उक्त सूचना आएको भोलिपल्ट दोस्रो बजारमा उक्त कम्पनीको शेयर मूल्यमा अपर सर्किट लाग्यो। जुन शेयर बजारको इतिहासमा नै सम्भवतः पहिलो घटना थियो। लगानीकर्ताको व्यवहार देखेर शेयर बजार कै पुराना र अनुभवी लगानीकर्ता चकित खाए भने बजार सञ्चालक र नियामकको समेत उक्त घट्नामा नजर पर्यो। भर्खरै मात्रै नियुक्ति लिएर आएका धितोपत्र बोर्डका अध्यक्षले उक्त कम्पनीको कारोबारको तथ्याङ्क उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिन नै भ्याए।
त्यति मात्रै होइन बोर्डका कर्मचारीले जुन ब्रोकर कम्पनीबाट उक्त कम्पनीको शेयर धेरै किनिएको थियो। उक्त ब्रोकर कम्पनीलाई थर्काउन समेत भ्याए। भलै उक्त विषयले कस्तो निष्कर्ष पायो बोर्डले अझै खुलासा गरेको छैन।
फेरि त्यसरी ब्रोकर कम्पनी नियामक निकायको थर्काइमा परेको भने पहिलो पटक भने होइन। बेला बेलामा बोर्डका कर्मचारीले ब्रोकर कम्पनीलाई थर्काउँदै आएको ब्रोकर कम्पनीका सञ्चालक बताउँछन्। “जब जब लो क्याप नन् फण्डामेन्टल कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा बढी बढ्ने गर्छ। तब बोर्डले हामीलाई थर्काउने गर्छ” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानी सँग भने।
उनका अनुसार धितोपत्र बोर्डका कर्मचारीले बढेका शेयरको फ्लोर सिट माग्ने। त्यसपछि यस्ता कम्पनी किन किनिदिएको भन्ने प्रश्न गर्ने। त्यति मात्रै होइन धेरै शेयर किन्ने मान्छेले आफ्नै पैसाले किनेको हो वा ब्रोकरको लिमिट चलाएको हो भन्ने अर्को प्रश्न गर्ने। लगानीकर्ताले आफ्नै पैसाले किनेको भए किन त्यस्तो कम्पनीको शेयर किन्न दिएको भनाइ हुन्छ भने लिमिटमा किनेको भए किन त्यति धेरै लिमिट दिएको भन्ने उनीहरूको तर्क हुन्छ। जबकि लिमिट दिनु पर्ने हाम्रो बाध्यता हुन्छ। दिएको लिमिट लगानीकर्ताले कुन शेयर किन्न प्रयोग गर्छ भन्ने हामीलाई थाहा हुँदैन। यस्तो अवस्थामा शेयर किन्ने लगानीकर्ता हुने गर्छन् भने हप्की हामीले खानु परिरहेको छ।
नियामक निकायले लिखित रुपमा भने कमै मात्र ब्रोकर कम्पनीलाई त्यसो गर्ने गर्छन्। बढी जसो मौखिक दबाब बढी आउने गरेको ती ब्रोकर कम्पनीका सञ्चालकले बताए।
यसरी धेरै जसो समय नियामकको हप्की खानु परेपछि ब्रोकर कम्पनी आजित हुन थालेका छन्। तर नियामकले गरेको त्यस्तो व्यवहारलाई ब्रोकर कम्पनीले नराम्रो माने पनि दोस्रो बजारको लगानीकर्ताको नजरबाट हेर्दा त्यसलाई अन्यथा मान्न सकिँदैन। किनकि लगानीकर्ताको सुरक्षा नै बोर्डले गर्नु पर्ने पहिलो काम हो। त्यसले गर्दा अर्काथरी ब्रोकर भने यस्तो अवस्थालाई सामान्य रुपमा लिने गर्छन्। बरु बोर्डले ढङ्ग नपुर्याएको तर्क उनीहरूको छ। बजारमा नन् फण्डामेन्टल कम्पनीको अपत्यारिलो वृद्धि नै रोक्ने हो भने नियामकले नीतिगत डण्डा लगाउनु पर्ने उनीहरूको तर्क छ। “त्यसरी हप्की दप्की गर्नु भन्दा नियामकले नै त्यस्ता कारोबार कम गर्ने उपाय अख्तियार गर्दा राम्रो हुन्छ। नियामक निकायले आफैले लाइसेन्स दिएका कम्पनी मार्फत कुन शेयर किन्न दिने कुन नदिने भनेर अनौपचारिक रुपमा दबाब दिनु भन्दा औपचारिक रुपमा नै नन् फण्डामेन्टल स्टकको लिक्विडिटि कम गर्ने तर्फ लाग्नु बेस हुन्छ। अन्तर्राष्ट्रिय बजारको अभ्यास नेपालमा आवश्यक भइसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा निश्चित मापदण्ड प्रयोग गरेर बढ्ने र घट्ने प्रतिशत कम बेसी गर्ने गरिन्छ। जसले गर्दा सबै कम्पनी एउटै अनुपातमा बढ्न पाउँदैनन्। कम्पनीको अवस्थालाई हेरेर एक दिनमा कति प्रतिशतसम्म बढ्न वा घट्न दिने नियम हुन्छ। त्यसले गर्दा कुनै कम्पनीको शेयर मूल्य एकै दिन २० प्रतिशत भन्दा माथिसम्म उक्लिन सक्छन् भने कोही पाँच प्रतिशत भन्दा बढी घट/बढ हुन पाउँदैनन्। नेपालमा भने जुन सुकै कम्पनी एक दिनमा १० प्रतिशत घट/बढ हुन पाउँछन्। त्यसले गर्दा लो क्याप र नन् फण्डामेन्टल कम्पनीमा चलखेल हुने गरेको हो। त्यसले गर्दा अब निश्चित मापदण्ड बनाएर सर्किटको अवस्था परिवर्तन गर्नु बेस हुन्छ,” ती ब्रोकरले भने।