'नेपालमा भन्दा भारतमा सुन ताेलामा नै १८ हजार सस्तो छ, त्यसकारण बोर्डर साइडमा बस्ने नेपालीले भारतमा गएर गहना बनाउँछन्'

Nov 15, 2024 05:57 PM merolagani



सरकारकाे नीतिका कारण सुन व्यवसायी मर्कामा परेका छन् । सरकारले सुन आयातकाे भन्सार दर बढाइदिँदा नेपालमा भन्दा भारतमा सस्ताेमा  सुन पाइन्छ ।  जसकाकारण  सुन बजारमा कालाे बजारी देखिएकाे छ ।

व्यवसायीहरुले बजेटमा गरेकाे प्रावधान सच्याउन प्रधानमन्त्री कार्यालयसम्म हार गुहार गरे, तर अझैसम्म सुनुवाइ भएकाे छैन । यस्तै अवस्था रहि रहे व्यवसायीहरू पलाउन हुनु पर्ने बताउँछन्, सुन चाँदी व्यवसायी महासंघमा प्रथम बरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य । उनै बज्राचार्यसँग मेराेलगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् ।

अहिले सुनचाँदीको व्यापार कस्तो छ ?

अहिले बजारलाई समग्र रुपमा हेर्दा खेरि त्यति धेरै उत्साहजनक भइसकेको छैन। दिपावली भन्दा अघि बजार छँदै थिएन भन्दा पनि हुन्छ। तर दिपावलीमा बजार भए जस्तो महसुस भने भएको थियो। त्यस पछि लगत्तै बिवाहको लगन सुरु हुन लागेको छ। किनकि मंसिरमा बिवाहकाे लगन छन्। त्यस कारण सुन बजारमा पनि चहलपहल सुरु हुन्छ भन्ने आशा लिइएको छ।

तिहारमा कति जति सुन खपत भयो ?

अहिलेसम्म बजारबाट आधिकारिक रेकर्ड त आएको छैन। हाम्रो अनुमानमा ४० देखि ५० किलो सुन र एक हजार किलो चाँदी बिक्री भयो भन्ने छ।   

बैंकहरुले सुन आयात गरेका छैनन्। तर तपाईहरू बजारमा ५० किलो सुन बिक्री भयो भन्नु हुन्छ। कहाँबाट आइरहेकाे छ सुन ?

तपाईले भन्नु भएको ठिक हो। साउनदेखि सुन आयात भएको छैन। यसपाली तिहारमा भने व्यवसायीहरूले आफ्नो स्टकमा भएको सुन बिक्री गरी भ्याए। साउनमा एक सय किलो सुन बैंकले ल्याएका थिए भने तिहार अघि ३२ किलो सुन ल्याए। त्यही सुन हिजो आज बिक्री भइरहेको छ।   

भारत र नेपालमा सुनको मूल्यमा फरक छ। नेपालमा भन्दा भारतमा सुन सस्तो भएको कारण चोरी पैठारी भएर आउने क्रम बढेको छ भन्ने सुनिन्छ। त्यसमा कत्तिको सत्यता छ ?

हामीले प्रत्यक्ष रुपमा यस्तै भएको छ भनेर त भन्न मिल्दैन। तर पनि के हो भने नेपालमा खुला सिमाना छ। अर्कोतर्फ नेपालमा भन्दा भारतमा सुन प्रति तोला १८ हजार रुपैयाँ सस्तो छ। त्यसकारण बोर्डर साइडमा बस्ने नेपालीहरूले भारतमा गएर सुन चाँदीको गर गहना बनाएको अवस्था भने छ। त्यही कारण नेपाली सुनचाँदीको बजार खस्किन पुगेको छ। अर्कोतर्फ काठमाडाैंकाे हकमा भन्ने हो भने पनि एकाध व्यवसायीले त्यस्तो काम गरिरहेका छन्।

नेपालमा मुख्य सुनको काम गर्ने केही व्यवसायीले त्यस्तो काम गरिरहेको महासंघको जानकारीमा आएको छ। तर प्रत्यक्ष रुपमा कसले त्यस्तो काम गरिरहेको हो भन्ने खुल्न सकेको छैन। यसमा नेपाल सरकारले आँखा चिम्लिएर बसेका कारण यही व्यवसायलाई आफ्नो रोजी रोटी बनाउनेहरू वास्तवमै मर्कामा परेका छन्।

भारत र नेपालमा सुनको मूल्यमा एकरूपता ल्याउनको लागि कस्तो पहल गरिरहनु भएको छ ?

