कुनै समय विश्वका ठूला व्यवसायीहरूको चर्चा उनीहरूले कति सम्पत्ति कमाए, कति रोजगारी सिर्जना गरे, कुन प्रविधि विकास गरे र कुन देशको अर्थतन्त्रलाई कति योगदान दिए भन्ने आधारमा हुन्थ्यो । तर पछिल्लो समय उनीहरूको निजी जीवन, प्रेम सम्बन्ध, यौन दुर्व्यवहार, गोप्य आर्थिक कारोबार, राजनीतिक पहुँच र शक्ति दुरुपयोगसमेत विश्व अर्थतन्त्रका महत्त्वपूर्ण समाचार बन्न थालेका छन् ।
एनभिडियाको पछिल्लो प्रकरण त्यसको एउटा असाधारण उदाहरण बनेको छ। यसलाई छुट्टै यौन स्क्याण्डलका रूपमा मात्र हेर्न मिल्दैन। यसले कृत्रिम बौद्धिकताको विश्वव्यापी प्रतिस्पर्धा, अमेरिका–चीन प्रविधि युद्ध, अर्बौं डलरको लगानी र कर्पोरेट नेतृत्वको विश्वसनीयतालाई एउटै ठाउँमा ल्याइदिएको छ ।
विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एनभिडिया (Nvidia) का सहसंस्थापक तथा प्रमुख कार्यकारी जेन्सेन हुआङले तीन दशकभन्दा बढी समय कम्पनीको नेतृत्व गरेर एनभिडियालाई कृत्रिम बौद्धिकता उद्योगको मेरुदण्ड बनाएका थिए । उनको नेतृत्वमा कम्पनीको बजार मूल्य ४ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो ।
अमेरिकी अधिकारीहरूले चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरेको व्यवसायी एलिस हुआङसँग उनको सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। अमेरिकी अधिकारीहरूको आशंकालाई चीनले अस्वीकार गरेको छ । जेन्सेनले नोभेम्बर ८ मा कर्मचारीहरूलाई सम्बोधन गर्दै वैवाहिक सम्बन्धमा बेइमानी गरेको स्वीकार गरेका थिए। कम्पनीको सञ्चालक समितिले विदेशी गुप्तचर गतिविधिबाट उनी प्रभावित भएका थिए कि थिएनन् भन्ने विषयमा स्वतन्त्र अनुसन्धान थालेको थियो।
यो प्रकरणमा एलिस हुआङसँग सम्बन्धित कम्पनी मेगास्पिड इन्टरनेसनल र चीनतर्फ एनभिडियाका कृत्रिम बौद्धिकता चिप पठाइएको विषय पनि अनुसन्धानको दायरामा आएको छ। कम्तीमा ७.५ अर्ब डलर बराबरका चिप चीनतर्फ पठाइएको हुन सक्ने दाबीसमेत समाचारमा आएको छ। तर व्यक्तिगत सम्बन्धकै कारण ती चिप पठाइएको वा गोप्य सूचना चुहिएको भन्ने कुरा प्रमाणित भइसकेको छैन। एनभिडियाले कम्पनीका गोप्य सूचना वा राष्ट्रिय सुरक्षा सम्बन्धी विवरण चुहिएको विश्वास गर्ने आधार नभएको बताएको छ।
अमेरिकी सांसदहरूले चिप निर्यात नियन्त्रणबारे थप अनुसन्धान र स्पष्टीकरण मागेका छन्।
यो काण्ड सार्वजनिक भएपछि उनले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् र कम्पनीको अन्तरिम नेतृत्व वित्त प्रमुख कोलेट क्रेसलाई दिइएको छ। हुआङसँग सम्बन्धित अर्को कर्मचारीसँगको सम्बन्धबारे पनि समाचार सार्वजनिक भएका छन्।
यसरी एउटा व्यक्तिगत विवाद अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको विषय बन्न पुगेको छ। रोयटर्सका अनुसार नोभेम्बर १२ मा एनभिडियाको सेयर ५.५ प्रतिशत घटेको थियो र अक्टोबरको सुरुवाती उच्च बिन्दुबाट सेयर मूल्य ३० प्रतिशतभन्दा बढी तल झरेको थियो।
यस घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ– कुनै कम्पनीको सफलता संस्थागत संरचनामा आधारित छ कि एउटै व्यक्तिको व्यक्तित्व र निर्णय क्षमतामा ? एनभिडियाको अहिलेको संकटले विश्वका लगानीकर्तालाई यही प्रश्नको उत्तर खोज्न बाध्य बनाएको छ।
कोल्डप्ले कन्सर्टदेखि कम्पनीको नेतृत्व गुम्नेसम्म : अर्को चर्चित प्रेम प्रकरण
एनभिडिया प्रकरण आउनुभन्दा एक वर्षअघि अमेरिकाको एउटा प्रविधि कम्पनीको प्रमुख कार्यकारीको प्रेम सम्बन्धले पनि विश्वभर सनसनी मच्चाएको थियो।
