त्यो पनि बोलेर होइन, निर्णय गरेरै । चीनले ट्रम्पलाई दिएको पछिल्लो ‘जवाफ’ले अमेरिकाका मोवाइल र कम्युटर निर्माता कम्पनीहरुलाई मात्रै थपिदिएको छैन, विश्वव्यापीरुपमा ती समानहरुको उत्पादन सृंखला खल्बलाउन सक्ने आशंका गरिएको छ ।
चीनले गालियम, जर्मेनियम र एण्टिमोनीको निर्यातमा पूर्णरुपमा रोक लगाएको घोषणा गरेको छ । यी तिनवटै धातु कम्युटर, ल्यापटप लगायतका विद्युतीय समानहरुको उत्पादनमा अनिवार्य मानिन्छन् । यी धातुहरुको सबैभन्दा ठूलो उत्पादक चीन हो भने खरिदकर्ता अमेरिका हो । अमेरिकाका सरकारीदेखि निजी क्षेत्रका कम्पनीहरु समेत ती धातुको लागि चीनमै निर्भर रहेका छन् ।
‘ती धातु आयात गर्न नपाए अमेरिकाको प्रविधि विकास ठप्प हुन सक्छ, किनकी अहिलेसम्म ती तीन धातुको विकल्प देखिएको छैन भने अर्काेतर्फ अरु देशबाट आयात गरेर पूर्ति गर्ने सम्भावना तत्कालको लागि देखिदैन । त्यसैले चीनको यो निर्णयले अमेरिकाको प्रविधि उद्योगलाई नराम्ररी धक्का दिएको छ,’ प्रविधि क्षेत्रका अमेरिकी उद्योगीहरुको चिन्ता भन्दै अमेरिकी आर्थिक पत्रिका व्लुमवर्गले लेखेको छ ।
‘युनाइटेड स्टेट जियोलोजिकल सर्भे’ कार्यालयका अनुसार चीनको पछिल्लो निर्णयले तत्कालको लागि ३ अर्ब डलरको नोक्सानी हुने देखिएको छ । तर, ती धातु र तिनीहरुबाट बन्ने चीपहरुको अभावमा अमेरिकी प्रविधि क्षेत्रमा दीर्घकालीनरुपमा पर्न सक्ने असरको भने अनुमान गर्न नसकिने उक्त कार्यालयले जनाएको छ । ती धातुको अभावमा अमेरिकाको प्रविधि क्षेत्रको विकास नै अवरुद्ध हुने भएकोले सरकारले चीनसँग कुरा गरेर तत्काल सहज आपूर्तिको लागि पहल गर्नु पर्ने आवाज अमेरिकी प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरुले उठाइरहेका छन् ।
चिनियाँ समानमाथि अतिरिक्त १० प्रतिशत कर लगाउने अमेरिकाका निर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा र त्यसको काउण्टरमा चीनले गरेको पछिल्लो निर्णयले अमेरिका चीन व्यापार युद्ध चर्कने र त्यसले विश्वको आर्थिक तथा राजनीतिक क्षेत्रमा थप तनाव सृजना हुनसक्ने आशंका गरिएको छ ।