सुँगुरको फोहोरबाट बिजुली उत्पादन, विश्वकै उर्जा क्षेत्रमा मलेसियाको चमत्कार !

Oct 31, 2026 05:22 PM Merolagani



मलेसियाले सुंगुरको फोहोरबाट विद्युत उत्पादन गरेर विश्वका उर्जा उत्पादकहरुलाई नै आश्चर्यमा पारिदिएको छ । 

यो घटनाले एकातिर मलेसियामा सुंगुरपालन थप फस्टाउने र विश्वभर सुंगुरको मासु निर्यात गर्ने क्षमता बढाउने छ भने फोहोर व्यवस्थापनमा पनि महत्वपूर्ण सघाउ पुग्ने छ । त्यसमा पनि सबैभन्दा ठूलो कुरा त मलेसियाले उर्जा संकटलाई दीर्घकालसम्मको लागि समाधान गर्ने भएको छ ।

यो परियोजना मलेसियाको पेनाङ राज्यको दक्षिणी सेबराङ पेराई क्षेत्रमा रहेको काम्पुङ भाल्डोरमा छ। यसको नाम Kampung Valdor Centralised Biogas Facility हो।

यसको विकास निजी कम्पनी Timeless Green Sdn Bhd ले इन्जिनियरिङ कम्पनी Minconsult Sdn Bhd सँगको सहकार्यमा गरेको हो। परियोजनामा करिब २५.९ मिलियन मलेसियन रिगिट (हालको विनिमय दर अनुसार झण्डै ९७ करोड ३० लाख रुपैंया) निजी लगानी गरिएको छ।

यसको निर्माण तथा सञ्चालन वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृतिपछि अघि बढाइएको थियो। सन् २०२४ मार्चदेखि सञ्चालनमा आएको यो केन्द्रको औपचारिक उद्घाटन भने १४ फेब्रुअरी २०२६ मा पेनाङका मुख्यमन्त्री चाउ कोन येओले गरेका थिए।

पेनाङको काम्पुङ भाल्डोरमा स्थापना गरिएको सामूहिक बायोग्यास केन्द्रले २० वटा फार्मको करिब ३० हजार सुँगुरको फोहोर प्रशोधन गर्छ। र, यो परियोजना सफल भएपछि अब क्रमिकरुपमा अन्यत्र पनि सुंगुरपालन र विद्युत उत्पादनलाई एकिकृत परियोजनाकोरुपमा अगाडि बढाउने तयारी भैरहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । केन्द्रलाई भविष्यमा ९० हजार सुँगुरबाट निस्कने फोहोर प्रशोधन गर्न सक्ने क्षमतामा विस्तार गर्ने योजना छ। पेनाङ राज्यमा कुल ११३ वटा सुँगुर फार्म र करिब ८९ हजार ८५७ सुँगुर रहेको सरकारी तथ्याङ्क छ। भाल्डोर क्षेत्रमा मात्रै ४४ वटा फार्म र ४२ हजारभन्दा बढी सुँगुर छन्।

यस सफलताबाट प्रेरित भएर सरकारले अर्को स्थान काम्पुङ सेलामातमा पनि यस्तै प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि बढाएको छ। त्यसको सञ्चालन सन् २०२९ सम्ममा सुरु गर्ने लक्ष्य राखिएको छ।

कसरी सुँगुरको फोहोरबाट बिजुली उत्पादन हुन्छ ?