सन् २०२५ जुलाईमा चर्चित सांगीतिक समूह कोल्डप्लेको कन्सर्टमा भएको एउटा सामान्यजस्तो देखिने दृश्य विश्वव्यापी समाचार बन्यो। कन्सर्टको ठूलो पर्दामा कम्पनीका प्रमुख कार्यकारी एन्डी बायरन र मानव संसाधन प्रमुख क्रिस्टिन क्याबोट एकअर्कालाई अँगालो हालिरहेको अवस्थामा देखिए। क्यामेराले आफूहरूलाई देखाएको थाहा पाएपछि उनीहरू लुक्न खोजेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो।
उक्त भिडियो सार्वजनिक भएपछि उनीहरूको व्यक्तिगत सम्बन्ध र कार्यालयभित्रको शक्ति सन्तुलनबारे व्यापक चर्चा सुरु भयो। कम्पनी एस्ट्रोनोमरले आन्तरिक अनुसन्धान थालेपछि बायरनले प्रमुख कार्यकारी पदबाट राजीनामा दिए। क्याबोटले पनि कम्पनी छाडिन्।
यो घटना केवल दुई व्यक्तिको निजी सम्बन्धमा सीमित रहेन। कम्पनीको नेतृत्व, कार्यालयमा हुने सम्बन्ध, उच्च पदस्थ अधिकारीको नैतिक जिम्मेवारी र संस्थागत आचारसंहिताबारे विश्वव्यापी बहस सुरु भयो।
नेस्लेको प्रमुख कार्यकारी पनि प्रेम सम्बन्धकै कारण पदमुक्त
विश्वकै ठूला खाद्य तथा पेय पदार्थ कम्पनीमध्ये एक नेस्ले (Nestlé) पनि सन् २०२५ मा यस्तै विवादमा परेको थियो।
कम्पनीका प्रमुख कार्यकारी लरेन्ट फ्रेइक्सले पद सम्हालेको एक वर्ष पनि नपुग्दै जागिर गुमाए। कम्पनीको आन्तरिक अनुसन्धानले आफूभन्दा तल्लो तहमा कार्यरत कर्मचारीसँगको सम्बन्ध लुकाइएको र कम्पनीको आचारसंहिता उल्लङ्घन भएको निष्कर्ष निकालेपछि उनलाई पदमुक्त गरिएको थियो।
फ्रेइक्सको स्थानमा नेस्प्रेसोका प्रमुख फिलिप नाव्राटिललाई ल्याइएको थियो।
यो घटनाले विश्वव्यापी रूपमा एउटा फरक सन्देश दियो। कम्पनीको नाफा बढाउनु, बजार विस्तार गर्नु र हजारौँ कर्मचारीको नेतृत्व गर्नु मात्रै प्रमुख कार्यकारीको जिम्मेवारी होइन। आफ्नै संस्थाभित्रको शक्ति सम्बन्ध र नैतिक मापदण्ड पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
जेफ्री एपस्टिन : विश्वका धनाढ्य, राजनीतिज्ञ र शक्तिशालीहरूको सम्बन्धको जालो
विश्वका शक्तिशाली व्यक्तिहरूको निजी सम्बन्ध र गोप्य सम्पर्कको चर्चा गर्दा अमेरिकी धनाढ्य जेफ्री एपस्टिनको प्रकरण बिर्सन सकिँदैन।
यौन अपराधमा दोषी ठहरिएका एपस्टिनको सम्बन्ध विश्वका कैयौँ धनाढ्य, राजनीतिज्ञ, उच्चपदस्थ अधिकारी र प्रभावशाली व्यक्तिहरूसँग रहेको सार्वजनिक दस्तावेज तथा अनुसन्धानले देखाएका छन्। उनको मृत्यु भइसके पनि उनीसँग सम्बन्धित दस्तावेज सार्वजनिक हुँदै जाँदा विश्वका शक्तिशाली व्यक्तिहरूमाथि प्रश्न उठ्ने क्रम जारी छ।
यसको प्रभाव विश्व आर्थिक मञ्च (डब्लूईएफ) सम्म पुग्यो। सन् २०२६ फेब्रुअरी २६ मा विश्व आर्थिक मञ्चका अध्यक्ष तथा प्रमुख कार्यकारी बोर्गे ब्रेन्डेले पदबाट राजीनामा दिए। एपस्टिनसँग पटकपटक रात्रिभोज गरेको र सन्देश आदानप्रदान गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो। ब्रेन्डेले आफूले एपस्टिनको आपराधिक पृष्ठभूमिबारे जानकारी नभएको र भेटघाट व्यावसायिक परिवेशमा भएको दाबी गरेका थिए। विश्व आर्थिक मञ्चले पनि स्वतन्त्र समीक्षा गरेको थियो।
क्रिप्टो अर्बपति र बेलायती राजनीतिज्ञ : पाँच मिलियन पाउन्डको उपहारले उठाएको प्रश्न
बेलायती राजनीतिज्ञ निगेल फराजलाई क्रिप्टो व्यवसायी क्रिस्टोफर हार्बोर्नबाट ५० लाख पाउन्ड व्यक्तिगत उपहार प्राप्त भएको विवरण सार्वजनिक भएपछि उनको राजनीतिक दल र आर्थिक स्रोतबारे प्रश्न उठे । हार्बोर्नले उनको पार्टीलाई छुट्टै २ करोड ५० लाख पाउन्ड बराबरको आर्थिक सहयोगसमेत गरेको विवरण सार्वजनिक भएको छ ।
क्रिप्टो क्षेत्रका धनाढ्यहरूको राजनीतिक चन्दा, व्यक्तिगत उपहार र राजनीतिक पहुँचले लोकतान्त्रिक संस्थाहरूको निष्पक्षतामा पार्न सक्ने प्रभाव अहिले विश्वभर बहसको विषय बनेको छ। फराजले सांसद पद छाडेपछि पुनः चुनावी राजनीतिमा फर्कने प्रयास गरेको विवरण पनि सार्वजनिक भएको थियो।