बजाज चेतकको अहिलेसम्मकै उत्कृष्ट स्कुटर सार्वजनिक

Dec 21, 2024 11:05 AM Merolagani



अस्सी र नब्बे दशकमा भारतीय बजारमा स्कुटरको पर्याय बनेको ‘बजाज चेतक’ फेरि आफ्नो मूल घर अर्थात् ओरिजिन म्यानुफ्याक्चरिङ प्लान्टबाट पूर्ण रूपमा नयाँ अवतारमा फर्किएको छ । सन् १९७२ मा, पहिलो चेतक स्कुटर पुणेको अकुर्डीमा रहेको बजाज अटोको उत्साह प्लान्टबाट बाहिरिएको थियो।

करिब ५२ वर्षपछि कम्पनीले सोही प्लान्टबाट चेतक इलेक्ट्रिकको अहिलेसम्मकै उत्कृष्ट अवतार सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ चेतकको नाम ‘चेतक ३५ सिरिज’ राखेको छ । यो स्कुटरको प्रारम्भिक मूल्य एक लाख २० हजार भारतीय रूपैयाँ (एक्स-शोरूम, बैंगलोर)मा ताेकिएको छ।

नयाँ चेतक अघिल्लो मोडल जस्तै देखिने तर यसमा ठूलो परिवर्तन भएको कम्पनीले जनाएको छ । नयाँ चेतक इलेक्ट्रिक स्कुटरमा प्राविधिक रूपमा कैयाैं ठूला परिवर्तनहरू गरिएकाले यसलाई अहिलेसम्मकै उत्कृष्ट मोडल भएको कम्पनीको दाबी छ । यो स्कुटरमा पहिलेको भन्दा राम्रो रेन्ज, स्टाेरेज स्पेस र स्कुटर आरामदायी रहेकाे कम्पनीले जनाएकाे छ।

बजाज अटो टेक्नोलोजीका प्रबन्ध निर्देशक अब्राहम जोसेफले लन्चको क्रममा भने, "डिजानको कुरा गर्ने हो भने यो धेरै हदसम्म पहिलेको जस्तै छ। तर कम्पनीले यो स्कुटरको संरचना र ब्याट्रीको स्थितिमा सबैभन्दा ठूलो परिवर्तन गरेको छ। अघिल्लो मोडलमा ब्याट्रीलाई हेल्मेट बक्स मुनि राखिएको थियो तर नयाँ मोडलमा कम्पनीले यसलाई फ्लोर बोर्डमा राखेको छ, जसले राइडरलाई अतिरिक्त स्टाेरेज स्पेस मात्र होइन, लामो फ्लोर बोर्ड पनि दिन्छ।"

अब्राहमले थपे,"यो नयाँ स्कुटर पूर्णतया नयाँ प्लाटफर्ममा निर्माण गरिएको छ। यसमा नयाँ ब्याट्री, नयाँ कन्ट्रोल सिस्टम र नयाँ मोटर प्यानल दिइएको छ। यति मात्र होइन, कम्पनीले स्कुटरको पाङ्ग्रालाई पनि अलिकति पछाडि सारेको छ। साेहि कारण स्कुटरको साइज र स्पेसमा पहिलेको मोडलको तुलनामा ८० एमएमले लम्बाइ दिइएको छ। अहिले, याे स्कुटर ७२५ एमएम लामाे सिटका साथ आउँछ । "

ब्याट्री र रेन्ज ः

कम्पनीले नयाँ चेतकमा ३.५ किलाेवाट क्षमताको नयाँ ब्याट्री प्याक दिएको छ । जुन एक पटक चार्ज गर्दा १५३ किलोमिटर गुड्छ। तर, कम्पनीले वास्तविक संसारमा यो ब्याट्रीले कम्तीमा १२५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन सक्ने बताएको छ । ब्याट्रीलाई पूर्ण रूपमा सुरक्षित एल्युमिनियम बक्सले कभर गरिएको छ। यो ब्याट्री आईपी६७ (IP67) रेट गरिएको छ जसले सबै मौसममा राम्रो प्रदर्शन दिने कम्पनीकाे भनाइ छ।

अनबाेर्ड चार्जर:

कम्पनीले नयाँ चेतकमा ९५० वाटको अनबोर्ड चार्जरको सुविधा पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो ब्याट्री ३ घण्टामा ८० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । यसले स्कूटरलाई छिटो चार्ज मात्र नगरेर तपाईंलाई स्टाेरेज स्पेसमा सम्झौता नगर्न पनि अनुमति दिन्छ। तपाईँले यो स्कूटरलाई सामान्य घरायसी पावर सकेटमा जडान गरेर सजिलै चार्ज गर्न सक्नुहुन्छ।

यी सुविधाहरू उपलब्ध 

कम्पनीले नयाँ चेतक इलेक्ट्रिक स्कुटरमा IFT टचस्क्रिन डिस्प्ले दिएको छ । यसले इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर दुवैको रूपमा काम गर्दछ। यसमा इंटिग्रेटेड म्याप, कल एक्सेप्ट र रिजेक्ट, म्युजिक कन्ट्राेल, ब्लुटुथ जडानको सुविधा छ। यसमा कागजात स्टाेरेज, ३५ लिटरकाे बुट स्पेस, जियो फेन्सिङ, थेफ्ट अलर्ट, दुर्घटना अलर्ट, स्पीड अलर्ट आदि जस्ता सुरक्षा सुविधाहरू छन्।

भेरियन्ट र मूल्य:

कम्पनीले नयाँ चेतक ३५ सिरिज कुल दुई भेरियन्टमा ल्याएको छ । यसको बेस भेरियन्ट (3502)को प्रारम्भिक मूल्य एक लाख २० हजार भारू छ भने यसको शीर्ष भेरियन्ट (3501)को मूल्य एक लाख २७ हजार २४३ भारू (एक्स-शोरूम, बेंगलुरु) हो। दुवै भेरियन्टको आधिकारिक बुकिङ भारतमा सुरु भइसकेको छ । यो कम्पनीको आधिकारिक वेबसाइट मार्फत् बुक गर्न सकिने भारतीय संचारमाध्यमले जनाएका छन्।

एजेन्सी ।




comments powered by Disqus