अहिले बैंकहरुको कर्जाका ब्याजदर एकल अंकमा झरेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मका तथ्याँक अनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ। यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो।
अहिले बैंकहरुको औसत आधा दर ८ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो एक वर्षभन्दा अगाडिदेखि नै बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ।
ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन्। चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन। अझै कर्जाका माग बढने नदेखिएपछि बैंकहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको बैंकरहरु बताउछन्। अहिले बैंकहरु थप कर्जा विस्तार गर्न नसक्दा अन्य बैंकको कर्जा खोस्ने प्रतिस्पर्धामा समेत उत्रिएको एक बैंकरले बताए। अहिले केहि बैंकहरु अन्य बैंकको कर्जा स्वीप गरी आफ्नो कर्जा बढाउने रणनीतिमा समेत छन्।
अधिक तरलता रहेका कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन्। तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। कतिपय ग्राहकलाई त अहिले बैंकहरुले आधार दरमा नै कर्जा दिन थालेका छन्।
डेढ वर्षअघि औसत ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो तर अहिले बैंकहरुमा अधिक तरलताको कारण निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर पनि घट्दै गएको हो।
अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ। तर बजारमा कर्जाको माग छैन्। कर्जा बढाउन नसक्दा बैंकहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमा बढी भएको पैसा केन्द्रीय बैंकमा लगेर पार्किंग गर्न बाध्य छन्। जसले गर्दा बैंकहरुले निक्षेपमा तिरेको ब्याज समेत उठाउन सकेका छैनन्। यसले गर्दा बैंकहरुलाई जसरी पनि कर्जा लगानी बढाउनुपर्ने बाध्यता छ।
अहिले समग्र बैंकिङ क्षेत्रको कर्जा लगानी धेरै बढ्न सकेको छैन तर केहि बैंकहरुले भने अस्वस्थ प्रतिस्पर्धा सुरु गर्दा उनीहरुको कर्जा लगानी बढीरहेको छ।
पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्। निक्षेपको ब्याजदर घटाउँदा बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज खर्च घट्छ। जसले बैंकहरुको लागत घटाउँछ। बैंकहरुको निक्षेपको लागत घटाउँदा त्यसले आधार दर थप घटाउने छ। बैंकहरुले आधार दरमा प्रिमियम थप गरी कर्जा लगानी गर्ने भएकोले आधार दर घट्दा आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तो हुने देखिएको हो।
- नयाँ नयाँ स्किम ल्याउदा समेत कर्जा नबढेपछि खोसाखोसको अवस्था
बैंकहरुले पछिल्लो समय घरजग्गा, शेयर बजार, सवारीसाधन कर्जाहरुमा नयाँ नयाँ स्किम सार्वजनिक गरिरहेका छन्।
शेयर बजारमा केहि कर्जा लगानी बढीरहेको भए पनि अन्य क्षेत्रमा खासै कर्जा बढाउन सकेका छैनन। घरजग्गाको कारोबार नबढ्दा सो क्षेत्रमा कर्जाको माग कम नै छ।
उद्योग व्यवसायमा पनि अहिले कर्जाको माग छैन। कसैले पनि थप व्यवसाय विस्तार गर्न सक्ने अवस्था नरहेकोले कर्जा विस्तार हुन सकेको छैन। यसले गर्दा बैंकहरुले कर्जामा विभिन्न अफरहरु ल्याइरहेको भएपनि अपेक्षित रुपमा कर्जा विस्तार हुन सकेको छैन। सोहि कारण अहिले एक बैंकले अर्को बैंककै कर्जा खोस्ने रणनीतिमा लागेका छन् ।