सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM Merolagani



अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। 

 

अमेरिकी डलरको मजबुती, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) द्वारा ब्याजदर थप बढ्न सक्ने सम्भावना, अमेरिकी सरकारी ऋणपत्र (ट्रेजरी बन्ड) को प्रतिफलमा भएको वृद्धि र लगानीकर्ताहरूमाझ चलेको व्यापक नाफा असुली (प्रफिट बुकिङ) का कारण सुन–चाँदीको भाउ एक वर्षयताकै कमजोर विन्दुमा झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनिगोसिडा) ले २०८३ मंसिर १ गते (नोभेम्बर १७) का लागि निर्धारण गरेको दरअनुसार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदी ८० रुपैयाँले घटेको हो।

नेपाली बजारमा सुन र चाँदीको मूल्यले २०८२ माघ १५ गते ऐतिहासिक उच्चतम बिन्दु कायम गरेका थिए। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। त्यसयता दुवै धातुको मूल्य घट्दै आएको छ। २०८३ मंसिर १ गते आइपुग्दा सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ। उच्चतम मूल्यको तुलनामा सुन प्रतितोला ७० हजार २०० रुपैयाँ अर्थात् २०.६९ प्रतिशत घटेको हो। चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा झरेको छ। उच्चतम मूल्यबाट चाँदी प्रतितोला ३ हजार ९८५ रुपैयाँ अर्थात् ५३.१० प्रतिशत घटेको छ।

अर्कोतर्फ, एक वर्षको दैनिक मूल्य ग्राफअनुसार अहिलेको सुनको मूल्य २०८२ पुस २७ गतेको मूल्यसँग नजिक छ। त्यस दिन सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ थियो। यस हिसाबले सुनको मूल्य ३१० दिनअघिको स्तरमा फर्किएको छ। त्यस्तै, चाँदीको अहिलेको मूल्य २०८२ मंसिर १४ गतेको मूल्यसँग नजिक छ। त्यस दिन चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य ३५२ दिनअघिको स्तरमा पुगेको छ। यद्यपि अहिलेको चाँदीको मूल्य त्यस दिनभन्दा ३० रुपैयाँ बढी छ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०१५ पछिकै खराब वर्ष बन्दै
नेपाली बजारमा आएको यो गिरावटको मुख्य कारक अन्तर्राष्ट्रिय बजारको मन्दी हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ८३०.७४ अमेरिकी डलरसम्म झरेको थियो, जुन अक्टोबर २, २०२५ यताकै सबैभन्दा तल्लो स्तर हो।

गत जनवरी २०२६ मा प्रतिऔंस ५ हजार ५९४.८२ डलरको ऐतिहासिक कीर्तिमान बनाएको सुन नोभेम्बर १६ सम्म आइपुग्दा ३१.५३ प्रतिशतले घटिसकेको छ। रोयटर्सले यो गिरावटलाई सन् २०१५ यताकै खराब वार्षिक प्रदर्शनतर्फ उन्मुख भएको उल्लेख गरेको छ। यद्यपि, नोभेम्बर १७ मा स्पट गोल्ड सामान्य सुधारसहित प्रतिऔंस ३ हजार ८५६.५२ डलर र चाँदी ४७.०५ डलरमा पुगे पनि यसलाई बजार पुनरुत्थानको बलियो संकेत मान्न नसकिने विश्लेषकहरूको ठहर छ।

१२ महिनाको मूल्य रेखाचित्र (ग्राफ) का आधारमा हालको सुनको मूल्य जनवरी २०२६ अघिकै विन्दुवरपर आइपुगेको छ भने चाँदी गत वर्षको नोभेम्बर–डिसेम्बर (२०२५) आसपासकै विन्दुमा झरेको देखिन्छ।

किन तीव्र रूपमा घटिरहेको छ सुन?

१. बलियो अमेरिकी डलर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार अमेरिकी डलर सूचकाङ्क सन् २०२५ अप्रिलपछिकै उच्च स्तरनजिक पुगेको छ। अमेरिकी मुद्रास्फीति अपेक्षाभन्दा माथि देखिनु र फेड अधिकारीहरूले कडा मौद्रिक नीतिको संकेत गर्नुले डलर बलियो भएको हो। सुनको विश्वव्यापी कारोबार डलरमा हुने भएकाले डलर महँगिँदा अन्य मुद्राका क्रेताका लागि सुनको माग घट्न गई मूल्यमा भारी दबाब परेको हो।

२. ऋणपत्रको प्रतिफल र ब्याजदर वृद्धि : अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल निरन्तर बढिरहेको छ। सुन आफैँमा कुनै ब्याज वा निश्चित प्रतिफल नदिने सम्पत्ति भएकाले लगानीकर्ताहरूले सुनबाट पूँजी झिकेर निश्चित ब्याज पाइने अमेरिकी ऋणपत्रतर्फ मोडिरहेका छन्। रोयटर्सको विश्लेषणअनुसार आगामी डिसेम्बर महिनामा अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने सम्भावना बजारमा ९६.६ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा सुनको आकर्षण झनै खस्किएको छ।

