नबसेको मन्त्रीपरिषद् बैठक ! सम्भावित निर्णयले प्रशासनिक क्षेत्रमा खैलाबैला

Oct 28, 2026 02:47 PM Mero lagani



भनिन्छ, समाचार बन्नको लागि घटना घट्नु पर्छ । तर, सधै त्यो कुरा लागू हुन्छ भन्ने हुँदैन, कहिले कांही कुनै घटना नै नघटे पनि समाचार बन्न सक्छ ।

सरोकारवालाहरुको बिचमा सनसनीपूर्ण घटना बन्न सक्छ ।

यो साता त्यस्तै भयो, भैरहेको छ । झण्डै ३ दशकदेखि सातामा दुईदिन सोमबार र विहिबार ( विहिबार भन्दा अगाडि सोमबार र सुक्रबार वैठक वस्ने परम्परा थियो) मन्त्रीपरिषद् वैठक बस्ने प्रचलन रहदै आएको छ । यो अवधिमा व्यवस्था परिवर्तन भयो, प्रधानमन्त्रीहरु परिवर्तन भए तर प्रधानमन्त्री विदेश गएको अवस्थामा बाहेक हरेक सोमबार र विहिबार मन्त्री परिषद्को वैठक बस्दै आएका थिए । कतिपय आकस्मिक घटनाहरु घटे विचका अरु बार पनि मन्त्रीपरिषद् वैठक बस्ने गर्छन् तर सोमबार र विहिबारका नियमित बैठक रद्ध हुने गरेका थिएनन् । बालेन शाह प्रधानमन्त्री भए पछि पनि त्यो क्रमले निरन्तरता पाउंदै आएको थियो ।

तर, यसपटक त्यो क्रममा ‘ब्रेक’ लाग्यो । अर्थात् सोमबार मन्त्रिपरिषद्को वैठक बसेन । प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु काठमाण्डौमै हुँदा पनि बैठक राखिएन । कतिपय मन्त्रीहरुलाई कारण नै नदिइ सोमबारको साटो मंगलबार बस्न सक्ने जानकारी गराइयो । तर, मंगलबार र बुधबार पनि वैठक आयोजना गरिएन । अब भोली विहिबार नियमित वैठक आयोजना गरिने बताइएको छ । तर, बैठक बस्छ बस्दैन यकिन छैन ।

र, सोमबार बस्नु पर्ने मन्त्रीपरिषद् वैठक नबसेपछि कर्मचारी प्रशासनदेखि सुरक्षा निकायसम्ममा एक प्रकारको खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निकट स्रोतहरुले सोमबारको नियमित वैठक किन आयोजना गरिएन भन्ने बारेमा केही नबताए पनि खासगरि उच्च कर्मचारी प्रशासनमा भने त्यसले ठूलै संसय निम्त्याएको छ । प्रधानमन्त्रीले ‘खत्रै निर्णय’ गर्न लागेकोले सोमबारको वैठक ‘हापिएको’ हुनसक्ने आशंका गरिएको एक जना सचिवले मेरो लगानीलाई बताए ।

ती सचिवका अनुसार गृहमन्त्री सुधन गुरुङको दवावमा प्रधानमन्त्री बालेन शाह नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीलाई हटाउन तयार भएका छन् । तर, त्यसको विधि र प्रकृया नमिलाई हटाउँदा थप विवाद सृजना हुन सक्ने र अदालतले कार्कीलाई पुनर्स्थापित गरिदिने सम्भावनाको कारण पनि निर्णय गरिहाल्न प्रधानमन्त्री शाह हच्चिएका छन् । उनलाई भरसक राजदूत बनाएर पठाउने आश्वासनसहित राजिनामा दिन लगाउने प्रयास भैरहेको बताइएको छ । तर, कार्कीले त्यसमा सहमति नजनाएकोले सिधै हटाउन हच्किएको बताइएको छ । महानिरिक्षक कार्कीले राजिनामा नदिने बरु प्रतिकार गर्ने आन लिएर कानुनविद्हरुसँग छलफल शुरु गरिएको कतिपय स्रोतहरुले उल्लेख गरेका छन् ।

त्यस्तै अरु कतिपय विषयमा आक्रामक निर्णयको तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ । ‘त्यही तयारीको लागि सोमबारको मन्त्रीपरिषद् बैठक नबसालिएको सुनेका छौं ।’ ती सचिवले भने ।