"मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि १५ गते सम्मको समय छ", राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट्ले भने "यो साता समीक्षा आउने सम्भावना छैन।" उनका अनुसार राष्ट्र बैंकले आगामी साता मात्रै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी भने थालिसकेको छ। पहिलो तीन महिनाको तथ्याँक आउने वित्तिकै मौद्रिक नीतिको समीक्षाको तयारी थालिएको हो।
पहिलो तीन महिनाको तथ्याँकले राष्ट्र बैंकलाई नीतिगत लचकता अपनाउन अझै स्पेस दिएको छ। बाह्य क्षेत्र निकै मजबुद देखिएको छ। तर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले कुनै ठूला नीतिगत परिवर्तन नगर्ने देखिएको छ। तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले अहिले आफ्नो नीतिहरुलाई यथावत नै राख्ने बुझिएको छ।
मौद्रिक नीतिको पहिलो समीक्षामा पनि व्यवसायीदेखि शेयर बजारका लगानीकर्ताहरुले समेत केहि नीतिगत परिवर्तन खोजिरहेका छन्। तर राष्ट्र बैंकले पहिलो समीक्षामा भने ठूलो परिवर्तन नगर्ने देखिएको छ। मौद्रिक नीतिमा नै केन्द्रीय बैंकले स्पेस रहेसम्मको लचकता अपनाएको थियो। यसले गर्दा पनि त्यसको प्रभावकारीता हेरेर मात्रै दोस्रो वा तेस्रो त्रैमासिक समीक्षामा केहि नीतिगत परिवर्तन हुन सक्ने बुझिएको छ।
यस अघिका वर्षहरुमा पनि केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षामा मौद्रिक नीतिमा लिएका नीतिगत व्यवस्थालाई यथावत नै राख्ने गरेको छ। पहिलो त्रैमासिक समीक्षमा मौद्रिक नीतिमा लिइएका व्यवस्थाहरु कत्तिकाे प्रभावकारी भए भन्ने विषयमा मात्रै समीक्षा गर्ने गरेको छ।