पुराना ब्रोकर कम्पनी पूँजी पुर्‍याउन नसक्ने अवस्थामा, समय थप गर्न लबिङ गर्दै

Dec 10, 2024 06:40 AM merolagani



सुवास निरौला

ब्रोकर कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसक्ने आस्था आएको भन्दै समय बढाउन लबिङ सुरु गरेका छन्। उनीहरूले नेपाल धितोपत्र बोर्डलाई तोकिएको समयाअबधि बढाइदिन लबिङ गरिरहेका छन्।

ब्रोकर कम्पनीहरूले आउने तीन वर्षसम्म समय बढाउनु पर्ने वा गाभ्ने गाभिनको लागि चाहिने पर्याप्त नियम बनाउन भनिरहेका छन्। अहिलेको बजारको अवस्था र चर्को प्रतिस्पर्धाका कारण ब्रोकर कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकिरहेको बताइएको छ। “पुराना ब्रोकर कम्पनीले नयाँ चुक्ता पूँजी पुर्‍याउन सक्ने अवस्था छैन। जसले गर्दा हामीले समय बढाउन माग गरिरहेका छौ। अहिलेको बजारको अवस्थामा निक्कै ठूलो प्रतिस्पर्धा छ। फेरि ब्रोकर कम्पनीले शेयर किनबेच गर्ने बाहेक अरू काम गर्न पाएका छैनन्। जसले गर्दा पूँजी अनुसार आम्दानी छैन। त्यसैले हामीले थप समयको माग गरिरहेका छौं। अर्को तर्फ धितोपत्र बोर्डले मर्जरमा जनको लागि पनि आवश्यक नियम बनाएको छैन। उक्त नियम बनाउन पनि हामीले भनिरहेका छौ,” स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नव नियुक्त अध्यक्ष सागर ढकालले मेरो लगानीसँग भने।

नयाँ खुलेका ब्रोकर कम्पनीहरूलाई समेत व्यवसाय धान्न गाह्राे भएकोले उनीहरूको लागि समेत चुक्ता पूँजी अनुसार काम थपिदिनु पर्ने समेत ब्रोकर कम्पनीहरूले माग गरिरहेका छन्। उनीहरूले एडभाइजरि सर्भिस, प्रोपाइटरि ट्रेडीङ, पोर्टफोलियो म्यानेजमेन्ट लगायत सुबिधा माग गरिरहेको बताए।  

तत्कालीन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली), २०६४ को संशोधन मार्फत नयाँ ब्रोकर कम्पनी खोल्न सक्ने र पुरानाको चुक्ता पूँजी बढाउने व्यवस्था गरिदिएका थिए। जस अनुसार ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी अब २० करोड रुपैयाँ हुनुपर्ने छ। नयाँ व्यवस्था अनुसार सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पूँजी २० करोड हुनु पर्ने भनिएको छ। त्यसैगरि पूर्ण कार्य गर्ने धितोपत्र दलालको चुक्ता पूँजी ६० करोड र धितोपत्र व्यापारी (स्टक डिलर)को चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने नियमावलीमा उल्लेख छ।

नयाँ ब्रोकर कम्पनीले यही व्यवस्था अनुसार लाइसेन्स लिएका हुन् भने पुरानाले चुक्ता पूँजी बढाएका छैनन्। नियमावलीले नै उनीहरूलाई २०८२ साल असार मसान्तसम्मको समय दिएको भएर उनीहरूले चुक्ता पूँजी नबढाएका हुन्। “तर यो नियम प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले संवत् २०८२ साल असार मसान्तभित्र अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाधा पर्ने छैन,” नियमावलीमा उल्लेख छ। जसले तोकिएको समयमा चुक्ता पूँजी पुर्‍याउन सक्दैन उनीहरूको लागि नियमावलीमा व्यवस्था गरिएको छ। पूँजी पुर्‍याउन असमर्थ हुने ब्रोकर कम्पनीले प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्ने व्यवस्था नियमावलीमा गरेको छ।  “पूँजी पुर्याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७ क. बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ,” नियमावलीमा भनिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार हाल दुई धितोपत्र व्यापारी(स्टक डिलर) सहित कुल ९३ कम्पनी अहिले सञ्चालनमा छन्। जस मध्ये धेरै जसो नयाँ छन् भने अरू पुराना हुन्।  




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।