तुलनात्मक रुपमा नेपालका लगानीकर्तालाई नाफा हुनको लागि कम्पनीको शेयर मूल्य बढ्नै पर्ने हुन्छ। शेयर मूल्य नबढेसम्म फाइदा हुँदैन। नाफा कमाउनको लागि शेयर मूल्य बढ्नै पर्ने भएपछि लगानीकर्ताहरूले आफ्नो शेयरको मूल्य जसरी पनि बढे हुन्थ्यो भन्ठान्छन्। जुन स्वाभाविक पनि हो। नाफा हुनको लागि शेयर मूल्य बढ्नै पर्ने भएपछि एक थरी लगानीकर्ता शेयर किनेर बढ्ने आशमा बस्ने गर्छन्। तर एक थरी लगानीकर्ताहरूको समूह यस्तो पनि छ,जो शेयर मूल्य बढ्छ भनेर पर्खँदैनन्। उनीहरू आफूले नै शेयरको मूल्य बढाउने कोसिस गर्छन्। जुन कोसिसमा धेरै जसो सफल हुने गरेको एक ब्रोकर कम्पनीका कर्मचारी बताउँछन्।
उनका अनुसार अहिले दोस्रो बजारमा दुई थरी लगानीकर्ता छन्। जसमा एक थरी लगानीकर्ता शेयर किनेर बढ्ने आशमा बस्छन् भने अर्का थरी लगानीकर्ता आफूले किनेको शेयर बढाउने कोसिस गर्छन्। आफैले शेयर किनेर उनीहरूले शेयरको मूल्य बढाउने गर्छन्। जसको लागि उनीहरूले ‘शेयर पार्किङ’ गर्ने विधि अपनाउँछन्। अहिले दोस्रो बजारका केही ब्रोकर कम्पनीले यस्तो विधिलाई ‘शेयर पार्किङ ट्रेन्ड’ भन्ने गरेका छन्। त्यही विधि मार्फत शेयर मूल्य बढाउने गरिन्छ।
‘शेयर पार्किङ ट्रेन्ड’ भनेको के हो ?
‘शेयर पार्किङ ट्रेन्ड’ भनेको आफूले मात्रै शेयर किनेर मूल्य बढाउने विधि हो। दोस्रो बजारमा केही निश्चित अपरेटरहरूले शेयर मूल्य बढाउने गरेको सर्वविदित नै छ। अन्तिम मिनेटमा सर्किट लगाएर हुन्छ वा अधिक बाइङ देखाएर मूल्य बढाउँदै लैजाने गरिएको त सबैले जानेकै विषय हो। तर त्यसका अतिरिक्त आफैले मात्रै शेयर किनेर मूल्य बढाउने तरिका भने नयाँ देखिन थालेको छ। जसलाई ‘शेयर पार्किङ ट्रेन्ड’ भनिन्छ।
कसरी हुन्छ ‘शेयर पार्किङ’ ?
‘शेयर पार्किङ’ को लागि कुनै एक अपरेटरले कुनै एक कम्पनीको शेयर छान्ने गर्छ। कुनै कम्पनीको शेयर छान्दा भरसक कम चुक्ता पूँजी भएको शेयर छानिन्छ। किनकि त्यसलाई चलाउन कम पैसा लागोस् भन्ने उद्देश्य हुन्छ। बजेट र कम्पनी फाइनल भएपछि काम सुरु हुन्छ। अपरेटरहरूले शेयर पार्किङको लागि धेरै ओटा ब्रोकर कम्पनीमा खाता खोलेका हुन्छन्। उनीहरूले आज एउटा ब्रोकर बाट शेयर किन्न सुरु गर्छन्। उक्त शेयर खातामा आएपछि त्यही शेयर पुन मूल्य बढाएर अर्को ब्रोकर कम्पनीबाट खरिद गर्ने गर्छन्। पहिले जुन ब्रोकर कम्पनीबाट शेयर किनेको हो त्यसको राफसाफ हुन्छ। बढेको मूल्यमा बेचेको भएर पहिलो पटक शेयर किनेको हिसाब पुरै क्लियर हुन्छ। त्यस पछि यही क्रममा शेयरको मूल्य बढ्दै जान्छ। शेयरको मूल्य बढ्दै गएपछि आम सर्वसाधारणको नजरमा पर्न थाल्छ। लगातार शेयर मूल्य बढ्दै गएपछि आम सर्वसाधारण पनि लोभिन थाल्छन्। निश्चित प्रतिशत नाफा आएपछि र आम सर्वसाधारणले समेत चासो दिन थालेपछि बढेको मूल्यमा सबै शेयर सल्टाएर अपरेटर सो कम्पनीबाट बिदा हुन्छन्।
किन धेरै ब्रोकर कम्पनी प्रयोग गरिन्छ ?