३. नाफा सुरक्षित गर्ने होड र तरलताको खोजी : अन्तर्राष्ट्रिय बुलियन क्षेत्रको प्रमुख कम्पनी एमकेएस पाम्प (MKS PAMP) का वरिष्ठ धातु रणनीतिकार निकी शिल्सका अनुसार बजारमा दबाब बढेका बेला लगानीकर्ताहरूले तत्काल नगद जोहो गर्न सुन बिक्री गर्ने गर्दछन्। विशेषगरी अमेरिकी प्रविधि कम्पनी एनभिडियालगायतका प्रमुख कम्पनीहरूको शेयर मूल्यमा आएको ठूलो गिरावटपछि लगानीकर्ताहरूले अन्य वित्तीय खाडल पुर्न सुन बेचेर नगद व्यवस्थापन गर्न थालेको शिल्सको विश्लेषण छ।

४. भूराजनीतिक प्रभाव र इन्धनको मूल्य : मध्यपूर्वमा अमेरिका र इरानबीचको तनावका कारण तेलको मूल्य बढ्दा विश्वव्यापी मुद्रास्फीति थप चर्किने जोखिम बढेको छ। सामान्यतया युद्धका बेला सुन सुरक्षित आश्रय बन्ने भए पनि, अहिलेको अवस्थामा मुद्रास्फीतिका कारण केन्द्रीय बैंकहरूले ब्याजदर लामो समयसम्म उच्च राख्ने संकेत देखिएकाले सुनमा नकारात्मक प्रभाव परेको छ।

चाँदीमा औद्योगिक संकटको दोहोरो मार
सुनको तुलनामा चाँदीको मूल्यमा अझ तीव्र गिरावट आउनुको मुख्य कारण यसको औद्योगिक उपयोग हो। बहुमूल्य धातुका साथै सौर्य ऊर्जा प्रणाली (सोलार प्यानल), विद्युतीय सवारीसाधन र इलेक्ट्रोनिक्समा चाँदीको अत्यधिक माग हुने गर्दछ।

अन्तर्राष्ट्रिय आर्थिक पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार बलियो डलर र उच्च ऋणपत्र प्रतिफलका अतिरिक्त विश्वव्यापी औद्योगिक माग सुस्त बन्नुले चाँदीमा दोहोरो दबाब पारेको छ। विशेषगरी चीनको उत्पादन, कर्जा प्रवाह र औद्योगिक लगानीमा देखिएको शिथिलताले चाँदीको मागलाई गम्भीर असर पुर्‍याएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय वित्तीय पोर्टल किट्को न्युज (Kitco News) ले उल्लेख गरेअनुसार चाँदीको भौतिक मागमा समेत ठूलो संकुचन आएको छ। बहुमूल्य धातु कम्पनी हेरियस (Heraeus) का विश्लेषकहरूलाई उद्धृत गर्दै अस्ट्रेलियाको पर्थ मिन्टमा अक्टोबर महिनामा चाँदीका सिक्का तथा बारहरूको बिक्री अघिल्लो महिनाको तुलनामा ३६ प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले घटेको जनाइएको छ। अक्टोबरमा अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६० डलरबाट झरेर ४९ डलरमा आउँदा पनि भौतिक मागमा सुधार नदेखिनुले बजारको मनोबल निकै कमजोर रहेको पुष्टि गर्दछ।

अबको दिशा कता?
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य तत्कालै आक्रामक रूपमा बढ्ने भरपर्दो आधार देखिएको छैन। विश्व सुन परिषद् (World Gold Council) ले सार्वजनिक गरेको विश्लेषण प्रतिवेदन अनुसार अमेरिकी मुद्रास्फीति र फेडरल रिजर्भका अधिकारीहरूको नीतिगत अडानले सुनलाई अझै केही समय दबाबमै राख्न सक्छ। यद्यपि, सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) हरूमा केही क्षेत्रबाट दीर्घकालीन लगानी भित्रिने क्रम भने जारी रहेको परिषद्ले जनाएको छ।

नेपाली बजारको सन्दर्भमा भने अन्तर्राष्ट्रिय बजारको मन्दीसँगै अमेरिकी डलर र नेपाली रुपैयाँको विनिमय दरले पनि अन्तिम मूल्य निर्धारण गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा भारी गिरावट आए पनि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएमा नेपाली उपभोक्ताले सोचेजस्तो पूर्ण राहत नपाउन सक्छन्। हालको प्रवृत्ति हेर्दा आगामी दिनमा अमेरिकी फेडको ब्याजदर निर्णय र डलरको चाल नै सुनचाँदीको भावी दिशा तय गर्ने मुख्य कडी बन्ने देखिन्छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।