काठमाडौं महानगरपालिकाको कारण बेच्न ल्याइएका खसी हराएको व्यापारीहरुकाे आरोप, सस्ताे दिँदा पनि खसी नबिकेकाे गुनासाे

Oct 09, 2024 11:52 AM Merolagani



दशैँको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी विक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् ।

बुधवार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरुले महानगरका कर्मचारीहरु आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काभ्रेबाट खसी विक्री गर्न आउनुभएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरु फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरु हराएको गुनासो गरे । उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरु हराउँदा दशैँ नै खल्लो भएको बताए । 

साहले भने, ‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भन्यो । हामीले लगेनौँ । उहाँहरुले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो । नगरपालिकाको कर्मचारीहरुले त्यसो गर्नुभयो । ३ वटा खसी हराए । त्यस्तो भयो, अब के गर्न सकिन्छ र ? हामी बिहान ४ बजे आइपुगेका हौँ । खसि निकालेर बाँधेका थियौँ । त्यस्तो गरिदिए ।’


अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए । उन ले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताउनु भयो । उहाँले सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको बताए । उनले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०÷६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे । 

पाण्डेले भने, ‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ । पोहोर ६५०÷६६० मा बेचेका थियौँ । अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन् । सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो । भाडा पनि डबल प-यो । यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ । विक्री त जसरी भए नि सिध्याएर जानुपर्छ । तर घाटा खाएर बेच्नुपर्ने भयो ।’

अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताए । उनले उपभोक्ताहरु किन्न नआएको गुनासो गर्नुभयो । उहाँले ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको बताए। 

 मोक्तानले भने, ‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन । बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन । ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट । लगभग १५ हजार भाडा लाग्यो । बजारको रेटमै बेचेका छौँ ।’

यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्छन । उनले भने , ‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैप-यो ।’ 

दशैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैँ उल्लासमय बन्न सकिरहेको छैन । विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौं भित्रिने खसी,बोका, च्याङ्ग्राहरु कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि विक्री नभएको व्यपारीहरुको गुनासो छ । 




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।