अनि त्यो भन्दा पनि महत्वपूर्ण कुरा अहिले चलिरहेको युद्ध सकियो भने फेरि अर्काे युद्ध हुँदैन भन्ने कुराको के ग्यारेण्टी ?
हो, त्यसको ग्यारेण्टी छैन । तर, अहिले चलिरहेको इजरायल प्यालेष्टाइन युद्धले दिएको एउटा स्पष्ट सन्देश हो-अबको लडाई केवल एउटा देश र अर्काे देशको बीचमा मात्र हुँदैन, व्यवसायिक कम्पनीहरुको बीचमा हुन्छ । र, त्यसमा अग्रपङितमा हुनेछन् वा भैरहेका छन्-बहुराष्ट्रिय कम्पनीहरु र विश्वव्यापी बजार लिएका तिनीहरुका खास खास उत्पादनहरु ।
जस्तो ती १५ वर्षे ठिटो युसुफ साद र उनीहरु जस्तै युवाहरुले चलाइरहेको कोक-पेप्सी बहिस्कार अभियानको लहरो केवल प्यालेष्टाइनमा मात्रै सिमित छैन, त्यो अरब राष्ट्रहरु हुँदै पाकिस्तान, वंगलादेशसम्म फैलिएको छ । पक्कै पनि कोक-पेप्सी बहिस्कार अभियानको शुरुवात गर्ने युसुफ साद र उनका साथीहरु होइनन्, धेरै अगाडि सन् ९० को दशकमा जब पेप्सीको कम्पनीले इजरायलको स्थानीय सोडा उद्योगलाई खरिद गरेर मध्यपूर्वलाई लक्षित नयाँ ‘प्लाण्ट’ जडान गरेपछि शुरु भएको हो । तर, पछिल्लो पटक चलिरहेको इजरायल प्यालेष्टाइन युद्धले बहिस्कार अभियानलाई यसरी फैलाएको छ कि त्यसको लप्को पाकिस्तान र वंगलादेश जस्ता दक्षिण एशियाली मुलुकहरुमा समेत आइपुगेको छ ।
‘वायकट कोकोकोला’ वा ‘वायकट पेप्सी’ अभियान चलाइरहेका धेरै मान्छेको बुझाई के छ भने कोक, पेप्सी लगायतका समान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरु अमेरिका लगायत पश्चिमा शासकको स्वार्थपूर्तिका लागि जे पनि गर्छन् । गरिब, निमुखा देश र त्यहाँका जनताको शोषण गर्छन् ।
गरिब निमुखाको शोषण गर्ने कुरालाई स्विकार नगरे पनि पश्चिमा भैसकेको तथ्य हो । अहिले चलिरहेको इजरायल-प्यालेष्टाइन युद्ध होस वा रुस-युक्रेन युद्ध होस, वा अरु कुनै विवाद र युद्धहरु हुन्, बहुराष्ट्रिय कम्पनीहरु पश्चिमा राष्ट्रहरुको हितमा काम गरिरहेका छन् । विश्वका कुनै पनि ठूला राजनीतिक घटना हुनासाथ त्यस्ता कम्पनीहरु आफूलाई अमेरिकी सरकारको अंग जस्ता बनाएर उस्कै भाषा बोल्न थाल्छन् ।
त्यसको परिणाम ! गाजादेखि इस्लामावादसम्म, मस्कोदेखि ढाकासम्म पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुप्रतिको आक्रोस बढ्दो छ । बहिस्कार अभियान चलिरहेको छ । र, त्यस क्रममा बहिस्कार अभियान मात्रै चलिरहेको छैन, त्यस्ता कम्पनीहरुमाथि भौतिक आक्रमणसमेत हुने गरेको छ ।
पछिल्लो पटक इजरायल-प्यालेष्टाइन युद्ध शुरुपछि बेष्ट बैंकमा रहेको कोक उत्पादन गर्ने कम्पनी, नेशनल वेभरेज कम्पनीमाथि हमासले आक्रमण गर्यो । त्यसबाट सम्पूर्णरुपमा ध्वस्त भएको कम्पनी अहिलेसम्म पनि राम्रोसँग संचालन हुन सकिरहेको छैन । यो आक्रमणबाट मध्यपूर्वमा कोकोकोला उत्पादन र विक्री वितरणको चेन नै खल्बलिएको कम्पनीका मुख्य साझेदार जाही खोवारी बताउँछन् । ‘मन पर्दैन भने नखाए हुन्छ, बहिस्कार अभियान चलाए पनि हुन्छ, तर कसैसंगको रिसमा कुनै कम्पनीमाथि आक्रमण गर्नु अपराध हो,’ खोवारीले भने ।
प्यालेष्टाइनमाथि इजरायली आक्रमण लगत्तै पाकिस्तान र बंगलादेश जस्ता देशहरुमा पनि कोक, पेप्सी बहिस्कार अभियान चलिरहेको छ । त्यस्लाई काउण्टर दिन केही महिना अगाडि कोकोकोलाले पाकिस्तानमा थप २२ मिलियन डलर लगानी गरेर आक्रामक बजार रणनीति अपनाइरहेको छ । तर, त्यसले अहिले खासै परिणाम दिएको छैन । बरु बंगलादेशको पछिल्लो विद्रोहको क्रममा शुरु भएको बहिस्कार अभियान सेलाउनुको सट्टा झन झन बढिरहेको छ । र, भविश्यमा के हुन्छ ? भन्न सकिदैन ।
फेरि युसुफ सादकै कुरा । प्यालेष्टाइन सरकारका जागिरेका छोरा युसुफ अहिले युद्धले भग्नावशेषमा परिणत भएका ठाउँहरुमा पुगेर गितार बजाउँदै युद्ध विरोधी गीत गाउँछन् र ‘वायकट कोक’ वा पेप्सी अभियान चलाइरहेका छन् । त्यसैले उनी अहिले प्यालेष्टाइन समर्थकहरु र कोक-पेप्सी जस्ता वहुराष्ट्रिय कम्पनीहरुका उत्पादन बहिस्कार गर्नेहरुका बीचमा नयाँ ‘हिरो’ बनिरहेका छन् ।