व्यक्तिको ‘इगो’ले त त्यस्तो अवस्था निम्त्याउँछ भने देशकै ‘इगो हर्ट’ भए के होला ?
अहिले पाकिस्तान र विश्वकै सबैभन्दा धनी तथा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा विश्वासिला र ‘गभर्नमेण्ट इफिसेन्सी विभाग’का प्रमुख एलन मस्कबीच त्यस्तै ‘इगो हर्ट’को समस्याले तनाव सृजना गरेको छ । र, अमेरिका-पाकिस्तान सम्वन्धमाथि नै गम्भिर प्रश्न उठिरहेको छ ।
त्यो पनि ठूलो कारणले होइन, ट्रम्पले आफ्नै सामाजिक संजाल एक्समा लेखेको केवल एउटा शब्दका कारण ।
इंग्ल्याण्डको रोदरह्याम सहरमा १६ वर्ष मुनिका १४ सय युवतीलाई एक गिरोहले लागूऔषध खुवाएर बलात्कार गरेको घटना केही समय अघि सार्वजनिक भयो । उक्त गिरोहमा अधिकांश दक्षिण एसियालीमूलका मानिस रहेको पुष्टि भयो । त्यसमा सबैभन्दा धेरै पाकिस्तानी मूलका मानिस थिए ।
यस विषयमा मस्कले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा उक्त घटनाको निन्दा गरे । त्यसमाथि भारतीय जनता पार्टीकी राज्यसभा सांसद डा. प्रियन्का चतुर्वेदीले जवाफ लेखिन- एशियाली गिरोह होइन, पाकिस्तानी गिरोह हो । किन पूर्ण एशियाली व्यक्तिहरूले पूर्ण रूपमा दुष्ट राष्ट्रको लागि यो आरोप पाए ?
यसको उत्तरमा, एलन मस्कले थप प्रतिकृयामा ‘यस’ लेखे ।
घटना केवल यत्ति हो ।
तर पाकिस्तानले मस्कको त्यो ‘यस’ शब्दले आफ्नो देशको बेइज्यती गरेको आरोप लगाएको छ । आरोप मात्रै लगाएको छैन, मस्कले माफी नमागे परिणाम गम्भिर हुने चेतावनी पनि दिएको छ । सामान्यतया अरु विवादहरुमा एक आपसमा बाँडिएर आरोप प्रत्यारोप गर्ने पाकिस्तानका सत्तारुढ र विपक्षी पार्टीहरु यो घटनामा भने एकमुख भएका छन् र सबैले मस्कले ‘अब आइन्दा पाकिस्तानको बेइज्जत नगर्ने कसम खानु पर्ने’ बताइरहेका छन् ।
मस्कले अहिले आफ्नो इण्टरनेट कम्पनी स्टार लिंकलाई पाकिस्तानमा विस्तार गर्ने तयारी गरिरहेका छन् । त्यसको लागि पाकिस्तान सरकारसँग विभिन्न चरणमा गरेको छलफल सकारात्मकरुपमा अगाडि बढेको थियो । तर पछिल्लो विवादले उनलाई धक्का लागेको छ ।
पाकिस्तानी संसद (नेशनल एसेम्बली) को सूचना तथा प्रविधि समितिका अध्यक्ष पल्लबशा मोहम्मद जई खानले ‘अन्तराष्ट्रिय स्तरमा पाकिस्तानको बदनाम गराउनेहरु माफीका लायक नभएको बताउँदै मस्कले अब आइन्दा त्यस्तो नगर्ने प्रतिवद्धता नजनाएसम्म उनीसंग कुनै व्यवसायिक सम्वन्ध गाँस्न नहुने पक्षमा अधिकाँश सांसद रहेको’ बताएका छन् । ‘पाकिस्तान र पाकिस्तानीहरुले आफ्नो बेइज्जती कहिलेसम्म सहने ?’ उनले प्रश्न गरेका छन् ।