अमेरिकामा बैंकलाई इतिहासकै ठूलो कारवाही, नेपाली बैंकलाई पाठ

Oct 14, 2026 01:37 PM Merolagani



अमेरिकाको दोस्रो ठूलो बैंक, बैंक अफ अमेरिका माथि वित्तीय अपराध रोक्ने प्रणालीमा गम्भीर कमजोरी गरेको भन्दै नियामकहरूले १ अर्ब २१ करोड डलरभन्दा बढीको कारबाही गरेका छन्।

बैंकले पाँच अर्ब डलरभन्दा बढीका शंकास्पद कारोबार समयमै पहिचान गरी सम्बन्धित सरकारी निकायलाई जानकारी गराउन नसकेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अक्टोबर १३ मा घोषणा गरिएको यो कारबाहीको सबैभन्दा महत्त्वपूर्ण पक्ष जरिवानाको रकम मात्र होइन । बैंकले वर्षौंदेखि आफ्ना कारोबार निगरानी गर्ने प्रणालीमा कमजोरी रहेको थाहा पाए पनि पर्याप्त सुधार नगरेको नियामकको आरोप छ। बैंकको आन्तरिक निगरानी प्रणालीले आफैँ जोखिम पत्ता लगाउनुपर्नेमा अनुसन्धान निकाय र अन्य बैंकबाट आउने सूचनामा अत्यधिक निर्भरता देखिएको सरकारी अनुसन्धानले औँल्याएको छ।

 

यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—विश्वको अत्याधुनिक प्रविधि, ठूलो पूँजी र हजारौँ वित्तीय विज्ञ भएको बैंकमा अर्बौं डलरका शंकास्पद कारोबार समयमै पहिचान गर्न नसकिने अवस्था कसरी बन्यो ?

अमेरिकी मुद्रा नियन्त्रक कार्यालय (ओसीसी) ले कुनै बैंकमाथि लगाएको जरिवानामध्ये ७५ करोड डलरको कारबाही आफ्नो इतिहासकै सबैभन्दा ठूलो भएको जनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले भने समग्र कारबाहीलाई आफ्नो इतिहासको तेस्रो ठूलो जरिवाना भनेको छ। 

पाँच अर्ब डलरका कारोबारमा के समस्या थियो ?

बैंकहरूले ग्राहकको पैसा जम्मा गर्ने र भुक्तानी गर्ने काम मात्र गर्दैनन्। उनीहरूलाई अवैध रूपमा कमाइएको पैसा वित्तीय प्रणालीमार्फत घुमाउन प्रयोग हुन नदिन पनि कानुनी जिम्मेवारी दिइएको हुन्छ।

यसका लागि बैंकले ग्राहकको पहिचान, कारोबारको उद्देश्य, रकमको स्रोत र असामान्य भुक्तानीको ढाँचा जाँच्नुपर्छ। शंकास्पद गतिविधि भेटिएमा अमेरिकी वित्तीय अपराध निगरानी निकाय FinCEN मा Suspicious Activity Report (SAR) अर्थात् शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन बुझाउनुपर्छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार, बैंक अफ अमेरिकाले पाँच अर्ब डलरभन्दा बढीका शंकास्पद कारोबारसम्बन्धी सूचना समयमै रिपोर्ट गर्न सकेन। तीमध्ये एक अर्ब डलरभन्दा बढीको कारोबार राष्ट्रिय सुरक्षा र उच्च प्राथमिकताका वित्तीय जोखिमसँग सम्बन्धित थियो। यसमा चिनियाँ अवैध मुद्रा स्थानान्तरण सञ्जाल, ठगी तथा अमेरिकाको दक्षिणपश्चिमी सीमासँग सम्बन्धित सम्भावित अवैध वित्तीय गतिविधि समावेश थिए। 

कमजोरी कहाँ थियो ?

अमेरिकी नियामकको अनुसन्धानले तीनवटा मुख्य समस्या औँल्याएको छ।

पहिलो, कारोबार निगरानी प्रणाली प्रभावकारी थिएन। बैंकले अत्यन्त ठूलो परिमाणका कारोबार गर्ने भए पनि सम्भावित जोखिमयुक्त कारोबार पहिचान गर्न प्रयोग गरिएको प्रणालीमा गम्भीर कमजोरी थिए। त्यसका कारण शंकास्पद गतिविधिसम्बन्धी धेरै प्रतिवेदन ढिलो बुझाइएका थिए।

दोस्रो, चेतावनी आए पनि पर्याप्त सुधार भएन। बैंकलाई आफ्नो वित्तीय अपराध नियन्त्रण कार्यक्रम कमजोर रहेको कुरा वर्षौंदेखि थाहा भएको र सन् २०२४ मा नियामकले सुधार गर्न औपचारिक आदेशसमेत दिएको थियो। तर त्यसपछि पनि महत्त्वपूर्ण कमजोरी कायम रहेको नियामकले जनाएको छ।

तेस्रो, ग्राहक जाँच र कर्मचारीको क्षमता कमजोर थियो। केही उच्च जोखिम भएका ग्राहकको कारोबारबारे चेतावनी र आन्तरिक प्रश्न उठे पनि आवश्यक अनुसन्धान तथा कारबाही समयमै नभएको सरकारी आदेशमा उल्लेख छ। 

बैंकलाई शंका लागेको थियो, तर खाता किन बन्द भएन ?

यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष बैंकको निगरानी प्रणाली मात्र होइन, शंकास्पद ग्राहकसम्बन्धी चेतावनीलाई कसरी सम्बोधन गरियो भन्ने हो।

अमेरिकी नियामकले सार्वजनिक गरेको आदेशअनुसार, एक ग्राहकको कारोबार ठगीका योजनासँग बारम्बार जोडिएको थियो । उच्च जोखिमयुक्त अन्तर्राष्ट्रिय रकम स्थानान्तरणसम्बन्धी कारोबारबारे अनुसन्धान निकायले चासो देखाएको थियो। उक्त ग्राहकसम्बन्धी १०० भन्दा बढी आन्तरिक अनुपालनसम्बन्धी मुद्दा उठेका थिए।

एउटा अनुपालन अधिकारीले ग्राहकबारे अनुसन्धान निकायबाट पटकपटक सोधपुछ आएको देखेर आश्चर्य व्यक्त गरेको टिप्पणीसमेत गरेको सरकारी कागजातमा उल्लेख छ। तर बैंकका अन्य व्यावसायिक पक्षबाट ग्राहकलाई कायम राख्ने प्रयास भएको र खाता खुलै राखेर जोखिम घटाउने उपाय खोजिएको नियामकको भनाइ छ।

यो विवरणले बैंकिङ व्यवसायभित्रको एउटा आधारभूत द्वन्द्व देखाउँछ—ग्राहकबाट आम्दानी गर्ने व्यावसायिक उद्देश्य र जोखिमयुक्त कारोबार रोक्ने अनुपालन जिम्मेवारीबीचको द्वन्द्व।

तर यस घटनाबाट बैंकका सबै कर्मचारी वा सबै कारोबार अवैध थिए भन्ने निष्कर्ष निकाल्न मिल्दैन। नियामकको कारबाही बैंकको वित्तीय अपराध नियन्त्रण प्रणाली र कानुनी दायित्व पूरा गर्न असफल भएको विषयमा केन्द्रित छ।

अमेरिकी नियामकको आदेशअनुसार अब बैंकले विगतका कारोबार पुनःजाँच गर्न तेस्रो पक्षसँग काम गर्नुपर्नेछ। पहिले छुटेका वा पर्याप्त अनुसन्धान नभएका शंकास्पद कारोबार पहिचान गरी आवश्यक प्रतिवेदन बुझाउनुपर्नेछ।

यसका साथै कारोबार निगरानी प्रणाली, ग्राहक पहिचान तथा जाँच प्रक्रिया, विदेशी बैंकका प्रतिनिधि खातासम्बन्धी जोखिम व्यवस्थापन र वित्तीय अपराध नियन्त्रणमा प्रयोग हुने तथ्यांक व्यवस्थापनको स्वतन्त्र समीक्षा गर्नुपर्नेछ। इरान, रुस, लागूऔषध कारोबार र अमेरिकाको दक्षिणपश्चिमी सीमासँग सम्बन्धित जोखिमलाई समेत सुधार योजनामा समेटिएको छ।

बैंकले भने नियामकसँग वर्षौंदेखि सहकार्य गरिरहेको र अनुपालन सुधारका लागि अर्बौं डलर लगानी गरेको बताएको छ। यसले बैंकले सुधारको प्रयास गरेको दाबी गरे पनि नियामकले ती प्रयास पर्याप्त नभएको निष्कर्ष निकालेको देखाउँछ। 

नेपालको बैंकिङ क्षेत्रले के सिक्ने ?

यो घटनाको नेपालको सन्दर्भमा महत्त्वपूर्ण पाठ छ। बैंकको आकार, नाफा र ग्राहक संख्या बढ्दै जानु मात्र पर्याप्त हुँदैन । कारोबारको जोखिम पहिचान गर्ने प्रणाली, दक्ष कर्मचारी, स्वतन्त्र आन्तरिक लेखापरीक्षण र व्यवस्थापनको जवाफदेहिता पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन्।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान, शंकास्पद कारोबारको निगरानी र आवश्यक प्रतिवेदन बुझाउने दायित्व दिएको छ। बैंकले कारोबारको अनुगमन गर्ने सफ्टवेयर राखेको छ भन्दैमा त्यो प्रभावकारी छ भन्ने सुनिश्चित हुँदैन। प्रणालीले जोखिम पहिचान गरेपछि कर्मचारीले त्यसलाई कसरी अनुसन्धान गर्छन् र व्यवस्थापनले कस्तो निर्णय लिन्छ भन्ने कुरा निर्णायक हुन्छ।

नेपालका लागि यो प्रकरणले केही खोजमूलक प्रश्न उठाउँछ। बैंकमा उच्च जोखिमका ग्राहकको कारोबारबारे बारम्बार चेतावनी आएमा कसले निर्णय गर्छ ? आन्तरिक अनुपालन विभागको सुझावलाई व्यावसायिक व्यवस्थापनले बेवास्ता गर्न सक्छ कि सक्दैन? शंकास्पद कारोबारको प्रतिवेदन ढिलो बुझाउँदा जिम्मेवारी कसले लिन्छ ? नियामकको सुधार आदेशपछि कमजोरी सच्याइयो कि सच्याइएन भन्ने स्वतन्त्र परीक्षण कसरी हुन्छ ? यी प्रश्नको उत्तरले बैंकिङ प्रणालीप्रतिको विश्वास बलियो बनाउन सहयोग गर्न सक्छ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।