आम सर्वसाधारणलाई झुक्काउन धेरै ब्रोकर प्रयोग गर्ने गरिएको हो। शेयर बजारमा एक थरी लगानीकर्ता फ्लोर सिट हेरेर कारोबार गर्ने गर्छन्। एउटै ब्रोकर कम्पनीबाट शेयर किनिरहेको देख्दा लगानीकर्ताले कसैले शेयर बढाउन खोजेको रहेछ भनेर संङ्का गर्न थाल्छन्। त्यसमा फसिने डरले उनीहरूले शेयर किन्दैनन्। तर शेयरको मूल्य बढ्दै गर्दा शेयर किन्ने ब्रोकर समेत फरक पर्दै गए प्राकृतिक रुपमा नै शेयरको मूल्य बढ्दै गएको अनुभूति लगानीकर्तामा हुने गर्छ। जसको फाइदा उठाउनु नै उनीहरूको मुख्य उद्देश्य हुन्छ।
धेरै ब्रोकर कम्पनी चलाउनुको अर्को मुख्य कारण भनेको एउटै ब्रोकरमा आर्थिक भार नपार्नु हो भने अर्को भनेको ब्रोकर कम्पनीले दिने बढी भन्दा बढी उधारो चलाउनको लागि हो। कुनै एक ब्रोकरले धेरैमा हप्ता दिन वा कसैले १५ दिनसम्म उधारो दिने गरेका छन्। त्यसैले पनि धेरै ब्रोकर प्रयोग गर्ने गरिन्छ।
अपरेटर एक हुन्छ कि धेरै हुन्छन् ?
अपरेटर एक नै हुन्छ। तर त्यसमा साथ दिने भने धेरै हुन्छन्। अहिले एक्लैले शेयर चलाउने काम निक्कै कम हुन्छ। समूहमा चलाउँदा धेरै जनाको संलग्नता हुन्छ भने जोखिम बाँडिन्छ। धेरै जनाको पैसा र इफोट बिना कम्पनीको शेयर मूल्य बढाउन सम्भव हुँदैन।
उनीहरूलाई ब्रोकर कम्पनीले किन उधारो पत्याएका र साथ दिँदै आएका हुन् ?
पछिल्लो समय ब्रोकर कम्पनीको सङ्ख्या ९० पुगेको छ। तर कारोबार बढ्न सकेको छैन। व्यवसाय धान्नको लागि पनि कुनै पनि हालतमा ब्रोकर कम्पनीले शेयर कारोबार गर्नै पर्ने हुन्छ। अर्को तर्फ कारोबार राफसाफको लागि ब्रोकर कम्पनीहरूलाई बैंक वित्तीय संस्थाले सहयोग गर्ने गर्छन्। खासगरी क्लियरिङ बैंकले ब्रोकर कम्पनीलाई राफसाफ गर्न ऋण दिन्छन्। जसले गर्दा निश्चित दिनलाई उधारो दिँदा ब्रोकर कम्पनीलाई नोक्सान हुँदैन। बरु बढी कारोबार गर्दा ब्रोकरेज आउने गर्छ। जुन ऋणको व्याज भन्दा ब्रोकरेज मुनाफा दायक हुन्छ। जसले गर्दा ब्रोकर कम्पनीले उनीहरूलाई लिबरेज दिने गरेका हुन्।
पछिल्लो समय नयाँ आएका ब्रोकर यसमा बढी प्रयोग हुँदै आएका छन्। किनकि उनीहरूलाई बढी व्यवसाय चाहिएको छ भने बजारमा टिक्नै पर्ने बाध्यता छ। जसले गर्दा उनीहरूले साथ दिएका हुन्।
यस्तो प्रवृत्तिले भविष्यमा कस्तो असर गर्ला
जसरी अहिले सहकारीको काण्ड आएको छ। त्यसैगरी आउने दिनमा यस्तै प्रवृत्ति थप मौलाउँदै गए भविष्यमा शेयर काण्ड आउन सक्ने अनुमान धेरैले गरिरहेका छन्। त्यसबेला धेरै आम सर्वसाधारणको पैसा डुब्ने छ भने केही मानिसहरू सरकारको नजरमा आउने अनुमान गर्न थालिएको छ। तर यो क्रम कति हदसम्म माथि जान्छ। त्यसैले भविष्य निर्धारण गर्ने छ।