जब भारत सरकारले आफ्नो बजेट मार्फत भन्सार दर ६ प्रतिशतमा झारेको थियो। उनीहरूले भन्सार दर घटाएसँगै हामीले नेपाल सरकारको विभिन्न निकायमा गएर भारत र नेपालमा सुनको भन्सार दर फरक पर्‍यो। नेपालमा बढाएर २० प्रतिशत पुर्‍याइयो भने भारतमा घटाएर ६ प्रतिशत कायम गरियो। त्यसअघि नेपाल र भारत दुबैमा भन्सार दर १५ प्रतिशत थियो। त्यसले गर्दा नेपाल र भारतमा सुनको भाउ फरक हुन पुगेको छ। भन्सार दर समायोजन नगर्ने हो भने नेपाली सुन व्यवसायी विस्थापित हुन सक्ने देखिन्छ भनेर हामीले विभिन्न निकायमा निवेदन गरेका थियौ। अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा प्रधानमन्त्री कार्यालयलाई भनेपछि उहाँहरुले हामी भन्सार दर घटाउँछौ। तपाईहरूले चिन्ता लिनु पर्दैन भन्नु भएको हो। तत्कालै घट्छ भन्दाभन्दै पनि आज लगभग पाँच महिना भइसकेको अवस्था छ। भन्सार दर घटेको छैन। त्यो नघटेकै कारण बजार अस्तव्यस्त हुन पुगेको छ।

बजेट मार्फत बढाइको भन्सार दर अब कसले घटाउन सक्छ ?

कुनै पनि कानुन जुन चाहे बजेटले ल्याएको होस् अथवा अध्यादेश वा नियमित सांसदबाट आएका हुन् ती कानुन विशेष अवस्थामा नेपालको संविधान अनुसार मन्त्री परिषदले पनि फुकाउन सक्छ। मन्त्री परिषदले फुकाउने आश्वासन पाएका थियौ। त्यही अनुसार हुन्छ भन्ने भनिएको थियो तर भएको छैन।

हुन्छ भन्ने आश्वासन चाँहि कसले दिएको हो ?

आश्वासन चाँहि अर्थ मन्त्रालयले पनि दिएको छ। वाणिज्य मन्त्रालयले पनि दिएको छ। राष्ट्र बैंक र प्रधानमन्त्री कार्यालयले पनि दिएको छ।  

सुन आयात कम हुँदा कति जति राजस्व घट्यो होला ?

दैनिक २० किलोको दरले सुन आयात हुँदा करिब ९ अर्ब रुपैयाँ राजस्व आउनु पर्ने थियो। त्यो अहिले शून्य जस्तै छ। त्यो पुरै राजस्व घाटा हो। फेरि सुन आयात हुँदा आउने राजस्व त गुम्यो नै त्यसका अतिरिक्त आयात भई आएको सुनबाट गर गहना बनाएर बेच्दा व्यवसायीले इनकम ट्याक्स तिर्ने गर्थे। त्यो पनि अर्बौँको हिसाबले राज्यले पाउने गरेको थियो। त्यो पनि गुमेको अवस्था छ।

व्यवसायीले वार्षिक रूपमा कति जति इनकम ट्याक्स बुझाउँछन् ?

इनकम ट्याक्स कति बुझाउने गरेका थिए भन्ने यकिन आँकडा हामीसित हुँदैन। २५ प्रतिशतको दरले तिर्नु पर्ने हुन्छ। त्यस हिसाबले भन्दा वार्षिक २० अर्ब भन्दा बढी नै हुन्छ होला। तर यस आर्थिक वर्ष भने हुँदैन होला। किनकि अहिले सुन नै बिक्री भएको छैन । इनकम ट्याक्स पनि जाने कुरा भएन।

तर व्यवसायीहरूले सुन अभाव भएको जस्तो महशुस हुन दिएको जस्तो त देखिँदैन ?

हो। केही व्यवसायीले सुन बेची नै रहेका छन्। उनीहरूले कहाँबाट ल्याए ? कसरी ल्याए ? त्यसमा सरकारले चासो दिनु पर्ने हो। तर सरकारले चासो लिएको अवस्था छैन। केही व्यवसायीले हामीले दिन मै ५ करोड १० करोडको बेच्यौ भनिरहेका हुन्छन्।

यता औपचारिक रुपमा एक सय रुपैयाँकाे पनि सुन आएको छैन। तर उनीहरू करोडौँको सुन बिक्री गरिरहेको कुरा गर्छन्। त्यो कसरी बेचिरहेका हुन् भन्ने विषय अब गोप्य छैन।  

दैनिक पाँच सात करोडको सुन बेच्नेहरूले इनकम ट्याक्स बुझाउँछन् कि बुझाउँदैनन् ?

उनीहरूले तिर्छन् कि तिर्दैनन् भन्ने कुरा हामीलाई थाहा हुने कुरा भएन। त्यो कुरा नेपाल सरकार राजस्व अनुसन्धान विभाग थाहा हुनु पर्ने कुरा हो। उहाँहरुले अनुसन्धान गर्नु भएकै होला। यदि अनुसन्धानमा इनकम ट्याक्स नै तिरेको भए तिमीले कुन सुन बेच्यौ ? भन्ने प्रश्न ती व्यवसायीलाई सरकारले गर्नु पर्ने थियो। त्यो भइरहेको छैन। त्यस विषयमा दु:ख लागेको छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।