बाँकी तीन वटा कम्पनीले पनि आइपीओबाट संकलन गरेको प्रिमियम रकमलाई बोनस शेयर दिएर नै चुक्ता पुँजी पुर्याउन सक्ने क्षमता भने छ । चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानीको आधारमा ४ कम्पनीमध्ये सबैभन्दा धेरै आम्दानी रिलायवल नेपाल लाइफको देखिएको छ । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ भने सन नेपाल लाइफको १६ रुपैयाँ ७६ पैसा, सिटिजन लाइफको १३ रुपैयाँ ९ पैसा र आइएमई लाइफको ११ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको समय सीमा एक वर्ष अगाडि नै बितिसकेको भए पनि प्रिमियममा आइपीओ निष्काशन गरेका जीवन बीमा कम्पनीहरुले अझै पनि चुक्ता पुँजी पुर्याउन सकेका छैनन । रिलायवल नेपाल लाइफलाई अझै ३६ करोड रुपैयाँ, सन नेपाल लाइफलाई १ सय ३ करोड ८४ लाख रुपैयाँ र सिटिजन लाइफलाई १ सय ६ करोड ७५ लाख रुपैयाँ अपुग छ । सम्भवत तीन वटै कम्पनीले बोनस शेयर दिएर नै तोकिएको पुँजी पुर्याउनेछन् अपुग केही रकम भने हकप्रद शेयर समेत जारी गर्न सक्ने कम्पनीहरुले जनाएका छन् ।
चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार रिजर्भ र नेटवर्थको हिसाबले सिटिजन लाइफ नै अगाडि देखिएको छ । कम्पनीको रिजर्भमा २ अर्ब ९७ करोढ २२ लाख रुपैयाँ छ भने कम्पनीको नेटवर्थ १ सय ८० रुपैयाँ १३ पैसा प्रति शेयर छ । त्यसपछि नेटवर्थको आधारमा दोस्रोमा सन नेपाल लाइफ १ सय ६३ रुपैयाँ ८२ पैसा, तेस्रोमा रिलायवल नेपाल लाइफ १ सय ६२ रुपैयाँ ९९ पैसा र आइएमई लाइफ १ सय ५० रुपैयाँ ६६ पैसा रहेको छ । रिलायवल नेपाल लाइफको रिजर्भमा २ सय ७३ रुपैयाँ ४९ पैसा, सन नेपाल लाइफको रिजर्भमा २ सय ३५ रुपैयाँ ५९ पैसा र आईएमई लाइफको रिजर्भमा २ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ ।
जीवन बीमा कम्पनीमा ठूला बीमा कोषले पनि ठूलो भूमिका खेलेको हुन्छ । ठूलो बीमा कोषको लगानी क्षमता पनि ठूलै हुन्छ । ४ वटा प्रिमियममा आइपीओ निष्काशन गरेका कम्पनीहरुमा सिटिजन लाइफको बीमा कोष सबैभन्दा ठूलो देखिएको छ । कम्पनीको बीमा कोषमा १५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने दोस्रोमा रिलायवल नेपाल लाइफसँग झन्डै ११ अर्ब रुपैयाँ फन्ड छ भने आईएमईसँग १० अर्ब ८६ करोड रुपैयाँ र सन नेपाल लाइफसँग ८ अर्ब २४ करोड रुपैयाँ बीमा कोष रहेको छ ।
दीर्घकालीन लगानी गर्नमा पनि सिटिजन लाइफ नै अगाडि देखिएको छ । कम्पनीले २१ अर्ब ९७ लाख रुपैयाँ विभिन्न उपकरणमा लगानी गरेकाे छ रिलायवल नेपाल र आईएमईले १७ अर्ब रुपैयाँ तथा सन नेपाल लाइफले १२ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेका छन् ।