आज कुकुर तिहार

Oct 31, 2024 06:36 AM Merolagani



आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
 

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
 

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

तिहारको दोस्रो दिन आज कुकुर तिहार र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ ।

तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीकामा सरकारी विदा समेत दिने गरेको छ । 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।