नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९-०८० सम्म कूल जनसंख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । तर, आव २०८०-०८१ मा उक्त कूल जनसंख्याको ४३ दशमलव २७ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको छ । अर्थात अघिल्लो वर्षको तुलनामा गत आवमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँच बाहिर पुगेका छन् ।
‘बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरण र विभिन्न कम्पनीहरुले बीमाको बारेमा जनचेतना फैलाउन अनेक कार्यक्रमहरु संचालन गरिरहदाँ पनि बीमा गराउनेहरुको संख्या घट्नु गम्भिर चिन्ताको विषय हो । यसले सरकारका नीति तथा बीमा प्राधिकरण र कम्पनीहरुप्रतिको जन विश्वास घट्दै गइरहेको पुष्टि गर्छ,’ एउटा बीमा कम्पनीका एक उच्च अधिकारी भन्छन् ।
बीमा प्राधिकरणका अधिकारीहरु भने लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कटको असर बीमा क्षेत्रमा परेको दावी गर्छन् । ‘गत आवमा लघुवित्त र सहकारी क्षेत्रमा धेरै सङ्कट देखापर्यो । यसले लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बीमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको देखिन्छ,’ प्राधिकरणका निर्देशक शुशिल सुवेदीले भने ।