एआईमा लगानी प्रत्युपादक हुन सक्ने भन्दै झस्किएका बैंकहरुले लगानी घटाउन थाले, शेयर लगानीकर्ताहरु आतँकित

Nov 23, 2026 01:43 PM Merolagani



कृत्रिम बुद्धिमत्ता (एआई) लाई भविष्यको सबैभन्दा ठूलो आर्थिक क्रान्ति मान्दै अर्बौँ डलर खन्याइरहेका विश्वका प्रविधि कम्पनीहरू अहिले आफ्नै लगानीको औचित्य प्रमाणित गर्नुपर्ने दबाबमा परेका छन्।

एआईका लागि डेटा सेन्टर बनाउन बैंकहरूले दिएको ऋणसमेत बजारमा बिक्री गर्न खोजिन थालेको छ । उता एआई कम्पनीको अत्यधिक मूल्यांकन र भविष्यको आम्दानीमाथि प्रश्न उठेपछि अमेरिकी सेयर बजारमा सन् २०२० यताकै गम्भीर साप्ताहिक गिरावट देखिएको छ।

नोभेम्बर २०, शुक्रबार अमेरिकी सेयर बजारका लागि निकै खराब दिन बन्यो। एआई तथा प्रविधि कम्पनीका सेयरमा व्यापक बिक्री भएपछि Nasdaq Composite एकै दिन ५.३ प्रतिशतले घटेर २२,६१७.७३ अंकमा बन्द भयो।

यो गिरावटसँगै Nasdaq सन् २०२६ को सुरुदेखिकै कुल प्रदर्शनमा ऋणात्मक क्षेत्रमा पुग्यो। एक साताको अवधिमा सूचकांक करिब १० प्रतिशतले घट्यो। सन् २०२० यताकै सबैभन्दा खराब साप्ताहिक प्रदर्शन भएको Reuters ले उल्लेख गरेको छ।

त्यही दिन अमेरिकी बजारको प्रमुख सूचक S&P 500 पनि ३.७ प्रतिशतले घटेर ६,९१०.३९ अंकमा झर्‍यो। अक्टोबर ६ को ऐतिहासिक उच्च विन्दुबाट १० प्रतिशतभन्दा बढी घटेपछि यो सूचक औपचारिक रूपमा Correction अर्थात् बजार सुधारको अवस्थामा पुग्यो।

प्रविधि कम्पनीहरूको बिक्री दबाब कति गम्भीर थियो भन्ने कुरा केही ठूला कम्पनीको सेयरबाटै देखिन्छ। Nvidia एकै दिन १४ प्रतिशत र AMD १३.३ प्रतिशतले घटे। Micron १३.९ प्रतिशत र Broadcom १२.२ प्रतिशतले ओरालो लागे।

यसको अर्थ लगानीकर्ताले एआई प्रविधि प्रयोग गर्न छाडेका होइनन्। बरु एआईबाट भविष्यमा आउने आम्दानी र त्यसका लागि अहिले भइरहेको विशाल लगानीबीचको अनुपातमाथि प्रश्न उठाउन थालेका हुन्।

एआईको पूर्वाधारमा लगानी गर्ने बैंक नै किन पछि हट्दैछन् ?

सेयर बजारको गिरावटभन्दा पनि अर्थतन्त्रका लागि महत्त्वपूर्ण अर्को घटना बैंकिङ क्षेत्रमा देखिएको छ।

एआई सञ्चालन गर्न ठूलो परिमाणमा डेटा सेन्टर, उच्च क्षमताका कम्प्युटर चिप, विद्युत् प्रसारण प्रणाली र शीतलन प्रविधि आवश्यक पर्छ। यस्ता पूर्वाधार निर्माण गर्न माइक्रोसफ्ट, गुगल, अमेजन, ओरेकललगायतका कम्पनीहरूले अर्बौँ डलर खर्च गरिरहेका छन्। तर यो लगानीको ठूलो हिस्सा आफ्नै नगदबाट मात्रै होइन, बैंक तथा ऋण बजारबाट जुटाइएको छ। यही क्षेत्रमा ऋण दिएका बैंकहरू अहिले आफ्नो जोखिम व्यवस्थापन गर्न खोजिरहेका छन्।

नोभेम्बर ५ मा सार्वजनिक भएको ब्लुमबर्गको रिपोर्टअनुसार नेदरल्यान्ड्सको बैंक ING ले करिब ५० करोड अमेरिकी डलर बराबरको डेटा सेन्टर ऋण बिक्रीमा राखेको थियो । यसमा OpenAI, SoftBank र Oracle को संयुक्त Stargate परियोजनाअन्तर्गत अमेरिकाको न्यु मेक्सिकोमा निर्माण भइरहेको डेटा सेन्टरसँग सम्बन्धित २ करोड ५० लाख डलरको ऋण हिस्सा पनि समावेश थियो।त्यस्तै Vantage Data Centers र CyrusOne जस्ता डेटा सेन्टर सञ्चालकसँग सम्बन्धित ऋण पनि बिक्री सूचीमा राखिएको थियो।

तर नोभेम्बर २० मा आएको ब्लुमबर्गको अर्को रिपोर्टले यो बिक्री प्रक्रिया सहज नभएको देखायो। करिब ५० करोड डलरको ऋण खरिद गर्न अपेक्षाअनुसार बोलकबोल नआएपछि ING ले सामूहिक बिक्रीको प्रक्रिया छाडेर छुट्टाछुट्टै खरिदकर्तासँग छलफल गर्न थालेको थियो।

 

यो घटनाले एआई पूर्वाधारमा लगानी गर्न ऋण दिने र त्यही ऋण आफ्नो खाताबाट हटाउन खोज्ने बैंकहरूबीचको नयाँ वित्तीय व्यवहार देखाएको छ। यो समस्या ING मा मात्रै सीमित छैन।

