काेषमा कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले काेषलाई अगाडि बढाउन नयाँ नयाँ बिजनेश प्राेडक्ट ल्याउने बताएका छन् । उनै कार्कीसँग मेराेलगानीका उप सम्पादक सुवास निराैलाले काेषकाे आगामी तयारीबारे जिज्ञासा राखेका छन् ।
नागरिक लगानी काेषमा बचत तथा लगानीको अवस्था कस्तो छ ?
नागरिक लगानी कोष छुट्टै ऐन मार्फत स्थापित संस्था हो। २०४७ देखि यो कोष सक्रिय छ। नागरिक लगानी कोषले बिशेष गरि अवकाश सम्बन्धी विभिन्न योजनाहरू सञ्चालन गर्ने गर्दछ। यस योजना मार्फत हामीसित सातवटा स्किम छन्। तिनै स्किमबाट हामीले वित्तीय स्रोत सङ्कलन गर्ने गर्छौ। तिनै योजनाबाट सङ्कलित रकमको कुरा गर्ने हो भने असोज मसान्तसम्म २४२ अर्ब रुपैयाँ सङ्कलित भएको छ।
यति धेरै रकम सङ्कलन भएको त भन्नु भयो। यो रकम कुन कुन क्षेत्रमा कसरी परिचालन गरिएको छ ?
नागरिक लगानी कोषले सङ्कलन गरेको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको छ। हामीले सङ्कलन गरेको ५० प्रतिशत रकम अहिले विभिन्न वाणिज्य बैंकमा निक्षेपको रुपमा राखिएको छ। यो हाम्रो लागि चुनौतीको विषय पनि हो। अर्को हाम्रो सबैभन्दा धेरै लगानी भएको दोस्रो क्षेत्र भनेको हाम्रो कोषमा नै सहभागिता जनाउनेलाई सापटीको रुपमा दिएका छौ। हामीले तेस्रो ठुलो लगानी कर्पोरेट डिबेन्चरमा गरेका छौ। अर्को हामीले धेरै लगानी गरेको क्षेत्र भनेको सङ्गठित संस्थाको धितोपत्रमा पनि गरेका छौ। यी सबै क्षेत्रमा असोज मसान्तसम्म २५० अर्ब रुपैयाँ लगानी गरिएको अवस्था छ।
५० प्रतिशत रकम बैंक निक्षेपमा छ भन्नु भयो। तर पछिल्लो समय ब्याजदर घट्दो अवस्थामा छ। त्यसले आम्दानीमा फरक पारेको छ ?
पक्कै पनि पारेको छ। केही पैसा धेरै अघि नै राखिएकोले गर्दा त्यसमा खासै फरक परेको छैन। तर अहिले सङ्कलित रकम राख्ने बेलामा भने प्रभाव परेकै छ। आफैले रोजेर बैंकमा पैसा राख्दैनौ। हामी बोल कबोल गर्ने गर्छौ। जसले बढी व्याज कबुल गर्छ। उसैलाई हामीले पैसा दिने गरेका छौ। तर अहिले तरलता अत्यधिक भएकोले वाणिज्य बैंकहरुले बढी व्याज दिन सकिरहेका छैनन्। लगानीको रिटर्नको हिसाबले हेर्दा त्यसले पक्कै पनि नकारात्मक असर पारिरहेको छ। तर त्यसलाई पनि व्यवस्थापन गर्दै लगिरहेका छौ।
कोषले धेरैमा कति प्रतिशतसम्म र अहिले कति प्रतिशतसम्ममा पैसा राखिरहेको छ ?
मेरो अनुमानमा अलि अघि ११/१२ प्रतिशतसम्म राखिएको थियो। पछिल्लो वर्षहरूमा ७/८ प्रतिशतसम्म थियो। अहिलेको अवस्थामा त तुलना नै गर्न नमिल्ने अवस्था छ। अहिलेको अवस्थामा भने तीन प्रतिशतसम्म कबोल गर्नेलाई पैसा दिएको अवस्था हो। हामीले ट्रेजरी बिल्स,विकास ऋणपत्रमा पनि लगानी गरेका छौ। त्यसले पनि कोषलाई अलिकति भरथेग गरेको छ।
कोषले असाध्यै धेरै पैसा सङ्कलन गर्छ। तर धेरैजसो पैसा व्याजमा नै राखेको अवस्था छ। जसले ब्याजदर तलमाथि हुने बित्तिकै नाफामा पनि हिट गर्ने गरेको अवस्थालाई हेर्दा अन्य क्षेत्रमा पनि लगानी बढाउनु पर्ने अवस्थाको बारेमा कोषको योजन छैन ?
