तर बुधवार भएको फराकिलो अन्तरको वृद्धि टिक्न सकेन। बिहीबार नै सूचक ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा ओर्लियो।
पछिल्लो समय लगानीकर्ताको मनोबल उठाउने कुनै क्रियाकलाप भएन। जसले गर्दा लगानीकर्ता निराश थिए। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामा केही गर्छ भन्ने लगानीकर्ताको आस थियो। त्यसमा कुनै नीतिगत परिवर्तन नभएपछि लगानीकर्ता थप निराश भए। जसले गर्दा शेयर बजार घट्दो लयमा थियो।
तर बुधवार अर्थमन्त्री अर्थ समितिमा जाने र त्यहाँ गएर केही बोल्ने अपेक्षा लगानीकर्ताले गरेका थिए। सोही आसमा लगानीकर्ताले शेयर खरिद चाप बढाएपछि शेयर बजार बुधवार एक्कासी फराकिलो अंकले बढ्यो। तर अर्थ समितिमा अर्थ मन्त्रीले थप निराश पार्ने कुरा गरेपछि बिहीबार नै त्यसको प्रभाव शेयर तुरुन्तै परेको बताइएको छ। “लगानीकर्ता त्यसै पनि निराश थिए। अझै अर्थमन्त्रीले समितिमा गएर झन् निराश बनाउने अभिव्यक्ति दिए पछि शेयर बजार घट्यो,” शेयर बजारका एक पुराना लगानीकर्ताले भने।
अर्थमन्त्रीले समितिमा गएर अर्थतन्त्र समस्यामा रहेको र त्यसलाई कसैले पनि इन्कार गर्न नसक्ने अभिव्यक्ति दिए। अझै उनले त्यसलाई रातारात समाधान गर्न नसकिने समेत भनेपछि लगानीकर्ताको अलि अलि भएको कन्फिडेन्स समेत गुम्यो।
लगानीकर्ताले अर्थमन्त्री मार्फत ठोस योजनाहरू खोजिरहेका छन्। तर अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउने कुनै काम गर्न सकिरहेका छैनन्। जसले गर्दा शेयर बजारका मात्रै नभएर समग्र अर्थतन्त्रमा होस्टेमा हैँसे गर्ने सबै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। जसले गर्दा अर्थतन्त्रका कुनै पनि क्षेत्रले प्रगति गरिरहेका छैनन्।
गएको दुई वर्षदेखि लक्ष्य अनुसारको ऋण बिस्तार हुन सकेको छैन। जस कारण बजारमा पैसा थुप्रिएको छ। बजारमा थुप्रिएको पैसा केन्द्रीय बैंकले तानिरहेको छ। बजारमा गएर घुम्नु पर्ने पैसा उल्टो ढुकुटी तर्फ नै आउँदा त्यसले थप रकम सिर्जना गर्न सकेको छैन। उद्योग कल कारखाना ४० प्रतिशत क्षमतामा चलेका छन्। बजारमा माग छैन। जसको कारण उनीहरूले क्षमता भन्दा कम उद्योग चलाएको भनिरहेका छन्। माग सिर्जना गर्ने कुनै उपाय सरकारले लगाउन सकेको छैन। आफूले गर्नु पर्ने पूँजीगत खर्च समेत सरकारले गर्न सकेको छैन। निर्माण क्षेत्र ऋणात्मक छ। सरकारले भुक्तानी दिन सकेको छैन। यति बेला फुल फ्लेजमा चल्नु पर्ने निर्माण क्षेत्र समेत सुस्त छ। जसले गर्दा सिमेन्ट डण्डी लगायतको माग छैन। जसले गर्दा उद्योग आधा क्षमतामा चलेका हुन्।
समग्र अर्थतन्त्र नै सुस्त भएपछि आर्थिक वृद्धि पनि हुने भएन। समग्र अर्थतन्त्रको ग्रोथ असाध्यै न्यून छ। जसले गर्दा शेयर बजार मात्रै नभएर सबै क्षेत्र सुस्त हुन पुगेका हुन्। हुन त शेयर बजारले केही हदसम्म ऋण बढाउँदै लगेको छ। ऋण बिस्तारमा सबैभन्दा बढी ऋण ग्रोथ भएको सेक्टर शेयर बजार देखिएको छ। तर जति पैसा शेयर बजारमा आए पनि त्यसले सूचकलाई माथि लैजान सकिरहेको छैन। सूचक माथि जान नसक्नुको प्रमुख कारण नै लगानीकर्तामा कम हुँदै गएको मनोबल नै हो। जबसम्म लगानीकर्ताको मनोबल बढाउने खालका काम हुने छैनन्। तबसम्म शेयर बजार मात्रै नभएर अर्थतन्त्रका कुनै पनि अंगकाे ग्रोथ हुन सक्दैन।