मूल्य अत्याधिक बढेपछि दुई महिनामा बैंकहरुले ल्याए १०० किलो मात्रै सुन, बजारमा सुन अभाव हुँदै

Oct 01, 2024 10:56 AM Merolagani



सुनको मूल्य अत्याधिक बढेपछि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सुनको आयात घटेको छ। दुई महिनामा बैंकहरुले १०० किलो मात्रै सुन ल्याएका छन्।

गत आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरुले ५०० किलो सुन ल्याएका थिए। तर यस वर्ष सुनको मूल्य अत्याधिक बढ्दै गएको कारण पनि सुन आयात घटेको छ।

गत साउन र भदौ महिनामा बैंकहरुले कुल १ अर्ब ४ करोड रुपैयाँको सुन आयात गरेका छन्। यो मूल्यको आधारमा पनि गत वर्षको भन्दा आधा भन्दा कम हो।

सुनको भाउ अत्याधिक बढेको कारण अत्यावश्यक बाहेक अन्य कुरामा सुनको खपत कम छ। गरगहना बनाउनेले पनि पुरानै सुन ल्याएर गहना बनाउन दिइरहेको सुन व्यवसायीहरु बताउँछन्।

अहिले सुनको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाउन थालेको छ। सोमबारसम्ममा सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगिसकेको छ।

बैंकहरुले सुनको आयात घटाउदा बजारमा भने सुन सर्टेज हुन थालेको व्यवसायीहरु बताउँछन्। "अहिले एकातिर भाउ अत्याधिक बढेको छ भने अर्कोतर्फ बजारमा सुन नै सर्टेज हुन थालेको छ" एक सुन व्यवसायीले भने "अहिले सहज रुपमा सुन पाउनै छोडिसकेको अवस्था छ।"

आयात कम भएकै कारण पनि बजारमा सुन अभाव हुन थालेको हो। गत आर्थिक वर्षमा कुल २३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियाे। भन्सार विभागको तथ्याँक अनुसार गत आर्थिक वर्षमा कुल २ हजार ६५२ किलो सुन आयात भएको छ। गत वर्ष औसतमा मासिक २०० किलोभन्दा बढी सुन आयात भएको देखिन्छ। 

यसैगरी आर्थिक वर्ष २०७९/८० मा २ हजार ९१७ किलो सुन आयात भएको थियो। विभागको तथ्याँक अनुसार अघिल्लो वर्ष २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात भएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा कुल ३५ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो भने २०७७/७८ मा २७ अर्ब ३४ करोड सुन आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा भने १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा साढे १५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो।

२०७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य पछिल्लो ५ वर्षमा करिब ३ गुणाले बढेको छ। मूल्य बढ्दा अहिले सुनको गरगहना बनाउने भने घटेको व्यवसायीहरु बताउछन्।

अहिले पनि सुनको मूल्य निरन्तर बढ्दो क्रममा नै रहेकोले बजारमा थप सुन नआउने हो भने सुन सर्टेज नै हुनसक्ने व्यवसायीहरु बताउछन्।




comments powered by Disqus