सञ्चालित २० वाणिज्य बैंकहरूले पहिलो तीन महिनामा कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको (रु. १३ अर्ब १४ करोड ९८ लाख) तुलनामा ४५.४६ प्रतिशतको फराकिलो वृद्धि हो।
रकमका आधारमा नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफासहित सबैभन्दा अगाडि रहेको छ भने ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ। यसैगरी राष्ट्रिय वाणिज्य बैंक (१.६४ अर्ब रुपैयाँ), एभरेस्ट बैंक (१.२५ अर्ब रुपैयाँ), नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (१.१८ अर्ब रुपैयाँ), प्राइम कमर्सियल बैंक (१.१८ अर्ब रुपैयाँ) र एनएमबि बैंक (१.१६ अर्ब रुपैयाँ) ले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्।
प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (२५२२.४७%) र कृषि विकास बैंक (१८०३.७१%) ले नाफामा उल्लेख्य वृद्धि गरेका छन् भने सिटिजन्स बैंक गत आर्थिक वर्षको पहिलाे त्रैमासकाे २२ करोड नोक्सानीलाई सुधारेर १० करोड ७७ लाख नाफामा फर्किएको छ।
यद्यपि, खुद नाफामा आकर्षक वृद्धि देखिए पनि शेयरधनीहरूका लागि भने वित्तीय चित्र उत्तिकै चुनौतीपूर्ण बनेको छ। विगतका निष्कृय कर्जाको प्रोभिजनिङ, नियामक समायोजन र सञ्चित नोक्सानीको भारका कारण समग्र बैंकिङ क्षेत्रको कुल वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ८० लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेकाे छ। कुल २० बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा ठूलो रकमले ऋणात्मक बनेको छ, जसमा एनआईसी एशिया बैंक (१५.३९ अर्ब रुपैयाँ ऋणात्मक), हिमालयन बैंक (९.७९ अर्ब रुपैयाँ ऋणात्मक), प्रभु बैंक (६.७८ अर्ब रुपैयाँ ऋणात्मक), नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (५.१६ अर्ब रुपैयाँ ऋणात्मक) र सिटिजन्स बैंक (४४.८४ करोड रुपैयाँ ऋणात्मक) रहेका छन्।
अर्कोतर्फ, सबल वित्तीय अनुशासन कायम राखेका बैंकहरू भने शेयरधनीलाई प्रतिफल दिन निकै बलियो स्थितिमा देखिएका छन्। असोज मसान्तसम्ममा एभरेस्ट बैंक ३ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफासहित पहिलो स्थानमा छ भने सिद्धार्थ बैंक (३.५७ अर्ब रुपैयाँ), नेपाल बैंक (२.७५ अर्ब रुपैयाँ), नबिल बैंक (२.२६ अर्ब रुपैयाँ), एनएमबि बैंक (२.२५ अर्ब रुपैयाँ) र स्ट्याण्डर्ड चार्टर्ड बैंक (२.२२ अर्ब रुपैयाँ) ले उच्च वितरणयोग्य नाफा कायम राखेका छन्।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो त्रैमासले बैंकिङ क्षेत्रमा स्पष्ट विभाजन रेखा कोरेको छ। कर्जा असुली र ब्याज आम्दानी सुध्रिँदा खुद नाफा ४५ प्रतिशतले बढे पनि विगतको खराब कर्जाको अवशेषले गर्दा केही बैंकहरू शेयरधनीलाई लाभांश बाँड्न नसक्ने दबावमा परेका छन् भने सन्तुलित लगानी र न्यून खराब कर्जा भएका बैंकहरू उच्च लाभांश क्षमताका साथ बजारमा बलियो रूपमा प्रस्तुत भएका छन्।