फ्रान्सको बैंक Société Générale ले पनि Oracle का डेटा सेन्टर परियोजनासँग सम्बन्धित करिब ३० करोड डलरको परियोजना वित्तीय ऋण बिक्रीका लागि अघि सारेको रिपोर्ट सार्वजनिक भएको छ। यी ऋणमध्ये अमेरिकाको विस्कन्सिनमा रहेको Project Lighthouse र टेक्सासको Project Frontier सँग सम्बन्धित वित्तीय लगानी समावेश छन्।

यसरी ING र Société Générale ले बिक्रीमा राखेका डेटा सेन्टर ऋणको कुल आकार करिब ८० करोड डलर पुगेको छ। अझ रोचक कुरा के छ भने Oracle का तीनवटा प्रमुख डेटा सेन्टर परियोजनाले गत वर्ष मात्रै विभिन्न बैंकबाट ५६ अर्ब डलरभन्दा बढी निर्माण ऋण जुटाएका थिए। 

एआईमा लगानीको हिसाब नमिल्ने डर

एआईको विस्तारमा अहिले तीनवटा प्रमुख प्रश्न उठेका छन् ।

पहिलो, एआई सेवा प्रयोग गरेर प्रविधि कम्पनीहरूले कति आम्दानी गरिरहेका छन्?

दोस्रो, डेटा सेन्टर, चिप, विद्युत् र नेटवर्कमा भइरहेको अर्बौँ डलरको खर्चबाट लगानीकर्ताले कहिले र कति प्रतिफल पाउँछन्?

तेस्रो, यी परियोजना निर्माणका लागि लिइएको ऋण तिर्ने पर्याप्त आम्दानी सिर्जना हुन्छ कि हुँदैन ?

एआई कम्पनीहरूले भविष्यमा ठूलो आम्दानी गर्ने अपेक्षामा अहिले नै पूर्वाधार निर्माण गरिरहेका छन्। तर परियोजना पूरा हुन ढिलो भयो, विद्युत् आपूर्ति भएन वा एआई सेवाको माग अनुमानअनुसार बढेन भने ऋणको भार कम्पनीमाथि पर्न सक्छ।

यही कारण बैंकहरू पनि आफ्नो लगानी एकै क्षेत्रमा केन्द्रित गर्न चाहँदैनन्। एआई डेटा सेन्टरमा अत्यधिक ऋण केन्द्रित हुँदा कुनै एउटा ठूलो परियोजना समस्यामा परेमा त्यसको असर ऋणदाता बैंकसम्म पुग्न सक्छ।

अर्कोतर्फ, बैंकहरूले ऋण बेच्न खोज्नु भनेको उनीहरूले एआई प्रविधिमाथिको विश्वास गुमाइसके भन्ने पनि होइन। बैंकका लागि ऋणको जोखिम बाँडफाँट गर्नु, आफ्नो पूँजीको उपयोग प्रभावकारी बनाउनु र नयाँ ऋण दिन सक्ने क्षमता कायम राख्नु नियमित वित्तीय व्यवस्थापनका उद्देश्य पनि हुन्।

ब्लुमबर्गले उल्लेख गरेको ING को ऋण बिक्रीमा अपेक्षित बोलकबोल नआउनुले भने यस क्षेत्रमा लगानीकर्ताको सावधानी बढेको संकेत गरेको छ।

एआईको बुलबुला फुट्न लागेको हो?

अहिले विश्व वित्तीय बजारमा सबैभन्दा धेरै चर्चा भइरहेको प्रश्न यही हो। एआईमा लगानी गर्ने कम्पनीहरूको मूल्यांकन वास्तविक आम्दानीभन्दा धेरै माथि पुगेको हो कि भन्ने आशंका बढेको छ।

नोभेम्बर २० को बजार गिरावटमा Nvidia को सेयरमा आएको ठूलो धक्काले पनि लगानीकर्ताको मनोविज्ञान प्रभावित गर्‍यो। कम्पनीको लेखा प्रणालीबारे अमेरिकी नियामक SEC ले अनुसन्धान गरिरहेको भन्ने रिपोर्टहरू पनि बजारमा चर्चामा आए। तर अनुसन्धानसम्बन्धी खबर र कम्पनीले गल्ती गरेको प्रमाणित हुनु फरक विषय हुन्।

त्यसैगरी, एआई कम्पनी Anthropic को सार्वजनिक सेयर निष्कासनपछि कारोबारमा आएको गिरावटले पनि लगानीकर्ताको उत्साह सधैँ कायम नरहने देखाएको छ। कम्पनीको सेयर शुक्रबार ८.५ प्रतिशतभन्दा बढी घटेको थियो।

अहिलेको अवस्था सन् २००० को डटकम संकटसँग तुलना गर्न थालिएको छ। त्यतिबेला इन्टरनेटको भविष्यप्रति अत्यधिक विश्वास गर्दै धेरै कम्पनीमा लगानी भयो। तर वास्तविक आम्दानी र व्यवसायको आधार कमजोर हुँदा धेरै कम्पनी धराशायी भए।

यद्यपि अहिलेको एआई क्षेत्रलाई त्यही संकटसँग हुबहु तुलना गर्न मिल्दैन। आजका ठूला प्रविधि कम्पनीसँग वास्तविक आम्दानी, ग्राहक, नगद प्रवाह र व्यावसायिक पूर्वाधार छन्। त्यसैले अहिलेको गिरावटलाई एआई प्रविधिको अन्त्यभन्दा पनि लगानीको मूल्यांकन र जोखिम पुनः परीक्षणका रूपमा हेर्नु उपयुक्त हुन्छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।