बजारमा सर्किटका सर्किट लागेर एकाएक शेयरको मूल्य बढ्न थाल्यो। तर पौडैलले पूँजी बजारको विकास र स्थायित्व प्रदान गर्ने गरी आफ्नो कार्यकालको तीन महिनाको अवधिमा सिन्को नभाँचेपछि पौडेलकै कारण शेयर बजारका लगानीकर्ता नराम्ररी डुबेका छन्।
पूँजी बजारलाई माया गर्ने विष्णु पौडेल अर्थमन्त्री भएर आए भन्ने स्याल हुँईयाँमा अचाक्ली उचालिएका केही खराब कम्पनीका शेयरमा लगानी गरेकाहरुले ६० प्रतिशतसम्म गुमाएका छन् भने केही कम्पनीको शेयरको मूल्य पौडैल आउनु भन्दा अगाडिकै न्युन विन्दुमा झरिसकेको छ। अहिले दिनहुँ घट्दो मूल्यका कारण शेयर बजारका बहुसंख्यक लगानीकर्तामा त्रास फैलिएको मात्रै छैन, बैंकहरुबाट शेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कलको खतरा पनि बढेर गएको छ।
कम्पनीको आधारभुत अवस्था र पूँजी बजारको जोखिम नै विचार नगरी विष्णु पौडेलको नाममा उचालिएकाहरुले नराम्रो झड्का त खाएकै छन्, आधारभुत अवस्था बलियो भएका र लाभांश दिइरहेका कम्पनीहरुमा पनि अस्वभाविक तीव्र गिरावटले बजारको स्थायित्वमै प्रश्न खडा गरेको छ। धेरै नबढेका र राम्रा कम्पनीको मूल्य नै थेग्न नसकिने गरी खस्न थाल्दा दीर्घकालीन लगानी गर्नेहरु समेत आत्तिएका छन्। वित्तीय क्षेत्रमा अधिक तरलता भएकाले राष्ट्र बैंकले दिनहुँ पैसा तानिरहन परेको अवस्था छ भने अर्को तिर कर्जा प्रवाह हुन नसकेर साढे ८ प्रतिशत ब्याज दरमै शेयर धितो कर्जा पाउने अवस्था आउँदा समेत पूँजी बजार उल्टो घट्ने कुराले आगामी दिनको अवस्था आँकलन गरी लगानीकर्ताहरुमा अनिश्चय बढेको पाईन्छ।
विष्णु पौडेलले आफु अर्थमन्त्री भएपछि नेप्से पुगेर सूचक र कारोबार किन घट्यो? भन्ने प्रश्न गर्ने बाहेक पूँजी बजारको सुधार र विस्तारका लागि एउटा पनि काम गरेनन् भन्ने लगानीकर्ताहरुको आरोप छ। हुन त उनले यसअघि चार पटकसम्म मन्त्री हुँदा पनि पूँजी बजारको सुधार र विस्तारका लागि कुनै ठोस पहल र काम गरेको एउटा पनि उदाहण छैन। संयोगबश उनको पालामा शेयरको मूल्य बढेको हुनाले केही व्यक्तिहरुले विष्णु पौडेललाई पूँजी बजारमैत्री नेता हुन् भन्दै चर्चा गरे र बहुसंख्यकले त्यसैलाई पत्याए। वास्तवमा पौडेल पूँजी बजारको विकास, विस्तार गर्ने कुनै सोच भएका, त्यस सम्बन्धमा गहन अध्ययन भएका र तत्काल काम गर्न इच्छाशक्ति भएको नेता नै हैनन् भन्ने उनी निकटका एमालेहरु स्वीकार गर्छन्।
