नयाँ मूल्यअनुसार अमूलको एक किलो घिउको प्याकेट अब भारु ६८० पुगेको छ। यसअघि यसको मूल्य भारु ६३० थियो। त्यस्तै, ५०० ग्राम प्याकेटको घिउको मूल्य भारु ३२५ बाट बढाएर भारु ३४५ पुर्याइएको छ।
बटरतर्फ १०० ग्रामको प्याकेटको मूल्य भारु ६३ बाट बढेर भारु ६६ पुगेको छ भने ५०० ग्रामको प्याकेटको मूल्य भारु ३१० बाट बढाएर भारु ३२५ कायम गरिएको छ।
मूल्यवृद्धिको प्रमुख कारण गुजरात र राजस्थानमा नक्कली घिउविरुद्ध भएको कारबाहीपछि ब्रान्डेड घिउको मागमा आएको तीव्र वृद्धि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो छ महिनामा ती दुई राज्यका विभिन्न स्थानबाट करिब दुई लाख किलो नक्कली घिउ बरामद गरिएको बताइएको छ।
नक्कली घिउको कारोबारमाथि कारबाही भएपछि उपभोक्ताको विश्वास स्थापित ब्रान्डतर्फ बढेको र त्यसले अमूलजस्ता कम्पनीका उत्पादनको माग बढाएको हो। त्यसमाथि चाडपर्वको मौसममा घिउको खपत उच्च हुने भएकाले आपूर्तिमा थप दबाब परेको बताइएको छ। कम्पनीसँग सम्बन्धित एक सहकारी क्षेत्रका अगुवाका अनुसार वर्षभरि बिक्री हुने कुल घिउमध्ये करिब ४५ प्रतिशत चाडपर्वको समयमा खपत हुने गरेको छ।
यसअघि सन् २०२५ सेप्टेम्बरमा भारत सरकारले दुग्धजन्य उत्पादनमा लाग्ने वस्तु तथा सेवा कर (जीएसटी) १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेपछि अमूलले आफ्ना करिब ७०० उत्पादनको मूल्य घटाएको थियो। त्यसबेला एक किलो घिउको मूल्य भारु ६५० बाट घटेर ६१० र १०० ग्राम बटरको मूल्य भारु ६२ बाट घटेर ५८ कायम भएको थियो। पछिल्लो मूल्यवृद्धिले कर कटौतीबाट उपभोक्ताले पाएको राहतसमेत केही हदसम्म कम गरेको छ।
मूल्य बढेसँगै अमूलका केही उत्पादनको आपूर्तिमा समेत समस्या देखिएको छ। गुजरातका वडोदरा र अहमदाबादका खुद्रा विक्रेताहरूले घिउको मौज्दात कम हुँदै गएको बताएका छन्। गणेश उत्सवपछि काउ घिउको माग बढ्दा उपलब्धतामा असर परेको बताइएको छ। अहमदाबादको एक डी-मार्ट आउटलेटमा समेत मंगलबार अमूलको घिउ र बटर मौज्दात नरहेको समाचारमा उल्लेख छ।
यसअघि भारतका पुणे र कोलकातामा पनि घिउ तथा दुग्धजन्य उत्पादनको आपूर्ति प्रभावित भएको गुनासो आएको थियो।
भारतमा नक्कली घिउमाथिको कारबाही, ब्रान्डेड उत्पादनप्रतिको उपभोक्ताको बढ्दो विश्वास र चाडपर्वको मौसमी मागले दुग्धजन्य वस्तुको बजारमा मूल्य तथा आपूर्तिको दबाब बढाएको देखिएको छ।