा र व्यवसायिक लगानीकर्ताहरुले शेयर बजार मूल्यहरु र प्रक्षेपण बुझ्न आर्थिक डाटाहरु स्क्यान गर्छन्। तर हामीकहाँ शेयर बजारको विश्लेषण केही प्राविधिक शब्दावलीहरु रचेर, कम्पनीहरुका आशिंक नाफा घाटा केलाएर, गोयबल्स हल्लाहरु चलाएर, लगानीकर्ताहरुलाई अल्मल्याएर गरिन्छ। तर, कुरा यत्ति हो कि, शेयर बजारको दिगो बढोत्तरीको लागि सरकारले ल्याउने केही आशाप्रद नीतिले मात्र होइन,अर्थतन्त्र नै सबल र निरन्तर अगााडी बढेको हुनुपर्छ। त्यसले मात्र शेयर बजारको उत्साह कायम गराइ राख्नेछ। अन्यथा त्यो दिगो हुन सक्दैन। जसरी शेयर बजारमा लगानी गर्नेहरुले देशको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छन्, त्यसरी नै देशको अर्थव्यवस्थाको प्रक्षेपण गर्न शेयर बजार सुचकाकंहरुको ट्र्याक राख्ने गरिन्छ।
यद्यपि शेयर बजारमा विभिन्न अरु कारकतत्वहरुको प्रभाव रहन्छ। जसले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा असर गर्दैन। उदाहरणका लागि प्राकृतिक प्रकोप, ब्याजदरदेखि करको दरसम्म सबै कुराले शेयरको मूल्यमा असर गर्छ। तर अर्थतन्त्रमा त्यसको तात्विक असर भने हुँदैन। अर्को शेयर खरिद वा लाभाशंमा प्रत्यक्ष प्रभाव पार्ने कानुनमा कुनै परिवर्तन भएमा त्यसले प्रत्यक्ष रुपमा शेयरको मूल्यमा असर गर्छ। खासगरी शेयर बजारले कुनैपनि घटना वा परिवर्तनमा तिव्र प्रतिकृया दिन्छ। तर कुल गार्हस्थ उत्पादनमा भने त्यस्ता परिवर्तनले असर गर्दैन।
यसरी समग्रमा अर्थतन्त्र र शेयर बजार एक अर्कामा मिलाएर चल्छन्। तर सँधै भने होइन। शेयर बजार र आर्थिक कार्यसम्पादन सँधै मिल्दैन। अर्थात बलियो शेयर बजारको प्रर्दशनले सँधै बढ्दो अर्थतन्त्रलाई पनि इंगित गर्दैन। तर धेरैजसो अवस्थामा देशको आर्थिक सुदृढीकरण र गतिशिलताले शेयर बजारलाई साथ दिन्छ।
नेपालमा शेयर बजार
नेपालमा केही वर्षयता आर्थिक क्षेत्रमा आएको शिथिलता, बढ्दो बेरोजगारी, युवा पलायन, उपभोक्ता मागमा आएको कमी लगायत अरु विभिन्न कारणले शेयर बजार निरन्तर गिरेको हो। कोभिड १९ र रुस युक्रेन युद्धको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको हो। तर पछिल्लो एक वर्षयता नेपालको अर्थतन्त्रको बाह्य परिसूचक निरन्तर सुधारिएको देखिन्छ। रेमिट्यान्स गत आर्थिक वर्षमा १४ प्रतिशतले बढेर १४ खर्ब पार गरेको अवस्था छ। विदेशी विनिमय सञ्चिति २० खर्ब अर्थात १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ। आयात र निर्यात दुबै घटेपनि शोधानान्तर घाटाको अवस्था सुधारिएर नाफामा पुगेको छ। बैंकहरुमा न्यून तरलताको अवस्था सुधारिएर पर्याप्त तरलताको अवस्था छ। मुद्रास्फीति सन्तुलित हुँदै गएको छ र केपी ओली नेतृत्वको नयाँ सरकार आएपछि शेयर बजारले पनि लय समात्न थालेको देखिन्छ। अर्थात, अब चाँही केही हुन्छ भन्ने जस्तो लगानीकर्ताको मनोबल बढ्न थालेको छ।
शेयर बजारमा सूचीकृत कम्पनीहरुको अघिल्लो आर्थिक वर्षभन्दा गत वर्षको वित्तीय विवरणहरु निकै सुधारिएर आएको अवस्था छ। यत्ति हो, नयाँ सरकारले पूँजीगत खर्च बढाउनु पर्ने, राजस्व आय बढाउनु पर्ने, आर्थिक गतिशिलतालाई बढाउनु पर्ने आवश्यकता देखिन्छ। त्यसको लागि सरकारकै स्वायत्त निकाय राष्ट्र बैंकले आर्थिक गतिविधि बढाउन खुकुलो गरी मौद्रिक नीति ल्याइसकेको छ। जसले घरजग्गा तथा अन्य साना तथा मझौला उद्यम व्यवसायका लागि भुमिका खेल्ने आशा गर्न सकिन्छ। फलस्वरुप अर्थतन्त्रमा सुधार आउनेछ। जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्नेछ। यसरी शेयर बजार र समग्र देशको अर्थतन्त्रबीच गहिरो एवं अन्योन्याश्रित सम्बन्ध छ। फलस्वरुप, अर्थतन्त्र उकालो लाग्दा वा लाग्ने अवस्था सिर्जना हुदा निश्चित रुपमा शेयर बजार बढ्छ। आरालो लाग्ने अवस्था देखिए शेयर बजार घट्छ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।)