यो परियोजनाको मुख्य प्रविधि बायोग्यास उत्पादन हो । पशुको गोबर तथा अन्य जैविक फोहोरलाई हावाको अक्सिजन नपुग्ने बन्द ट्याङ्कीमा प्रशोधन गरेर मिथेन ग्यास निकालिन्छ ।

यसलाई वैज्ञानिक भाषामा Anaerobic Digestion अर्थात् अक्सिजनरहित जैविक विघटन भनिन्छ।

पहिलो चरण: फोहोर संकलन

२० वटा सुँगुर फार्मबाट निस्कने गोबर तथा अन्य जैविक फोहोर संकलन गरेर प्रशोधन केन्द्रमा ल्याइन्छ। सन् २०२५ मा यस केन्द्रले दैनिक करिब १२० मेट्रिक टन फोहोर प्रशोधन गरेको थियो।

दोस्रो चरण: बायोग्यास उत्पादन

संकलित फोहोरलाई विशेष बन्द ट्याङ्कीमा राखिन्छ। त्यहाँ सूक्ष्म जीवाणुहरूले अक्सिजनको अनुपस्थितिमा जैविक पदार्थ विघटन गर्छन्। यस प्रक्रियाबाट मिथेन र कार्बन डाइअक्साइड मुख्य अंश भएका बायोग्यास उत्पादन हुन्छन्।

तेस्रो चरण: ग्यास प्रशोधन

उत्पादित ग्यासबाट आवश्यकताअनुसार हाइड्रोजन सल्फाइड, पानीको वाष्प तथा अन्य अशुद्धता हटाइन्छ। यसले उपकरणको सुरक्षा र विद्युत् उत्पादनको दक्षता बढाउँछ।

चौथो चरण: बिजुली उत्पादन

प्रशोधन गरिएको मिथेनयुक्त ग्यासलाई विशेष इन्जिन वा जेनेरेटरमा इन्धनका रूपमा प्रयोग गरिन्छ। यसबाट यान्त्रिक ऊर्जा हुँदै विद्युत् उत्पादन हुन्छ।

पाँचौँ चरण: राष्ट्रिय ग्रिडमा बिक्री

फार्म तथा प्रशोधन केन्द्रको आफ्नै आवश्यकता पूरा गरेपछि बाँकी बिजुली राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा पठाउन सकिन्छ। मलेसियाको नवीकरणीय ऊर्जा खरिद प्रणालीअन्तर्गत यस्तो बिजुली बिक्री गर्ने व्यवस्था छ।


कति बिजुली उत्पादन हुन्छ ?
परियोजनाको पूर्ण क्षमतामा वार्षिक करिब १०.५ गिगावाट आवर नवीकरणीय ऊर्जा उत्पादन गर्ने डिजाइन छ। तर सन् २०२५ को वास्तविक सञ्चालनमा उत्पादन ०.६ मेगावाटसम्म पुगेको थियो।

बिजुली मात्र होइन, वातावरणीय समस्या पनि समाधान
सुँगुर पालन व्यवसायमा सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा फोहोर व्यवस्थापन हो। ठूलो संख्यामा पशुपालन गर्दा निस्कने गोबर र पिसाब उचित व्यवस्थापन हुन नसके दुर्गन्ध फैलिने, पानीका स्रोत प्रदूषित हुने र मिथेन उत्सर्जन बढ्ने समस्या हुन्छ।

काम्पुङ भाल्डोरको परियोजनाले यी समस्यालाई एकैपटक सम्बोधन गर्ने प्रयास गरेको छ।

दुर्गन्ध नियन्त्रण: खुला स्थानमा फोहोर थुपार्ने वा जथाभावी विसर्जन गर्ने प्रवृत्ति घट्छ।
जलस्रोत संरक्षण: प्रशोधन नगरी पशुको फोहोर खोलानाला र नदीमा पुग्ने जोखिम कम हुन्छ।
हरितगृह ग्यास नियन्त्रण: खुलारूपमा कुहिने फोहोरबाट वातावरणमा जाने मिथेनलाई समातेर ऊर्जामा प्रयोग गर्न सकिन्छ।

रोजगारी सिर्जना: प्रविधि सञ्चालन, मर्मतसम्भार, फोहोर संकलन र व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता पर्छ।

पेनाङ सरकारले परियोजना सञ्चालनपछि वरपरका क्षेत्रमा दुर्गन्धसम्बन्धी गुनासो घटेको र वातावरणीय अवस्थामा सुधार आएको जनाएको छ।