विदेशमा बस्नेहरूले शेयर किन्ने क्रम बढाउँदै गर्दा स्वदेशका लगानीकर्ता भने बेच्दै, शेयर किन्ने क्रम बढाउनुको कारण यस्तो

Oct 03, 2024 06:17 PM merolagani



सुवास निरौला

नेपालको शेयर बजारमा अनलाइन कारोबार गर्न सकिन्छ। दोस्रो बजार अनलाइनमा गए सँगै विदेशमा भएका नेपालीको शेयर बजार पस्ने क्रम दैनिक बढ्दो छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पछिल्लो समय विश्वभरका ४० भन्दा बढी मुलुकबाट नेपालको शेयर बजारमा कारोबार हुने गर्छ। हरेक दिन जसो विश्व भरिबाट दोस्रो बजारमा कारोबार गर्ने बढ्दै गइरहेका छन्। नेप्सेले उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा लग इन गरिरहेका लगानीकर्ताको आइपी एड्रेसबाट विदेशमा बस्ने नेपालीहरूको शेयर बजारमा संगलनता बढ्दै गइरहेको देखाएको नेप्सेको एक अधिकारीले बताए। “दोस्रो बजार अनलाइनमा गए सँगै हरेक दिन विदेशबाट कारोबार गर्ने बढ्दै गइरहेका छन्। टिएमएसमा लग इन गर्नेहरूको आइपी एड्रेसबाट उनीहरूको सङ्ख्या बढिरहेको देखिन्छ” नेप्सेका प्राविधिक शाखाका एक कर्मचारीले मेरो लगानी सँग भने।

नेप्सेका अनुसार विविध कारणले नेपाल बाहिर पुगेका नेपालीहरूले दोस्रो बजारमा शेयर कारोबार गर्ने गर्छन्। तर विदेशीले नै भने नेपालको बजारमा कारोबार गर्दैनन्। विदेशमा हुनेहरूको आकर्षण बढेकै कारण दोस्रो बजारको कारोबार पनि बढेको हुन सक्ने ती कर्मचारीको भनाई छ। “सेकेण्डरी मार्केट अनलाइन हुनुभन्दा अघि निक्कै न्यून कारोबार हुने गर्थ्यो। तर अहिले अनलाइन भए सँगै कारोबार समेत ह्वात्तै बढेको छ। जाहासम्म दैनिक कारोबार रकम बढाउन विदेशमा रहेका कारोबारीको निक्कै ठुलो भूमिका देखिन्छ,” उनले भने।

पछिल्लो समय दोस्रो बजारमा ३० अर्बसम्मको कारोबार भयो। त्यो कारोबार बढाउन समेत विदेशमा भएका नेपालीको ठुलै भूमिका रहेको बताइएको छ। तर ३० अर्ब रुपैयाँको कारोबार भए यता दैनिक कारोबार घट्दो छ। अझै दसैँ लागे यता स्वदेशी लगानीकर्ताले बिक्री चाप बढाउँदै लगेका छन्। खासगरि दसैँ मान्न र असोज मसान्तको ब्याज जोहो गर्न स्वदेशमा भएका लगानीकर्ताहरूले धेरै जसो शेयर बिक्री गरिरहेका छन्। तर यही बेला विदेशमा बस्नेहरूलाई भने मसान्तको प्रेसर र दसैँ मान्नकै लागि शेयर बेच्नु पर्ने अवस्था छैन। उनीहरूले बरु यति बेला शेयर किन्ने क्रम बढाएको ती कर्मचारी बताउँछन्। “हुन त बाइ सेलको पोजिसन डिस्कोल्ज गर्न मिल्दैन। तर बाइ सेलको सिनारियो एनालाइस गर्दा यति बेला विदेशमा बस्नेहरूको सेल पोजिसन भन्दा बाइ पोजिसन नै बढी देखिन्छ,” उनले भने।

ती कर्मचारीको भनाइलाई आधार मान्दा दसैँ मनाउन र असोज मसान्तको व्याज जोहो गर्न स्वदेशी लगानीकर्ताले जति शेयर बिक्री गरिरहेका छन्। त्यस अनुपातमा विदेशमा बस्नेहरूलाई दसैँ मनाउन र व्याज नै तिर्नको लागि शेयर बिक्री गर्नु पर्ने बाध्यता छैन। तर समग्र कारोबारमा विदेशमा बस्नेहरूको भूमिका बढ्दै गएको देखिएपनि उनीहरूको पोर्सन भने निक्कै न्यून छ। समग्र कारोबारमा स्वदेशी लगानीकर्ताको नै भूमिका सबैभन्दा बढी छ। जसले गर्दा नेप्सेको घट्दो/बढ्दो लयको दिशा निर्देश गर्न भने विदेशमा भएका लगानीकर्ताको कारोबारले गर्न सक्दैन। जसले गर्दा पछिल्लो समय शेयर बिक्री गर्ने बढेकै कारण सूचकमा दबाब परेको हो।

विदेशमा बस्ने लगानीकर्ताको शेयर बजार प्रतिको आकर्षण बढ्दै गए पनि एनआरएनलाई अझै शेयर बजार खुला गरिएको अवस्था छैन। धितोपत्र बोर्डले आफ्नो हरेक नीति तथा कार्यक्रममा एनआरएनलाई दोस्रो बजारमा प्रवेश गर्ने बाटो खुला गर्ने भन्दै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन। अहिले पनि विदेशमा हुने नेपाली जसले नेपालको नागरिकता त्यागेका छैनन्। उनीहरूले मात्रै दोस्रो बजारमा कारोबार गर्न सक्छन्। जसले नेपालको नागरिकता त्यागेका छन्। उनीहरूले दोस्रो बजारमा कारोबार गर्न पाउँदैनन्।

स्वदेशी नागरिकताका आधारमा शेयर किनेका र नाबालिग छोराछोरीका नाममा शेयर भरेर विदेश पलायन भएकाहरूको छुट्टै समस्या छ। अहिले नाबालिग छोराछोरी बालिग भएका छन्। तर उनीहरूको बाबु आमाले नेपाली नागरिकता त्यागेर विदेशी सिटिजन लिएका कारण उनीहरूको छोराछोरीको नाममा भएको शेयर अलपत्र परेको अवस्था छ। जसका लागि पनि एनआरएनहरूलाई दोस्रो बजारमा प्रवेश गराउनै पर्ने अवस्था देखिन्छ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।