ब्रोकर एसोसिएसनको ३० औँ साधारण सभा, अध्यक्षको भिडन्तमा को को उत्रिँदै छन् ? कसको पल्ला भारी

Dec 02, 2024 05:54 PM merolagani



स्टक ब्रोकर एसोसिएसनको ३० औँ वार्षिक साधारण सभा आउँदो मंसिर २० गते हुँदै छ। उक्त साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्दै छ।

नयाँ नेतृत्व चयन हुने भएकोले आउँदो मंसिर २० गते हुने साधारण सभा प्रति धेरैको चासो बढेको छ। नयाँ नेतृत्व चयन हुने भएकोले अध्यक्षको लागि आआफ्नो तर्फबाट क्याम्पेनिङ सुरु गरेका छन्। आइतबार मात्रै अध्यक्षका उम्मेदवार मध्येका एकले राजधानीको एक होटेलमा आफूले उम्मेदवारी दिन लागेको र त्यसमा सहयोग गर्न भन्दै एक कार्यक्रमको आयोजना गरे। भिजन सेक्युरुटिजका सञ्चालक राजकुमार तिम्सिनाले उक्त कार्यक्रम आयोजना गरेका हुन्।

सुरुवाती दिनमा तिम्सिना लगानीकर्ताका रुपमा बजारमा परिचित व्यक्ति हुन। उनले नेपाल इन्भेष्टर फोरममा बसेर काम गरेको अनुभव समेत सँगालेका छन्। तर पछिल्लो समय ब्रोकर व्यवसायमा आएपछि उनी एसोसिएसनको कमाण्ड समाल्न प्रयत्नरत छन्। यस अघिका साधारण सभामा पनि तिम्सिनाले अध्यक्षको लागि उम्मेदवारी दिएका थिए। तर उनी अध्यक्ष भने हुन सकेका छैनन्। यस पटक भने उनी जोडतोडले लागेका छन्। उनले सुरु देखि नै माहौल बनाउँदै लगेका छन्। यस पटक उनी नै अध्यक्ष हुन सक्ने सम्भावना रहेको ब्रोकर क्षेत्रमा चर्चा छ।

यसपटक तिम्सिना एक्ला उम्मेदवार भने होइनन्। नयाँ ब्रोकरहरूको संस्था धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल र स्टक ब्रोकर एसोसिएसन अफ नेपाल मर्ज भएपछि बनेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नेतृत्व लिन अरू पनि प्रतिस्पर्धामा उत्रिँदै छन्। को को अध्यक्षको भिडन्तमा उत्रिने भन्ने टुङ्गो लागि सकेको छैन। तर बजारमा भने अध्यक्षको भिडन्तमा तत्कालीन धितोपत्र ब्रोकर्स  एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालकाे पनि चर्चा छ। अर्कोतर्फ यस अघि नै ब्रोकर एसोसिएसनको अध्यक्ष भइसके पनि यसपटक पुन: अध्यक्षको लागि भिड्ने चर्चामा कालिका सेक्युरुटिजका सञ्चालक तथा ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति पनि छन् । यसैगरी आर्यतारा सेक्युरुटिजका सञ्चालक गुणनिधि तिवारीको पनि चर्चा बजारमा छ। अध्यक्षको चर्चामा रहेका अर्का व्यक्ति टंक गौतम हुन्। अहिले बजारमा आएका नाम यिनै हुन्।

तर नोमिनेशन पछि मात्र को को उत्रिने भन्ने टुङ्गो लाग्ने छ। हुन त ब्रोकर एसोसिएसनमा यस अघि आपसी सहमतिमा अध्यक्ष चयन हुने गरेको छ। यसपटक भने कोही पनि मिलेर जाने स्थिति अहिलेसम्म नबनेको एक ब्रोकरले बताए। यसपटक अध्यक्षको लागि निर्वाचन नै हुने सम्भावना बलियो बन्दै गइरहेको छ।

दोस्रो बजारमा शेयर किनबेच गर्न ब्रोकर कम्पनीको आवश्यकता पर्ने गर्छ। जसको लागि लाइसेन्स लिनु पर्छ। यस अघि नेपाल स्टक एक्सचेन्जले ब्रोकरको लाइसेन्स दिने गरेकोमा पछिल्लो समय भने नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन थालेको छ। यसअघि नेपालमा ५० ब्रोकर कम्पनी रहेकामा अहिले थपिएर ९० पुगेको छ। नेपाल धितोपत्र बोर्डले गत वर्ष मात्रै नयाँ लाइसेन्स वितरण गरेपछि ब्रोकर कम्पनीको सङ्ख्या ९० पुगेको हो। उनीहरूकै छाता सङ्गठनको रुपमा ब्रोकर एसोसिएसन स्थापित भएको हो। सोही एसोसिएसनले आउने मंसिर २० गते साधारण सभा गर्न लागेको हो। सोही सभाले नयाँ अध्यक्ष चयन गर्ने छ। अध्यक्षको कार्यकाल दुई वर्षको हुने गरेको छ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।