एनएमबि बैंकले कमायो २ अर्ब नाफा, ईपीएस कति?

Jan 20, 2025 04:04 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब नाफा कमाएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २५ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।