त्यसपछि बल्ल कुन पार्टीले कति सिट जिते र मतको अवस्था के भयो भन्ने स्पष्ट हुनेछ ।
केही वाहेक अधिकाँश स्थानको मत परिणाम सार्वजनिक भैसक्दा राजनीतिकरुपमा केही स्पष्ट सन्देशहरु प्रवाहित भएका छन् । त्यसमध्ये पहिलो सन्देश हो—‘नयाँ’ भनिएकाहरुले जति जोडबल गरे पनि जनता अझै पनि ‘पुराना’ भनिएका कांग्रेस, एमाले र माओवादीको विकल्प खोज्ने पक्षमा छैनन् । ०८४को आम निर्वाचनमा पनि मुख्य जित हार यिनै पार्टीहरुबीच हुनेछ । कांग्रेसले हारे, एमाले वा माओवादीले जित्ने, एमालेले हारे कांग्रेस वा माओवादीले जित्ने र माओवादीले हारे एमाले वा कांग्रेसले जित्ने । केही ठाउँमा अरु पार्टी र स्वतन्त्र उम्मेद्वारले छिर्के हान्न सक्छन तर राजनीतिलाई नै अर्कै दिशामा बदल्ने गरि परिणाम बदल्न सक्दैनन् ।
गत आम निर्वाचनमा अनपेक्षित परिणाम ल्याएर राष्ट्रिय राजनीतिमा सनसनी मच्चाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डौको एउटा जिते पनि अन्यत्र आफ्नो अस्तित्वसमेत देखाउन सकेन । झण्डै २ दर्जन पालिकाहरुमा त रास्वपा उम्मेद्वारहरुको जमानत नै जफ्त भयो ।
त्यस्तै अवस्था सिके राउत नेतृत्वको जनमत पार्टीको रह्यो । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो पार्टी रहेको जनमतले एउटा वडा पनि जित्न सकेन, उस्ले उम्मेद्वारी दिएका अधिकांश वडामा जमानत जफ्त भयो । बरु राउतसंग ‘जन्मजात दुस्मन’ रहेका उपेन्द्र यादवको जनता समाजवादी पार्टीले २ वटा वडा अध्यक्ष जितेर मधेशको राजनीतिमा आफ्नो अस्तित्वलाई स्पष्टसंग देखाउन सफल भयो । नेकपा समाजवादी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एउटा एउटा वडा अध्यक्ष जितेर आफ्नो बीउ जोगाए पनि अबको चुनावमा उनीहरुलाई पनि सजिलो छैन । नेमकिपाको भक्तपुरको गढ भत्काउन अरु पार्टीलाई सजिलो छैन भने अन्यत्र वडास्तरमा केही ठाउँ जिते पनि त्यहाँभन्दा माथिल्ला पदहरु जित्न सहज छैन ।
त्यसमाथि माधव नेपाल नेतृत्वको नेकपा समाजवादीलाई नेमकिपालाई पनि भन्दा जटिल हुने देखिएको छ । किनकी उस्को कुनै पनि ठाउँ गढ भन्ने अवस्था छैन ।
राजनीतिक पार्टीहरुसंग जनता विरक्तिएका छन्, त्यसैले अबको निर्वाचनमा स्वतन्त्रहरुले जित्छन् भन्ने विश्लेषणलाई यो उपचुनावले खारेज गरिदिएको छ । यो पङित लेख्दासम्म सार्वजनिक भएका ३५ स्थानमध्ये दमकको एउटा वडा जित्नेवाहेक स्वतन्त्रहरु प्रतिस्पर्धामा समेत आउन सकेका छैनन् ।