धितोपत्र नियमन निकायहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटी कमिसनको आह्वानमा विश्व लगानीकर्ता सप्ताह–२०२४ मनाइने गरिन्छ। यसपाली पनि कार्तिक ६ गते देखि १२ गतेसम्म मनाइएको थियो।
हरेक वर्ष उक्त कार्यक्रम नेपालमा पनि मनाइने गरिन्छ। यही मेसोमा नेपालको धितोपत्रको नियामक निकाय धितोपत्र बोर्डले आफ्ना मातहतका निकायलाई उक्त अवसरमा कार्यक्रम गर्न निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा मर्चेन्ट बैंकहरुले पनि मुलुकका विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतना तथा साक्षरता कार्यक्रमको आयोजन गरे। नेपाल धितोपत्र बोर्ड,नेपाल स्टक एक्सचेन्ज,केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि),नेपाल स्टक ब्रोकर एसोसिएसन लगायतले आ आफ्नो तर्फबाट कार्यक्रम गर्न छुटाएनन्।
लगानीकर्ता सप्ताहमा मात्रै नभएर नेपालमा वर्षभरिनै लगानीकर्ता साक्षरता कार्यक्रम हुँदै आएको छ। जसमा राजधानीदेखि मोफसलका धेरै सर्वसाधारणले उक्त सचेतना तथा साक्षरता कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्। तर वर्ष भरिनै लगानीकर्ता साक्षरता कार्यक्रम आयोजना हुने गरेको भए पनि त्यस अनुसारको दोस्रो बजारमा लगानीकर्ताको सहभागिता भने बढ्न सकेको छैन। किनकि अहिले पनि प्राथमिक बजारको लागि डिम्याट खाता खोल्नेको सङ्ख्या ६४ लाख नाघे पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या २५ लाख नाघ्न सकेको छैन। जसले गर्दा अझै पनि आधा भन्दा बढी डिम्याट खाता खोल्ने सर्वसाधारण दोस्रो बजार भन्दा बाहिरै छन्। जसले गर्दा सचेतना र साक्षरता कार्यक्रमले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको पुष्टि गर्छ।
तर दोस्रो बजारमा लगानीकर्ता भित्र्याउन भन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च गर्नु पर्ने रकम सकाउने उद्देश्यले कार्यक्रम हुने भएकोले ती कार्यक्रमले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको बताइएको छ। हरेक संस्थाले सामाजिक उत्तरदायित्वको लागि निश्चित रकम छुट्याउनु पर्छ। जुन रकम धेरै संस्थाले यस्तै कार्यक्रम गरेर खर्च गर्ने गर्छन्। अर्कोतर्फ यही मेसोमा संस्थाका अगुवाहरूलाई कमाउने अवसर पनि हुने गरेको छ।“पहिलो कुरा त लगानीकर्तालाई आकर्षित नै गर्ने गरी कार्यक्रम आयोजना हुँदैन। दोस्रो कुरा सिएसआर अन्तर्गतको पैसा खर्च गर्ने उद्देश्यले कार्यक्रम हुन्छ। जसले गर्दा त्यसको नतिजा नआउने गरेको हो”धितोपत्र बजारसँग सम्बन्धित एक संस्थाका प्रमुखले मेरो लगानी सँग भने।
ती अधिकारीका अनुसार जति प्राथमिक बजारमा लगानीकर्तालाई प्रवेश गर्न सजिलो छ। त्यस अनुसार दोस्रो बजार प्रवेश गर्न सर्वसाधारणलाई सहज छैन। मुलुकका सबै जो स्थानीय तहमा बैंक वित्तीय संस्था पुगेका छन्। ती सबैजसो बैंक वित्तीय संस्थाले निक्षेप सदस्यको काम गर्छन्। जसले गर्दा जुनसुकै स्थानीय तहबाट डिम्याट खाता खोल्न सकिन्छ। जसले गर्दा डिम्याट खाता खोल्ने लगानीकर्ता बढी भएका हुन्। त्यसैगरी सबैजसो बैंक वित्तीय संस्थाले आश्वा सेवा दिएका छन्। जसले गर्दा प्राथमिक बजारमा निष्कासित शेयरमा आवेदन दिन पनि सजिलो छ। सोही कारण दोस्रो जारमा भन्दा प्राथमिक बजारमा शेयर किन्ने बढी हुने गर्छन्। तर प्राथमिक बजारमा शेयर किन्नेले शेयर बिक्री गर्नु पर्दा त्यति सहज छैन। दोस्रो बजारमा कारोबार गर्न ब्रोकर कम्पनी मार्फत टिएमएस खाता खोल्नु पर्छ। जसको लागि ब्रोकर कम्पनी वा उसको शाखा कार्यालयमा सम्पर्क गर्नु पर्ने हुन्छ। जुन सबै स्थानीय तहमा उपलब्ध छैनन्। त्यसको लागि पायक पर्ने जिल्ला वा शहर जानु पर्ने हुन्छ। त्यसले गर्दा लगानीकर्ताको प्रवेश दोस्रो बजारमा कम हुने गरेको हो।
ब्रोकर कम्पनीहरू भने दोस्रो बजारमा प्रवेश सहज बनाउन ब्रोकर प्रतिनिधिको व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्ने बताउँछन्। “धितोपत्र ऐनमा ब्रोकर प्रतिनिधिको व्यवस्था छ। तर त्यसलाई कार्यान्वयनमा लगिएको छैन। यदि त्यसलाई कार्यान्वयनमा ल्याउने हो भने अहिले गरिएको जस्तो सचेतना कार्यक्रममा खर्च नै गर्नु पर्दैन। त्यसैले काम गर्छ” स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले भने।