गत साता सुनको भाउमा इतिहासकै ठुलो गिरावट,सातामा १४ हजार ६ सय रुपैयाँले घट्दा बजारमा सुनको अभाव

Nov 30, 2024 06:37 AM Merolagani



गत साता सुनको भाउमा ऐतिहासिक गिरावट देखिएको छ। गत साता सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँले घटेको छ। यो सातामा भएको सुनको भाउको हालसम्मकै उच्च गिरावट हो।

अघिल्लो साताको शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा झरेको छ।

सरकारले सुन आयातमा लाग्ने भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउमा उच्च गिरावट देखिएको हो। भन्सार घट्दा सुनको भाउ प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको थियो।

अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा समेत सुनको भाउ निरन्तर घट्दो क्रममा रहेकोले नेपालमा सुनको भाउ घट्दै गएको देखिन्छ।

यता चाँदीको भाउ पनि प्रतितोला ९५ रुपैयाँले घटेको छ। अघिल्लो साताको शुक्रबारसम्ममा १ हजार ९४० रुपैयाँ रहेको चाँदीको भाउ गत शुक्रबार घटेर १ हजार ८४५ रुपैयाँमा झरेको छ।

सरकारले चाँदी आयातमा लाग्ने भन्सार शुल्क समेत १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।सोही कारण चाँदीको भाउ घटेको हो।

गत साता सुन र चाँदीको भाउ घटे पनि बजारमा सुनको आपुर्ति भने निकै कम रह्यो। भाउ घटेपछि बजारमा सुनको अभाव नै हुन पुग्यो। सुन व्यवसायीले ग्राहकको अर्डर नै लिन छोडेको अवस्था थियो।

अहिले पनि व्यवसायीहरुले तोलामा ५ हजारसम्म महँगो तिरेर सुन खरिद गर्नुपरेको अवस्था छ।