पौडैल पूँजी बजारको लागि मरिमेटेर काम गर्ने नेता भएको भए सबैभन्दा पहिले एक वर्षदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएर शुरुमै अध्यक्ष नियुक्त गरिसकेका हुन्थे। पूँजी बजार सुधार र विस्तारका लागि उनको टेबलमा पुगेको दर्जनौँ कामको सूचीलाई एक एक गर्दै अगाडि बढाएर बजार सुधारका लागि क्रान्तिकारी फड्को मारिसकेका हुन्थे। सूचक र कारोबार रकम किन बढ्यो? किन घट्यो? भन्दै नेप्सेको कार्यालय पुगेर कर्मचारीहरुलाई प्रश्न गर्नुको सट्टा अर्थ मन्त्रालयमै बसेर नेप्से पुनःसंरचनाका लागि नेप्से सञ्चालक समितिले पटक पटक पठाएको प्रस्ताव अनुमोदन गरिसकेका हुन्थे। एउटा सानो निर्णयबाट हुने ईन्ट्रा डे, सर्ट सेलिङ, नेप्से थर्टी, साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म, ब्रोकरमार्फत मार्जिन ट्रेडिङ, गैरआवासीय नेपालीलाई भित्र्याउने जस्ता अड्किएर बसेका महत्वपूर्ण कामहरु भईसकेका हुन्थे। तर पौडेलले ठाउँ कुठाउँ गएर भाषण गर्ने बाहेक माखो मारेनन् र त्यसको परिणाम अहिले लगानीकर्ताहरुले भोगिरहेका छन्।
प्राप्त जानकारी अनुसार अर्थमन्त्री पौडेल आफ्नै पार्टीका नेता र कार्यकर्ताहरुको कुरा समेत सुन्दैनन् र कुनै निर्णय गर्न अग्रसरता लिदैनन्। स्टक ब्रोकरहरुका दुबै संगठनका अध्यक्षहरु आफ्नै पार्टी एमाले निकट हुन् र नयाँ तथा पुराना कयौं ब्रोकरहरु पनि एमालेका नै छन्। पूँजी बजारको सुधार र बिस्तारका लागि ब्रोकरहरुले नै सुझाएका कयौं राम्रा कामहरुलाई पनि पौडेलले वास्ता नगरेपछि अहिले ब्रोकरहरु नै पौडेलसँँग चिढिएका छन्। लगानीकर्ताहरुमा आक्रोश पैदा हुँदै गएको छ।
धितोपत्र बोर्ड, नेप्से र सीडीएसका कर्मचारीहरु अर्थ मन्त्रालयको रवैया देखेर दिक्क भईसकेको बताईन्छ। पूँजी बजारबाट संकलन हुन थालेको राजश्वमा समेत ठूलो धक्का लाग्दा सरकारी अधिकारीहरुमा खैलाबैला शुरु भईसकेको छ। सत्ताधारी काँग्रेसकै बरिष्ठ नेताले अर्थमन्त्री पौडेलले अर्थतन्त्र र पूँजी बजार सुधारको अपेक्षित काम गर्न नसकेको भनी आलोचना शुरु गरिसकेकाले अब पेचिलो समय आईसकेको स्पष्ट हुन्छ। एमालेमा त पौडेललाई बाध्यताबश अर्थमन्त्री बनाउनु परेको भन्दै एउटा बलियो पक्ष असन्तुष्ट नै छ। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमार्फत गर्नुपर्ने काममा आवश्यक राय र परामर्श दिन नसक्नुमा एमाले भित्रको त्यही अन्तरविरोधले काम गरेको बताइन्छ।
अब हेर्नु छ, अहिले चीन भ्रमणमा गएका पौडेल फर्किएर आएपछि बिग्रिदै गरेको देशको पूँजी बजारको अवस्था सुधार्न फटाफट काम गर्छन् कि आफ्नै दिनगन्ति शुरु गर्छन? सर्बत्र वाहवाहीको चर्चाबाट बिच्किएर बदनामीको दाग बोकी पाँचौं कार्यकालबाट बिदा हुन पौडेलको मन मान्ला र?