काम गर्ने समयका विषयमा भारतीय उद्योगपतिहरुबीचको बहसले उठाएको प्रश्न

Jan 15, 2025 06:34 PM mero lagani



काम गर्ने घण्टा (वर्किङ आवर) कति हुनुपर्छ ? भन्ने बारेमा अहिले भारतीय उद्योगपतिहरु बीचको वहसले विश्वव्यापीरुप लिन थालेको छ ।

केही दिन अघि बलिउडकी चर्चित नायिका दिपिका पादुकोणले पनि तिखो टिप्पणीसहित यो बहसमा प्रवेश गरेपछि यसले आउँदा दिनहरुमा विश्वभर नै थप बहस र विवाद सृजना गर्ने देखिएको छ । निश्चित छ कि यो विवादको केन्द्रमा उद्योगी र मजदूरहरु भए पनि त्यसले सबै क्षेत्रका मानिसहरुलाई प्रभावित गर्नेछ ।

संयुक्त राष्ट्रसंघले सातामा ६ दिन दैनिक ८ घण्टाको समयलाई काम गर्ने घण्टा मानेको छ । त्यही आधारमा विश्वभर नै ८ घण्टालाई दैनिक कार्य समय मानिन्छ र त्यो भन्दा धेरै समय काम गरे त्यसलाई अतिरिक्त समय अर्थात ओभर टाइम मानिन्छ । साताको १ दिन विदा र ६ दिन काम गर्ने भनिए पनि कतिपय देशहरुमा साताको दुई दिन विदा दिने गरिन्छ ।

केही समय अघि भारतीय कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिले साप्ताहिक कार्यघण्टा ४८ बाट बढाएर ७० घण्टा (दैनिक करिब १२ घण्टा) पुर्याउनको लागि सरकारसँग माग गरेका थिए । त्यसको केही समयपछि अहिले भारतको अर्का प्रतिष्ठित उद्योगपति तथा लार्सन एण्ड टुब्रोका अध्यक्ष एस. एन. सुब्रमण्यमले त हप्तामा ९० घण्टा (दैनिक १५ घण्टा) कार्य अवधि तोक्नु पर्ने बताएपछि अहिले त्यसमाथि तीब्ररुपमा प्रतिकृयाहरु आइरहेका छन् । धेरैले उनीहरुको भनाईको खण्डन गरेका छन् भने कतिपयले मानिसको शरिरले सकेसम्म काम गर्न सक्ने भन्दै उनको बचाउ गरेका छन् ।

प्रसिद्ध अभिनेत्री दीपिका पादुकोणले कार्य अवधि बढाउने उद्योगपतिहरुको टिप्पणीप्रति आक्रोस व्यक्त गरेकी छन् । ‘कम्पनीका उच्च पदमा बस्नेहरुलाई कार्य घण्टाले असर नपर्ला तर कामदार, कर्मचारीको जसले मानसिक स्वास्थ्यलाई गम्भिर असर पार्छ, कामको बोझ घटाउनु पर्नेमा बढाउने बारेमा बहस सृजना गरिनु बिडम्बना हो,’ उनले लेखेकी छन् ।

हालै सार्वजनिक भएको एक भिडियोमा उद्योगपति सुब्रमण्यमले कर्मचारीहरुलाई हप्तामा ९० घण्टा काम गर्न आदेश दिएका छन् । उनले आफूले आइतबार (भारतमा साप्ताहिक विदाको दिन) पनि काम गर्ने तर सरकारी नीतिको कारण कामदार कर्मचारीलाई विदा दिन बाध्य भएको आफू दुखी भएको बताउँदै कर्मचारीले आइतबार पनि काम गरे आफू खुसी हुने बताएका छन् । उनले कामदारलाई भनेका छन्—तिमी कहिलेसम्म घरमा बसेर आफ्नी श्रीमतीको अनुहार हेर्छौ ? काम गर । काममा केन्द्रित होउ ।

उनको भनाईप्रति Shadi.com का संस्थापक अनुपम मित्तलले सामाजिक सञ्जाल ह् मा यस विषयमा टिप्पणी गर्दै लेखेका छन्—सर, यदि श्रीमान र श्रीमतीले एकअर्कालाई देख्ने छैनन् भने हामी कसरी विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश बन्छौं ?

महिन्द्रा समूहका अध्यक्ष आनन्द महिन्द्राले भने कामको घण्टामा होइन परिणाममा हेरिनु पर्ने बताएका छन् । ‘म विश्वास गर्छु कि हामीले कामको अवधि भन्दा कामको गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ । यो अठ्चालीस घण्टा, सत्तरी घण्टा वा नब्बे घण्टा काम गर्ने कुरा होइन । यो तपाईंमा निर्भर गर्दछ । १० घण्टा काम गरेर पनि संसार परिवर्तन गर्न सक्नुहुन्छ, बर्षाै काम गरेर पनि कुनै परिणाम नदिन सक्नुहुन्छ ।

श्रीमतीको अनुहार हेरेर नबस भन्ने सुब्रमण्यमको भनाईको खण्डन गर्दै उनले लेखेका छन्— मेरो एक अद्भुत श्रीमती छिन् र मलाई उनलाई हेर्न र उनीसँग समय बिताउन मन पर्छ ।

महिन्द्रको भनाईलाई समर्थन गर्दै सेरम इन्स्टिच्युटका सीईओ अदार पुनावालाले लेखेका छन्—हो आनन्द महिन्द्रा, मेरी श्रीमतीलाई लाग्छ कि म राम्रो छु, उनी आइतबार मलाई हेर्न मन पराउँछिन् । कामको गुणस्तर महत्वपूर्ण छ, काम गर्ने घण्टा होइन ।

उद्योगपति हर्ष गोयन्काले सामाजिक सन्जालमा लेखेका छन्—हप्तामा ९० घण्टा काम गर्ने ? आइतबारलाई सूर्य–ड्युटीको रूपमा नामकरण गर्नुपर्छ कि बिदाको अवधारणालाई मिथक घोषणा गर्नुपर्छ ? मलाई विश्वास छ कि कडा परिश्रम र चलाखीपूर्वक काम गर्नु सफलता प्राप्त गर्ने उत्तम तरिका हो ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।