डेमोक्र्याटहरूको जितसँगै आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनीहरूमाथि कडा कानुनी नियमन र एआई पूर्वाधार निर्माणमा सुस्तता आउने चिन्ताले वाल स्ट्रिटमा टेक शेयरहरूको बजार मूल्यबाट २ ट्रिलियन (२ खर्ब) डलरभन्दा बढी पूँजी गुमेको छ।
बिहीबारको कारोबारमा प्रविधि क्षेत्रको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकांक ५.५ प्रतिशतले ओरालो लागेको छ, जुन पछिल्लो १९ महिनायताकै सबैभन्दा ठूलो एकदिवसीय गिरावट हो। त्यस्तै, एआई प्रविधि र सेमीकन्डक्टर उत्पादनमा अग्रसर अग्रणी चिप निर्माता तथा डेटा सेन्टर कम्पनीहरूको शेयर मूल्यमा भारी धक्का लागेको छ। एआई विकासलाई तीव्र गति दिइरहेका इलोन मस्कका कम्पनीहरू (टेसला र स्पेसएक्स) लगायत चिप निर्माण र डेटा सेन्टरसँग जोडिएका कम्पनीका शेयरहरू बढी प्रभावित भएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र अल्जाजिराका अनुसार, डेमोक्र्याटहरूले कंग्रेस (संसद्) र राज्यस्तरका गभर्नर पदहरूमा जितेपछि एआई प्रविधिको अनियन्त्रित विस्तारलाई नियन्त्रण गर्न कडा कानुन, डाटा गोपनीयतासम्बन्धी मापदण्ड र प्रविधि कम्पनीहरूमाथि थप कर ल्याउन सक्ने त्रास लगानीकर्तामा छाएको छ।
अमेरिकामा एआई क्षेत्रले हालैका महिनाहरूमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत पुर्याउन ठूलो योगदान दिएको थियो। तर, चुनावी परिणामपछि लगानीकर्ताहरूले प्रविधि क्षेत्रका सेयर बिक्री गरेर गैर-टेक र नवीकरणीय ऊर्जा क्षेत्रतर्फ पूँजी स्थानान्तरण गर्न थालेका छन्।