विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन हालै दुई वर्षयताकै न्यून स्तर (५६ हजार डलरको विन्दु) सम्म झरेपछि बजारमा सुधारका संकेतहरू देखिएका छन्। ६० हजार अमेरिकी डलरको महत्वपूर्ण मनोवैज्ञानिक समर्थन स्तर (सपोर्ट लेभल) तोडेर तल झरेको बिटक्वाइनले पुनः पुनरागमन (बाउन्स ब्याक) को प्रयास गरिरहेको छ।
यो समाचार तयार पार्दासम्मको मूल्य अनुसार बिटक्वाइन ६.१४ प्रतिशत (३,४२१.५ डलर) ले बढेर ५९,१८६.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
हालैको तीव्र गिरावटपछि बिटक्वाइनमा आएको यो सुधारसँगै समग्र क्रिप्टोकरेन्सी बजारमा हरियाली छाएको छ। दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियम र बीएनबी (BNB) लगायतका प्रमुख डिजिटल मुद्राहरूमा पनि ६ प्रतिशतभन्दा बढीको बढोत्तरी देखिएको छ। यद्यपि, अक्टोबर २०२५ मा कायम भएको १ लाख २६ हजार डलरको ऐतिहासिक रेकर्ड स्तरको तुलनामा बिटक्वाइन अझै पनि करिब ५३ प्रतिशत तल नै रहेको छ।

प्रमुख क्रिप्टोकरेन्सीहरूको अवस्था (यो समाचार तयार पार्दासम्मको मूल्य):
विश्वप्रसिद्ध वित्तीय पोर्टल इन्भेस्टिङ डटकम (Investing.com) को पछिल्लो तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासम्म प्रमुख क्रिप्टोकरेन्सीहरूको मूल्य यस प्रकार रहेको छ:
-
बिटक्वाइन (Bitcoin): ६.१४ प्रतिशत (३,४२१.५ डलर) ले बढेर ५९,१८६.४ डलरमा कारोबार भइरहेको छ।
-
इथरियम (Ethereum): दोस्रो ठूलो क्रिप्टोकरेन्सी ६.५० प्रतिशत (१०१.४४ डलर) ले वृद्धि भई १,६६२.६६ डलर पुगेको छ।
-
बीएनबी (BNB): ६.०८ प्रतिशत (३०.९९ डलर) ले बढेर ५४०.७० डलरमा किनबेच भइरहेको छ।
-
सोलाना (Solana): ५.८६ प्रतिशतको बढोत्तरीसहित ६९.२५२ डलर पुगेको छ।
-
एक्सआरपी (XRP): ५.३९ प्रतिशतले बढेर ०.९१८५ डलरमा कारोबार भइरहेको छ।
-
ट्रोन (TRON): २.०३ प्रतिशतले बढेर ०.३०५२७२ डलर कायम भएको छ।
-
पोलकाडट (Polkadot): ३.३६ प्रतिशतले बढेर ०.६४७ डलर पुगेको छ।
-
स्टेबलक्वाइन: टेथर (USDT) ०.१५ प्रतिशतले घटेर १.०००७ डलर र युएसडी क्वाइन (USDC) ०.०६ प्रतिशतले बढेर १.००२० डलरमा स्थिर रहेका छन्।
पछिल्लो गिरावटको पृष्ठभूमि र बजार मनोविज्ञान
केही समयअघि मात्रै बिटक्वाइन ५६ हजार १९५ डलरसम्म ओर्लिँदा समग्र क्रिप्टो बजारको पूँजीकरण १.९५ ट्रिलियन डलरमा खुम्चिएको थियो। उक्त गिरावटले लगानीकर्ताहरूमाझ त्रास यति धेरै बढाएको थियो कि 'क्रिप्टो फियर एन्ड ग्रिड इन्डेक्स' घटेर ६ अंकमा झरेको थियो, जसले बजार 'चरम डर' (Extreme Fear) मा रहेको देखाउँथ्यो।
उक्त भारी गिरावट पछाडि मुख्यतया चारवटा कारण जिम्मेवार मानिएका थिए:
१. विनान्स ह्याकिङ र राजनीतिक अन्योल: अक्टोबरको अन्त्यतिर क्रिप्टो एक्सचेन्ज विनान्समा भएको ह्याकिङ प्रकरण र अमेरिकी मध्यावधि निर्वाचनको नतिजापछि क्रिप्टो नियमनमा कडाइ हुने आशंका।
२. डलरको मजबुती र फेड नीतिको दबाब: अमेरिकी डलर बलियो हुनु र अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर वृद्धिको संकेत दिँदा जोखिमयुक्त सम्पत्तिबाट पूँजी बाहिरिनु।
३. इटीएफ (ETF) बाट पूँजी पलायन: बिटक्वाइन स्पट इटीएफहरूबाट मात्रै ३ अर्ब डलरभन्दा बढी पूँजी बाहिरिनु।
४. बृहत् लिक्विडेसन: अमेरिकी शेयर बजारको प्राविधिक परिसूचक 'नास्डक' (Nasdaq) मा आएको गिरावटसँगै बजारमा २ अर्ब डलर बराबरका खरिद सम्झौताहरू (लङ पोजिसन) खारेज हुनु।
विज्ञहरूको विश्लेषण र अबको दिशा
हाल बजारमा केही सुधार देखिए पनि प्राविधिक रूपमा बिटक्वाइन अझै दबाबमै रहेको विश्लेषकहरूको भनाइ छ।
क्रिप्टो एक्सचेन्ज वजीरएक्सका संस्थापक निश्चल शेट्टीका अनुसार, हालै कायम भएको ५७,७१६ डलरको न्यूनतम विन्दु अल्पकालीन कारोबारका लागि बलियो समर्थन स्तर (सपोर्ट) का रूपमा स्थापित भएको छ, जहाँबाट बजारले बाउन्सब्याक गरेको देखिन्छ।
तर, माथितिरको यात्रा तय गर्नका लागि बिटक्वाइनले ५९,७२५ डलर, ६०,००० डलर र ६२,००० डलर को कडा प्रतिरोध (रेजिस्टेन्स) सामना गर्नुपर्नेछ। बजारमा दीर्घकालीन सुधार आउन बिटक्वाइनले ६० हजार डलरको स्तरलाई पुनः पार गरेर माथि टिकिरहनु अनिवार्य मानिएको छ। ठूला संस्थागत लगानीकर्ताहरू (ह्वेल) ले आक्रामक रूपमा पुनः पूँजी प्रवाह नगरेसम्म बजारमा उतारचढाव कायमै रहने देखिएको छ।