यसलाई हामीले दुई तरिकाले हेर्नु पर्छ। सबैभन्दा पहिले त हाम्रो लिगल फ्रेमवर्कले के भन्छ भन्ने कुरा हेर्नु पर्यो। हाम्रा कानुनी प्रबन्ध कस्ता छन्। अर्कोतिर हामीले कुन कुन क्षेत्रमा लगानी गर्न मिल्छ भन्ने कुरा हाम्रो मूल ऐनले नै पनि निर्देश गरेको छ। त्यही अनुसार ट्रेडिसनल रुपमा त्यही अनुसार नै लगानी हुँदै आएको छ। त्यसकारण अब यसलाई परिवर्तन गर्नै पर्ने अवस्था भने आइसकेको छ। यो हाम्रो लागि चुनौती पनि हो। त्यसकारण हामीले लगानी विविधीकरण नगरीकन टिक्न पनि गाह्राे छ। त्यसकारण निश्चित रुपमा हामीले लगानी विविधीकरणका योजना बनाएका छौ। त्यसमा के के कम लगानी गर्ने भन्ने प्रश्न हुन सक्छ। हामीले पुरै पूर्वाधारको क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन। त्यसको लागि हामीलाई कानुनले पनि दिँदैन। त्यसकारण पूर्वाधार क्षेत्रमा हामी जलविद्युत कम्पनीहरूमा लगानी बढाउने योजनामा छौ। त्यसको लागि हामीले केही जलविद्युत कम्पनीसँग कुरा पनि गरिसकेका छौ। फेरि यसो भन्दै गर्दा कोषले नै लिड गरेर कुनै जलविद्युत कम्पनी भने निर्माण गर्ने छैन। हामी वाणिज्य बैंकहरुले लिड गरेको बैंकमा लगानी गर्ने छौ। त्यसमा पनि पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा हाम्रो लगानी हुन्छ। त्यस अन्तर्गत जुन जलविद्युत क्षेत्रमा सरकारको पनि लगानी छ। त्यसमा बढी हाम्रो जोड हुन्छ।
यो त भयो जलविद्युत क्षेत्रमा लगानी बढाउने कुरा। अर्कोमा नागरिक लगानी कोष स्थापना हुनुको मुख्य उद्देश्य भनेको पूँजी बजारको विकासको लागि पनि हो। हाम्रो मात्रै जोड बलले पूँजी बजारको विकास त हुँदैन। तर विकासको लागि केही न केही योगदान चाहिँ कोषले गर्नु पर्छ भन्ने हो। त्यस कारण हामीले त्यस क्षेत्रमा पनि लगानी बढाउने सोचाइ बनाएका छौ। त्यसमा हामी ऋणपत्रको खरिद बिक्री बढाउने योजनामा छौ। त्यसपछि हामीले आफ्नै ढङ्गले दोस्रो बजारमा पनि कारोबार गर्दै आइरहेका छौ। अर्कोतर्फ हामीले कुनै पनि कम्पनीको संस्थापक शेयरमा लगानी गर्दै आइरहेका छौ। अझै त्यसमा लगानी बढाउनु पर्छ भन्ने हाम्रो सोच छ।
अर्को हामीले नागरिक स्टक डिलर भन्ने कम्पनी खोलेका छौ। जुन कम्पनी दुई सय ५० करोडको छ। अहिले बढेर दुई सय ७१ करोड पुगेको छ। त्यसले मात्रै नपुग्ने भयो भनेर हामीले थप पैसा दिने गरी प्रबन्ध मिलाउँदै छौ। हाम्रो इक्युटिको पैसाले मात्रै कति कारोबार गर्न सकिन्छ र ? त्यसले गर्दा थप पैसा दिनको लागि हामीले बाटो खोल्दै छौ। त्यसकारण हामीले डिलरहरूलाई फण्ड बढाउन कर्जाको रुपमा दियौ भने त्यसले थप सपोर्ट गर्न सक्छ भन्ने हाम्रो योजना छ। एकातर्फ हाम्रो लगानीको विविधीकरण पनि हुने। दोस्रो कुरा आफूले स्थापना गरेको कम्पनीलाई सहज रुपमा रिसोर्सेस भएपछि त्यसको भूमिका पनि बढ्छ भन्ने हाम्रो अनुमान छ।
तपाइले भन्नु भयो कि नागरिक स्टक डिलरलाई रिसोर्स उपलब्ध गराउने योजना बनिरहेको छ। त्यो नागरिक डिलरको हकमा मात्रै हुन्छ कि अरू डिलरले पनि पाउँछन् ?
हाम्रो सोचाइमा नागरिक स्टक डिलर मात्रै छैन। फेरि बजारमा आफ्नो मात्रै कम्पनीलाई सहयोग गरेको जस्तो देखिन्छ। हामीले त्यो विण्डो खोल्दा सेबोनबाट लाइसेन्स प्राप्त स्टक डिलर सबै कम्पनीले पाउने छन्। फेरि यसलाई राम्रोसँग बुझौँ है। मैले स्टक डिलर मात्रै भरिरहेको छु। फेरि अरू ब्रोकरेज कम्पनीहरूका कुरा आउन सक्छन्। उनीहरूको लागि भने होइन।
रिसोर्सेस उपलब्ध गराउँदा कुन मोडालिटिमा कति दिने भन्ने केही बनेको छ ?
त्यसमा हामी वर्क आउट गर्दै छौ। किनभने त्यो हाम्रो लागि नयाँ प्रडक्ट हो। त्यसले गर्दा हामी त्यसमा वर्क आउट गर्दै छौ।
अन्तिममा हामीले के जान्न चाह्यौ भने कोषले ऋण लगानी गरेको नेपाल एयरलाइन्स र तामाकोसी जस्ता कम्पनीबाट फाइदा पनि भइरहेको छ कि छैन ?
एनएसीमा नेपाल सरकारको ग्यारेन्टीमा कोषले लगानी गरेको हो। वास्तवमा हामीले रिपेमेन्ट समयमा नपाएकै अवस्था हो। जुन पेमेन्टको सेड्युल बनेको छ। त्यस अनुसार पेमेन्ट गर्न सकेको अवस्था छैन। म आएपछि प्रति क्वाटर १० करोडको दरले पैसा पठाउनु भएको छ। तर ऋण अनुसार त्यो पैसा निक्कै कम हो। तामाकोसीको हकमा भने उसले आफ्नो प्रडक्ट बिक्री गर्न थालेपछि उसले राम्रो पे व्याक गरिरहेको छ। अहिले भने बाढीले समस्या पारेको छ। त्यसले गर्दा आउने क्वाटरमा पैसा आउन समस्या होला जस्तो देखिन्छ। तर फेरि सुचारु भएपछि भने त्यो अवस्था आउँदैन भन्ने हाम्रो अनुमान छ।