अफगानिस्तानमा क्रिकेट सम्वन्धि समाचारमा प्रतिवन्ध

Nov 16, 2026 02:03 PM Merolagani



क्रिकेटप्रति आम मानिसको आकर्षण बढिरहेको समयमा अफगानिस्तानको तालिबान प्रशासनले  रेडियो स्टेसनहरूलाई क्रिकेटसम्बन्धी कुनै पनि सामग्री प्रसारण नगर्न निर्देशन दिएको छ।

तालिबान प्रशासनले लगाएको नयाँ प्रतिबन्धले खेलकुद र सञ्चार स्वतन्त्रतामाथि फेरि प्रश्न उठाएको छ।

यससँगै अब रेडियोमा क्रिकेट खेलको प्रत्यक्ष कमेन्ट्री, खेलसम्बन्धी समाचार, खेलाडीका गतिविधि र टोलीले हासिल गरेको जितको खबरसमेत प्रसारण गर्न पाइने छैन।

सूचना तथा संस्कृति विभागले शनिबार रेडियो स्टेसनहरूलाई यस्तो निर्देशन दिएको थियो। दुईवटा रेडियो प्रसारक र प्रान्तीय विभागका एक स्रोतले एएफपीसँग प्रतिबन्धको पुष्टि गरेका छन्।

विभागका एक अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा क्रिकेटसम्बन्धी प्रसारण पूर्ण रूपमा प्रतिबन्धित गरिएको बताएका छन्। उनका अनुसार खेलको कमेन्ट्री र समाचार मात्र होइन, कुनै टोलीले जितेको परिणामसमेत प्रसारण गर्न पाइने छैन।

अर्को रेडियोका व्यवस्थापकले पनि आफूहरूलाई फोन गरेर तत्कालका लागि क्रिकेटसँग सम्बन्धित कुनै पनि सामग्री प्रसारण नगर्न भनिएको पुष्टि गरेका छन्।

यो प्रतिबन्धको सबैभन्दा रोचक पक्ष तालिबान प्रशासनको दोहोरो व्यवहार हो। एकातिर तालिबान सरकारले क्रिकेटलाई सार्वजनिक रूपमा समर्थन गर्दै आएको छ। सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएको वार्षिकोत्सव मनाउने क्रममा समेत क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। अर्कोतर्फ, अहिले क्रिकेटको लोकप्रियता बढिरहेका बेला खेलको समाचारसमेत रेडियोबाट प्रसारण गर्न नपाउने निर्देशन दिइएको छ।

अफगानिस्तानमा क्रिकेट तीव्र गतिमा लोकप्रिय भइरहेको खेल हो। राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विशेषगरी एकदिवसीय र टी–२० क्रिकेटमा अफगानिस्तानले स्थापित क्रिकेट राष्ट्रहरूलाई चुनौती दिँदै आएको छ।

राशिद खान, रहमानुल्लाह गुरबाज, मोहम्मद नबी र अन्य खेलाडीका कारण अफगानिस्तानको क्रिकेटले विश्वभर चर्चा पाएको छ। तर अहिले क्रिकेटप्रेमीले आफ्नै रेडियोबाट खेलसम्बन्धी समाचारसमेत सुन्न नपाउने अवस्था सिर्जना भएको छ।

तालिबान प्रशासनले अन्य केही खेलमा कडा प्रतिबन्ध लगाएको छ । मिक्स्ड मार्सल आर्ट्स अर्थात् महिला र पुरुषबीच प्रतिस्पर्धा हुने मार्सल आर्ट्स खेललाई प्रतिबन्धित गरिएको छ।

महिला तथा किशोरीहरूलाई जिमखाना र खेलकुद गतिविधिमा सहभागी हुनसमेत रोक लगाइएको छ। यसले अफगानिस्तानमा महिलाको सार्वजनिक जीवन र खेलकुद सहभागितालाई गम्भीर रूपमा सीमित गरेको छ।

क्रिकेटको समाचारमा लगाइएको नयाँ प्रतिबन्धले पनि त्यहाँको सञ्चार स्वतन्त्रतामाथि थप प्रश्न उठाएको छ। यो प्रतिबन्ध किन लगाइयो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यसलाई क्रिकेट खेलमाथिको देशव्यापी प्रतिबन्धका रूपमा बुझ्नु पनि गलत हुन्छ। हाल उपलब्ध समाचारअनुसार निर्देशन कन्दहार प्रान्तका रेडियो स्टेसनहरूमा केन्द्रित छ।

यो निर्णय सार्वजनिक हुँदा अफगानिस्तानको पुरुष क्रिकेट टोली संयुक्त अरब इमिरेट्सको सारजाहमा जिम्बाब्वेसँग दोस्रो टेस्ट खेलिरहेको थियो।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्रिकेट पहिचान स्थापित गर्न संघर्ष गरिरहेको अफगानिस्तानका लागि यो समय महत्वपूर्ण छ।

तर आफ्नै देशको एउटा प्रमुख सहरमा खेलसम्बन्धी समाचार प्रसारण गर्न रोक लगाइनुले खेलाडीको अन्तर्राष्ट्रिय सफलताको चर्चा र देशभित्रको सञ्चार वातावरणबीचको विरोधाभास उजागर गरेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।